• ६ साउन २०८१, आइतबार

खाद्य सुरक्षा कार्यक्रम सुरु

blog

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंह यादव । तस्बिर सौजन्य नेपाली सेना

काठमाडौं, भदौ १ गते। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले ‘नेपालमा खाद्य सुरक्षा’ कार्यक्रमको उद्घाटन गर्नुभएको छ।  जङ्गी अड्डामा चल्ने दुई दिने कार्यक्रम राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको हो। 

खाद्य सुरक्षा सम्बन्धी समष्टिगत अवस्थाको मूल्याङ्कन, विद्यमान नीति, अगामी योजना र कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयको विश्लेषण गरेर सुझाव प्रस्तुत गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको नेपाली सेनाले जनाएको छ। 

मन्त्री यादवले वर्तमान परिपेक्ष्यमा खाद्य सुरक्षा जस्तो बहुआयामिक एवं महत्वपूर्ण विषयमा सम्बन्धितसँग छलफल गरेर भावी योजनाका सम्बन्धमा विश्लेषण गर्ने अभिप्रायका साथ आयोजित कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै सफलताको कामना गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयका संयोजक रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधान सेनापति, रथी, सम्बन्धित मन्त्रालय, विभाग र अन्य सुरक्षा निकायका पदाधिकारी तथा सम्बन्धित विषयका विज्ञको सहभागिता रहेको थियो। 

नेपालको विद्यमान खाद्य सुरक्षाको अवस्था, चुनौती सम्वर्द्धन तथा प्रवर्द्धनका लागि अबलम्बन गर्नुपर्ने भावी लक्ष्य, योजना र अवसरका बारेमा छलफल केन्द्रित रहने कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार समापन गर्नुहुने सेनाले जनाएको छ।