• १२ साउन २०८१, शनिबार

सम्भव छ विगत हेर्न

blog

बितेको समयमा सम्पन्न भइसकेका घटनालाई पनि तस्बिर र भिडियोका रूपमा खिच्न सकिने कुरा वैज्ञानिक जगत्मा सनसनीपूर्ण  उपलब्धिका रूपमा आएको छ । सम्भवतः यो उपलब्धि आम मानिसका लागि चाँडै अचम्मको सफलताका रूपमा स्थापित हुन के बेर । 

हरेक घटना प्रकाशको गतिसँगै अन्तरिक्षमा प्रसारण भएका हुन्छन् । तारामण्डल तथा शक्तिशाली गुरुत्व केन्द्रमा ठक्कर खाँदै ब्रह्माण्डको  व्यापक क्षेत्रमा रुमल्लिरहेका होलान् लाखौँ वर्षपहिलेका घटनाका तरङ्ग । ठूलो ‘रिफ्लाक्टिङ मिरर’, शक्तिशाली ‘कन्जरभिङ लेन्स’ र शक्तिशाली ‘एम्प्लिफाइङ’ संयन्त्रको मद्दतबाट ती घटनालाई हाम्रो आँखाले दृश्यावलोकन गर्न सक्ने बनाउनु ठूलो कुरा होला र ! हाम्रो हजाराैँ वर्षपहिलेका पुर्खाले घुँयत्रो हानेर मृगलाई ठहरै पारी समूहमा सबै नाङ्गै झुम्मिएर लुछ्दै खाएको दृश्य हेर्न पाइने आशा वैज्ञानिक परिकल्पनाले पलाएको छ । 

सूर्य उदाएको वा अस्ताएको तस्बिर खिच्दा त्यो दृश्य झन्डै साढे आठ मिनेट अगाडिको हुन्छ । तस्बिर हेर्दासम्म सूर्य साढे आठ मिनेट पहिलै अस्ताइसकेको हुन्छ । किनकि सूर्यबाट प्रकाश हाम्रो क्यामराको लेन्समा आइपुग्न आठ मिनेट १६ सेकेन्ड लाग्छ । यस्तै कतिपय ताराको तस्बिर खिचिएको बेलासम्म त्यो तारा वर्षौंपहिले मरिसकेको पनि हुन सक्छ । किनकि त्यो ताराबाट प्रकाश हामीकहाँ आइपुग्न लाखौँ वर्ष लागेको हुन्छ । 

यसैगरी सुदूर अन्तरिक्षबाट आज पृथ्वीको भिडियो खिचियो भने त्यो दृश्य महाभारतको लडाइँ भइरहेको बेलाको पो हुने हो कि ! धन्य छ अन्तरिक्ष अन्वेषण र अनुसन्धान कार्यमा मेहनत गरिरहेका वैज्ञानिकलाई । हजुरबाको बिहेमा लस्करै जन्तीसँग बसेर हजुरबा र हजुरआमाले भतेर खाइरहेको भिडियो मोबाइल फोनमा हेर्न पाइने रहर तपाईंमा जागेको होला । वैज्ञानिकहरूको परिकल्पना साकार होस् र आम मानिसले उपयोग गर्न सकिने प्रविधिका रूपमा छिट्टै विकास होस् ।   

साहित्यमा कल्पनाशील स्रष्टाले अगाडि प्रवाह भइरहेको समय पडाडि पनि फर्किएका घटनाको तिलस्मीपूर्ण विम्बहरू परिकल्पना गरे,  कथा लेखे । कतिपय यस्तो परिकल्पनामा आधारित कथाका चलचित्र पनि बनाइएका छन् । समयको प्रवाह अगाडि, पछाडि हुने काल्पनिक घटनालाई ‘टाइम मेसिन’ भनिन्छ । यो काल्पनिक ‘टाइम मेसिन’ को काल्पनिक घटना प्रकृतिको यथार्थ नै त होइन भन्ने प्रश्न खडा भएको पो हो कि भन्ने कुरा वैज्ञानिकका प्रयोगले उब्जाएको छ । 

नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले अन्तरिक्ष अनुसन्धान परियोजनाका लागि बनाएको पछिल्लो अत्याधुनिक उपकरणले मानिसको यस कल्पनालाई यथार्थमा परिणत गर्न सकिने नतिजाको झलक दिएको छ । प्राचीन इतिहासका घटनालाई दूर अन्तरिक्षबाट तस्बिर र भिडियो खिच्न अन्तरिक्ष अनुसन्धान केन्द्रमा जडान गरिएका उपकरण सफल भएका पनि छन् । के थाहा यो परियोजनाको सफलताले हजुरबा र हजुरआमा आफ्नो बिहेमा जन्तीको ताँतीसँगै लस्करै भतेर खान बसेको दृश्य हेर्न सकिने दिन हाम्रै पालामा आउँला कि । 

