काठमाडौं, भदौ १ गते। स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बैठक बसेको हो। बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गर्नुभएको थियो। बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो।स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक छ।यो कार्यक्रमलाई नागरिकले सक्दो लाभ लीने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी छ।यसका लागि हामीले छिट्टै ठोस खाका बनाउँछौं ।’समितिको सदस्यमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल हुनुहुन्छ।अर्को बैठक आइतबार दिउँसो तीन बजे बस्नेछ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दललाई पराजित गर्ने शक्ति एमालेसँग भएको बताउनुभएको छ ।
काठमाडौं, भदौ १ गते। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘नेपालमा खाद्य सुरक्षा’ कार्यक्रमको उद्घाटन गर्नुभएको छ। जङ्गी अड्डामा चल्ने दुई दिने कार्यक्रम राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो। खाद्य सुरक्षा सम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति, अगामी योजना र कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयको विश्लेषण गरेर सुझाव प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको नेपाली सेनाले जनाएको छ। मन्त्री यादवले वर्तमान परिपेक्ष्यमा खाद्य सुरक्षा जस्तो बहुआयामिक एवं महत्वपूर्ण विषयमा सम्बन्धितसँग छलफल गरेर भावी योजनाका सम्बन्धमा विश्लेषण गर्ने अभिप्रायका साथ आयोजित कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै सफलताको कामना गर्नुभयो।कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका संयोजक रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधान सेनापति, रथी, सम्बन्धित मन्त्रालय, विभाग र अन्य सुरक्षा निकायका पदाधिकारी तथा सम्बन्धित विषयका विज्ञको सहभागिता रहेको थियो। नेपालको विद्यमान खाद्य सुरक्षाको अवस्था, चुनौती सम्वर्द्धन तथा प्रवर्द्धनका लागि अबलम्बन गर्नुपर्ने भावी लक्ष्य, योजना र अवसरका बारेमा छलफल केन्द्रित रहने कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार समापन गर्नुहुने सेनाले जनाएको छ।
नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।
सर्वोच्च अदालतद्वारा बुधबार आयोजित वरिष्ठ अधिवक्ताको उपाधि वितरण कार्यक्रममा कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा (कोइराला)लाई वरिष्ठ अधिवक्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारीसाधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ। बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री भुषालले यस्तो बताउनुभएको हो।
राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ।
प्रविधिको प्रयोगबाट गरिएको मकै खेतीमा सुधार आएको छ । मकै खेतीमा रोग प्रकोप नियन्त्रण र उत्पादनमा बृद्धि भएको किसानको भनाइ छ । परम्परागत शैलीले गरिएको मकै खेतीमा रोग किराले क्षति गरेपछि प्रविधिको प्रयोग गरिएको कृषकले बताउनुभयो ।
काठमाडौं, भदौ १ गते । निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि प्रदर्शन मिति तय गरिएको हो ।फिल्ममा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा हुनुहुन्छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ भने डाक्टर अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुनुहुन्छ ।
ट्राफिक प्रहरीको विशेष जाँचमा ५१ विद्यार्थीसहित ३२८ जना चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टले उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आएको विशेष जाँचमा बुधबार ३२८ जना चालक कारबाहीमा परेको जानकारी दिनुभयो ।
दार्चुलामा जीप दुर्घटना हुदाँ पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । शैल्यशिखर नगरपालिका –६ उल्लानीमा गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको जीप दुर्घटना भएको हो ।
उत्तरी जावजान प्रान्तको फैजाबाद जिल्लाको बाला मार्दियान गाउँमा केही दिनअघिबाट शुरु भएको प्राकृतिक आगलागीबाट आठ सयभन्दा बढी परिवार विस्थापित भएका स्थानीय प्रहरी अधिकारीहरुले बुधबार पुष्टि गरेका छन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य हेमराज राई नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । कम्युनिष्ट आन्दोलनका पुराना नेता राई पूर्वमन्त्री पनि हुनुहुन्छ । उहाँसहित जसपाका केन्द्रीय सदस्यहरु शान्त्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सीना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा र शंकरबहादुर सार्की बुधबार एमालेमा प्रवेश गर्नुभएको हो ।
काठमाडौं, भदौ १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ। नेपाल हवाई यातायात नियन्त्रक संघले बुधबार काठमाडौंमा आयोजना गरेको २१ औं वार्षिक साधारणसभामा मन्त्री श्रेष्ठले नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेकाले युरोपियन युनियन (ईयू) को हवाई प्रतिबन्ध सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभयो। नेपालको हवाई सुरक्षा मापदण्ड कार्यान्वयनबारे अन्तर्राष्ट्रिय प्रतिवेदनमा विश्वको औसतभन्दा राम्रो अवस्था देखिएको चर्चा गर्नुहुँदै उहाँले ईयूले आफ्नो निर्णयबारे पुनर्विचार गर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)को परीक्षणमा नेपालको उड्डयन सुरक्षा मापदण्ड कार्यन्वयनको औसत दर ७०.१ प्रतिशत देखिएको थियो। ईयूको प्रतिनिधिमण्डल छिट्टै नेपाल आएर स्थलगत अनुगमन गरी हवाई प्रतिबन्ध सूचीसम्वन्धि निर्णय पुनर्विचार गर्नेछ। (ईयू) को हवाई प्रतिबन्ध सूचीमा रहनु नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय रहेको बताउनुहुँदै मन्त्री श्रेष्ठले प्रतिबन्ध फुकुवासँगै नेपाली विमान युरोपको आकाशमा उड्न पाउने बताउनुभयो। सन् २०१३ यता ईयूले हवाई प्रतिबन्ध सूचीमा नेपाललाई राखेको छ भने आईकाओले सन् २०१७ देखि प्रतिबन्ध फुकुवा गरेको छ। मन्त्री श्रेष्ठले हवाई सेवालाई सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन सरोकारवाला सबै जिम्मेवार जिम्मेवार हुनुपर्ने बताउनुभयो। हवाई उड्डयन क्षेत्र प्राविधिक र विशिष्ट प्रकृतिको भएकोले हवाई यातायात नियन्त्रकको भूमिका महत्वपूर्ण हुने मन्त्री श्रेष्ठको भनाइ छ। कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका पुर्व महानिर्देशक त्रिरत्न मानन्धर लगायतलाई सम्मान गरिएको थियो।
भदौ अन्तिम साता एनआरएनए स्पोर्ट्स एकेडेमीको आयोजनामा पहिलो संस्करणको एनआरएन राष्ट्रिय कराँते च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सातदोबाटोस्थित कराँते हलमा प्रतियोगिता भदौ २४ र २५ गते आयोजना हुने जनाएको हो ।