• २८ पुस २०८१, आइतबार

नदीमा तटबन्धन भएपछि जोगिँदै बस्ती र खानेपानी

blog

स्थानीय नदीमा निर्माण भएको तटबन्धन । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख १० गते । तुलसीपुर –१२ कचिलाका ७० वर्षीय डिल्लीबहादुर चौधरीलाई वर्षायाम सुरु हुन लाग्दा फेरि खोलाले बस्ती डुबाउने होकि भन्ने चिन्ता यो वर्ष हुने छैन । दाङ उपत्यकाको ठूलो खोला ग्वारको पश्चिम र बबई नदी पश्चिम–दक्षिणतर्फको करिब चार सय घरधुरी रहेको कचिला गाउँ सधैँ जोखिममै हुन्थ्यो । 

गत कात्तिक महिनामा आएको बबई नदीको बाढीले करिब दश बिघा बढी क्षेत्रफलको खेतीयोग्य जमिन कटान गरेको थियो । बाढी बस्तीमा पसेपछि स्थानीयको बिचल्ली भएको थियो । मानवीय कुनै क्षति नभए पनि पाकेको अन्नबाली बाढीले बगाएको थियो । 

तुलसीपुर उपमहानगरपालिकाको बाढीबाट सबैभन्दा बढी जोखिम क्षेत्र वडा १२ को कचिला र १४ नम्बरको डबकपुरमा वैशाख महिनाभित्रै तटबन्धनको काम सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिका –१२ का वडाध्यक्ष खुसीराम चौधरीले ग्वारखोलादेखि शितलपुर बबई नदी पुलसम्म करिब दुई किलोमिटर क्षेत्रमा तटबन्धनको आवश्यकता रहेको बताउनुभयो । 

यो वर्ष भने सबैभन्दा जोखिमयुक्त क्षेत्रमा एक सय २० मिटरमा तटबन्धन गर्न सुरु गरिएको छ । वडाध्यक्ष चौधरीले पालिकाको नदीतट क्षेत्रको सबैभन्दा ठूलो घनाबस्ती रहेको कचिला गाउँलाई बाढीबाट बचाउन तटबन्ध अनिवार्य रहेको बताउनुभयो । उहाँले विगतमा वडा नम्बर १३ को फुलबारीक्षेत्र दक्षिणतर्फ मात्रै तटबन्ध गर्दा कचिलातर्फ नदीले बहाव परिवर्तन गरेका कारण बस्ती बढी जोखिममा परेको बताउनुभयो । 

वडाध्यक्ष चौधरीले तटबन्धबाट नदीले कटान गरेको खेतीयोग्य जमिन उकासेर त्यस क्षेत्रमा तरकारी पकेट क्षेत्र निर्धारणका साथै प्रत्येक हप्ता कृषिजन्य वस्तुको हाटबजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले तटबन्धबाट करिब चार सय बिघा खेतीयोग्य जमिन सुरक्षित रहने बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले बाँकी क्षेत्रमा तटबन्धन कार्यलाई अघि बढाउन सङ्घीय सरकारअन्तर्गत रहेको जनताको तटबन्ध कार्यालयसँग माग गरिएको बताउनुभयो । उहाँले तटबन्धसँगै बस्ती जोगिनुका साथै तुलसीपुर क्षेत्रमा बबईको पानी लिफ्ट आयोजना सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो । 

उहाँले दीर्घकालीनरुपमा समस्या समाधानका लागि जिल्लाका दश वटै पालिकाले बबई नदी कोरिडोरलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । तटबन्धनको काममा समुदायस्तरबाट समेत काम हुँदैआएको छ । तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले पालिकाको सहकार्यमा थप क्षेत्रमा समेत तटबन्धन योजनालाई अघि बढाउन सकिने बताउनुभयो ।