महाभारतको लडाइँ, रामायणमा वानरका सेनाको बथान, गौतमबुद्धले ध्यान गरिरहेको, जिसस कालका घटना आदिको सचित्र बेलिविस्तार सजीव हेर्न सकिने कुरा यथार्थमै परिणत नहोला भन्ने छैन । १६ सय गोपिनीसँग वृन्द्रावनमा श्रीकृष्णले मुरली बजाएर नाचेको सजीव श्रव्य–दृश्य आफ्नै मोबाइल फोनमा हेर्न पाइने आशा हामी अब गर्न सक्छौँ । गिजाको पिरामिड र चीनको पर्खाल बनाएको दृश्य सजीव हेर्न पाउने भएमा इतिहासका सबै रहस्य खुल्ने छन् । कतिपय रहस्य तथा किंवदन्तीको वास्तविकता उजागर हुने छ । 

अमेरिका, क्यानडा र युरोपेली देशहरू सम्मिलित यस अन्तरिक्ष परियोजनामा विश्वभरका वैज्ञानिक तथा इन्जिनियरको लामो र कठोर मेहनत रहेको छ । सन् २०२१ मा नासाले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ सफलतापूर्वक अन्तरिक्षमा पठायो । यो परियोजना अन्तरिक्ष अन्वेषणमा आजसम्मको सबैभन्दा उच्च ज्ञान, प्रविधि र कौशलताको नमुना बनेको छ । यस परियोजनाले ब्रह्माण्डको उत्पत्ति, अन्तरिक्ष अन्वेषण, प्रकृतिको ज्ञान र समयको बोध गर्ने कुरामा क्रान्ति ल्याएको छ । 

नासाका पूर्वनिर्देशक अन्तरिक्ष वैज्ञानिक जेम्स वेबको नामबाट यो परियोजनाको नामकरण गरिएको हो । यसले पृथ्वीबाट १५ लाख किलोमिटर टाढा अन्तरिक्षमा रहेर काम गर्दै छ । यस अनुसन्धान केन्द्रको परियोजनालाई सन् १९९० देखि अन्तरिक्षमा रहेर काम गरिरहेको हबल टेलिस्कोपको निरन्तरता एवं  विकसित रूप भनिएको छ तर जेम्स वेब टेलिस्कोपको निर्माण र प्रक्षेपणको सिद्धान्त, प्रविधि र यसमा प्रयोग गरिएका उपकरणको रचनामा इन्जिनियरहरूले प्रदर्शन गरेको उच्च कौशलता सबैलाई चकित पार्ने खालको छ । 

२१ फिट व्यास भएको ठूलो ‘रिफ्लेक्टिङ मिरर’, जसलाई सयौँ टुक्रा साना क्याप्सुलमा राखेर दूर अन्तरिक्षमा पु¥याउनु अनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’को उपयोग गरेर पूर्ण आकारमा ‘इन्फ्रारेड’ तरङ्गहरूलाई एकीकृत गर्ने अवस्थामा राख्नु चानचुने कुरा होइन । सामान्यतः सुन्दा असम्भव लाग्ने काम कुशल इन्जिनियरहरूले उपयोगी हुने गरी तयार पारेर देखाएका छन् । 

धेरै टाढाबाट आउने मन्द ‘इन्फ्रारेड’ तरङ्गलाई त्यो ठूलो ‘रिफ्लेक्टिङ मिरर’ ले एकीकृत गरी अस्तित्व नै हराउन लागेको तारा मात्र होइन अन्तरिक्षको कुनै सानो कणको समेत तस्बिर खिचेर पठाउन सफल भएको छ । अझ अचम्मको कुरा त यसले अनुमानित ७० करोड वर्षपहिलेको पृथ्वीको तस्बिर खिचेर पठाएको छ । यसबाट काल्पनिक साहित्यमा प्रयोग गरिएको ‘टाइम मेसिन’ जस्तै जेम्स वेब टेलिस्कोपलाई लिने गरिएको छ । 

पृथ्वी, सौर्यमण्डल, तारा र सम्पूर्ण ब्रह्माण्डका विषयमा जानकारी गर्ने चाहना मानिसको आधारभूत चरित्र हो । मानिस जिज्ञासु हुन्छ । हरेक घटनाका बारेमा जानकारी लिन चाहन्छ । जीवको उत्पत्ति, ब्रह्माण्डको उत्पत्ति, अन्तरिक्षका घटनासम्बन्धी वैज्ञानिकले निरन्तर एकपछि अर्को उपलब्धि हासिल गरिहेका पनि छन् ।  

 

Author

लेखनाथ ढकाल