प्रेम अधिकारी
पशुपतिनगर(इलाम) असार ११ गते । इलामका १० वटै नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको बजेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको पाइएको छ ।
इलामको सूर्योदय नगरपालिकाले जिल्लाका १० पालिकामध्ये सबैभन्दा ठुलो आकारको बजेट प्रस्तुत गरेको छ । सूर्योदयले एक अर्ब ४० करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख दुर्गा कुमार बरालले बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधारमा भन्दा सुशासनका क्षेत्रमा बजेट केन्द्रित भएको जानकारी दिनुभयो ।
यस्तै, इलाम नगरपालिकाले एक अर्ब १४ करोड रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले निःशुल्क प्राविधिक जनशक्ति उत्पादनदेखि जैविक वडा घोषणाका कार्यक्रममा बजेट केन्द्रित गरेको नगर प्रमुख केदार थापाले जानकारी दिनुभयो ।
यसैगरी, देउमाई नगरपालिकाले ८२ करोड ५६ लाख १४ हजार रुपियाँ बराबरको बजेट पारित गरेको छ । देउमाईले पुराना कामलाईनै निरन्तरता दिएको छ । माई नगरपालिकाले ६३ करोड ९३ लाख ४६ हजार छ सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । माईले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनमा जोड दिएको छ ।
माईजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४६ करोड २० लाख ५० लाख नौ सय ९१ रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रविना राईले पशु क्षेत्र र पर्यटनमा बजेट केन्द्रित भएको जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिकाले ३३ करोड १० लाख १७ हजार सात सय ५४ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
यस्तै, इलामको चुलाचुली गाउँपालिकाले ४५ करोड ७० लाख १५ हजार आठ सय ३७ रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
फाकफोकथुम गाउँपालिकाले ५६ करोड ४९ लाख ८६ हजार पाँच सय ७३ रुपियाँको बजेट विनियोजन गरेको छ । माङ्सेबुङ गाउँपालिकाले ४८ करोड ७३ लाख १० हजार आठ सय २३ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । रोङ गाउँपालिकाले ५४ करोड ६० लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । रोङले कृषि क्षेत्र र शिक्षामा बढी रकम बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनुभयो ।