जीवनधारा पानी पँधेरा

चराचर जगत्मा पानीको सर्वोपरि र बहुआयामी महत्वलाई मनन गरेर महान् चित्रकार लियोनार्दो दा भिन्चीले भनेका रहेछन्, “पानी प्रकृतिको चालक शक्ति हो ।” हुन पनि जीवात्माको प्राण रक्षादेखि बिजुली जस्तो बहुपयोगी ऊर्जा उत्पादनसम्म पानीको अहम् भूमिका छ । त्यसै भनिएको होइन, पानी नै जीवन हो भनेर । हाम्रो जीवनशैली र पानीबीच अवर्णनीय नाता छ । प्राणी जगत्को साझा घर पृथ्वी र पानीबीचको साइनो पनि गजबकै छ । पृथ्वीको ७१ प्रतिशत सतह पानीले घेरिएको छ । पानी नै पानीले घेरिएको भए पनि पृथ्वीमा मानिसले पिउनयोग्य पानी ज्यादै न्यून छ । क्यानडास्थित ‘सेफ ड्रिङ्किङ वाटर फाउन्डेसन’ को वेबसाइटमा