• २७ वैशाख २०८२, शनिबार

नेकपाको एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

blog

नेकपाको ७५औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावना विषयक विचार गोष्ठीलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर: प्रदीपराज वन्त

काठमाडौं, वैशाख १० गते। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पुनर्जीवित गराउन लागिपर्ने बताउनुभएको छ। केही दिन भित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपालाई पुनर्जीवित गराउनका लागि अपिल गर्ने बताउनुभएको हो।

नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली जनता र लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्न सकिने उहाँको तर्क छ।  उहाँले नेताहरूको सनकको भरमा त्यो एकता टिक्न नसकेको भन्दै अब देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढ्नुपर्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेकपालाई पुनस्थापित गर्नका लागि विनापूर्वाग्रह छलफल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। 


प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘‘कम्युनिष्ट आन्दोलनलाई, वामपन्थी आन्दोलनलाई एकताबद्ध गर्ने आवश्यकता र जिम्मेवारी पूरा भयो भन्ने होइन। फेरि पनि हामीले सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिष्टलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ। हामी त्यही प्रक्रियामा छौँ। जो कम्युनिष्ट आन्दोलनको एकता, जनतावादी केन्द्रीयताको सिद्धान्तको पक्षमा छैनन्, उनीहरू अहिले पनि कम्युनिष्ट पार्टी एकताको पक्षमा छैनन्। हामी कम्युनिष्ट पार्टी एकताको पक्षमा छौँ। राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्दछ भन्ने पक्षमा हामी छौँ। अहिले कमरेड माधवकुमार नेपाललगायत हामी थुप्रै नेताहरूसँग अहिले छलफल भइरहेको छ। हामी भनिराखेका छौँ, नेकपातिर नै फर्कनु पर्दछ। म अहिले फेरि आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा अहिले पनि यो देशका एकता र सुदृढीकरणको निम्ति हामी एक हुनु जरुरी छ। विना आग्रह, पूर्वाग्रह समीक्षा गरौँ। विचार धारात्मक रूपमा समीक्षा गरौँ। आत्म समीक्षा गरौँ। नेकपा नेताको सनकका कारणले दुर्घटनामा परे पनि जनता र आम लाखौँ कार्यकर्ताले अनुमोदन गरेको एकता हो। त्यो एकता हामीद्वारा प्रस्तावित एकता हो। त्यसकारण हामी सबै त्यो एकतालाई पुनर्जीवित गर्न चाहन्छौँ। देशको आवश्यकता र जनताको चाहनालाई हेरौँ।’’

प्रधानमन्त्री प्रचण्डले अहिले मुलुकमा विचार, राजनीति, मूल्यमान्यता भन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने कोसिस भइरहेको दोहोर्‍याउँदै त्यसलाई रोक्न पनि कम्युनिष्ट पार्टी एकताबद्ध हुनुपर्ने अवस्था रहेको बताउनुभयो।