• ११ असार २०८२, बुधबार

लुम्बिनीका पालिकास्तरीय बजेट

शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारकेन्द्रित

blog

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट प्रस्तुत गर्नुहुँदै उपप्रमुख जगेश्वरदेवी चौधरी । तस्बिर : कपिल ज्ञवाली

लुम्बिनी प्रदेश ब्युरो

बुटवल, असार ११ गते । लुम्बिनी प्रदेशका विभिन्न पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा केन्द्रित रहेर आगामी वर्षको बजेट प्रस्तुत गरेका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि पालिकाले बजेटमार्फत मुख्य चार वटा क्षेत्रलाई प्राथमिकतामा राखेका हुन् । 

तिलोत्तमाको बजेट तीन अर्ब

सिद्धार्थनगर समाचारदाताका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८२/८३ का लागि दुई अर्ब ९२ करोड ९३ लाख रुपियाँको बजेट ल्याएको छ । दोस्रो नगर सभाको सातौँ अधिवेशन (तेस्रो बैठक) मा उपप्रमुख जगेश्वरदेवी चौधरीले बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ४४.१७ प्रतिशत र पुँजीगतर्फ ५५.८३ प्रतिशत रहने अनुमान गरिएको बताउनुभयो । 

उपप्रमुख चौधरीले ‘समृद्ध नगर सुखी नगरवासी’ भन्ने लक्ष्य हासिल गर्नका लागि बलियो आधार तय गर्नु बजेटको मूल उद्देश्य रहने बताउनुभयो । उहाँले तिलोत्तमा नगरपालिकाले शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको परिमाणात्मक अभिवृद्धि गर्ने, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधार लगानी, उद्यमशीलता, रोजगारी, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने उल्लेख गर्नुभयो । 

आठ पालिकाको सात अर्बको बजेट

बबई समाचारदाताका अनुसार बर्दिया जिल्लामा रहेका आठ वटा स्थानीय तहले आव २०८२/८३ का लागि सात अर्ब ३७ करोड ५२ लाख ४७ हजार ३७९ रुपियाँको बजेटसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । गुलरिया नगरपालिकाले एक अर्ब पाँच करोड ३५ लाख १४ हजार ७३१ रुपियाँको बजेट मङ्गलबार १४ औँ नगर सभाबाट सार्वजनिक गरेको छ । बजेटमा कृष्णसार संरक्षणदेखि पर्यटन प्रवर्धन र नगरवासीको आम्दानी बढाउँदै र युवालाई रोजगार प्रवर्धन गर्नेसम्मका कार्यक्रम उल्लेख छन् भने गुलरिया नगरपालिकामा सञ्चालित विभिन्न किसिमका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि सङ्घ र प्रदेशसँग समेत सहयोगको अपेक्षा गरिएको छ । 

नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले नगरपालिकाले कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राका लागि निःशुल्क शिक्षाको व्यवस्था, नगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न प्रत्येक वडामा सञ्चालनमा रहेका नगर स्वास्थ्य केन्द्रलाई अझ प्रभावकारी बनाउने गरी आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । त्यसै गरी बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल थारूले प्रमुख पर्यटकीय क्षेत्र सतखलुवा तालको संरक्षणसहित प्रचारप्रसार गर्ने गरी आगामी आवका लागि ९९ करोड रुपियाँको वार्षिक बजेट सार्वजनिक गरेको बताउनुभयो । बाँसगढी नगरपालिकाले ९४ करोड २५ लाख, मधुवन नगरपालिकाले एक अर्ब, बढैयाताल गाउँपालिकाले ७१ करोड २५ लाख ४३ हजार ९४५, ठाकुरबाबा नगरपालिकाले ९६ करोड ८९ लाख ६२ हजार ६३४, राजापुर नगरपालिकाले एक अर्ब १२ करोड सात लाख चार हजार र गेरुवा गाउँपालिकाले ५९ करोड ११ लाख ६६ हजार आठ सय रुपियाँको बजेट मङ्गलबार सार्वजनिक गरेका छन् । 

शिक्षा र विकासलाई प्राथमिकता

कपिलवस्तु समाचारदाताका अनुसार कपिलवस्तुको शिवराज नगरपालिकामा आव २०८२/८३ का लागि एक अर्ब ३४ करोड ७८ लाख ८१ हजार रुपियाँको बजेट सार्वजनिक गरिएको छ । उपप्रमुख शिवकुमारी थारूले विकासमुखी योजना तथा जनताको आवश्यकता समेटिएको बजेट रहेको बताउनुभयो । उहाँले प्रस्तुत गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, प्रशासन र युवासँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले सबैका लागि गुणस्तरीय र निःशुल्क शिक्षालाई प्राथमिकता दिएको छ । शिक्षा, युवा तथा खेलकुदतर्फ आठ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । त्यस्तै वडास्तरीय योजनामा १० करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा चार करोड, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १२ करोड ७५ लाख र कृषि विकासतर्फ ८५ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।