• ६ साउन २०८१, आइतबार

पार्टी एकता संयोजन समिति बनाउने समाजवादीको निर्णय

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १ गते। नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको जानकारी दिनुभयो।उहाँले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयाममा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताउनुभएको हो।

उहाँले भन्नुभयो, “आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेका छौं र त्यो मापदण्ड अनुसारको उम्मेदवार छनोट भइसकेपछि को व्यक्ति उपयुक्त हो भनेर छान्ने प्रक्रिया निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीको भूमिका हुन्छ ।”

तीन वटै कमिटी निर्वाचन क्षेत्रीय कमिटीले व्यक्तिका नाम एकजना महिलासहित ४ जना संघीय संसदको लागि र प्रदेशका लागि पनि एकजना महिलासहित चार जनाको नाम पठाउने उहाँको भनाइ छ।त्यसपछि मात्रै जिल्लाले ती चार जनामध्येबाट तीन जना छनोट गरिनेछ।

तीन जना छनोट भएर प्रदेश कमिटीमा पठाएपछि प्रदेश कमिटीले तीन जना कै कमजोर र सबल पक्ष, आगामी सम्भावनासहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउने र  केन्द्रीय कमिटीले त्यही सूचीबाट समानुपातिकको निम्ति आगामी निर्वाचनको उम्मेदवार तय गर्नेछ।

उहाँले वामको बीचमा एकताको पहल गर्ने र त्यो एकताको पहलको सुरुवात एकीकृत समाजवादी र माओवादी केन्द्रबाट सुरु हुने बताउनुभयो।यस प्रक्रियालाई अघि बढाउनको निमित्त पार्टीले एकता संयोजन समिति बनाएर अर्को पार्टीबाट पनि त्यस्तै किसिमको संयन्त्र बनाउन लागेको उहाँले उल्लेख गर्नुभयो।

“हामीले पार्टी संयोजन समितिको कुरा गरेका छौं।त्यसका धेरै चरण हुन्छन् र विभिन्न चरणमा काम गर्दै जाने र आगामी चुनावको बारेमा कुरा भएको छ। समितिमा पार्टीका शीर्ष नेता नै बस्ने गरेर समिति बनाउन हामीले सुझाव दिएका छौं।चुनावमा हामीसँगै गइहाल्छौं ।”