• १२ पुस २०८१, शुक्रबार

एसइईपछिको व्यावहारिक ज्ञान

blog

हाम्रा अभिभावकले यति वर्षको हुँदा यसो गरेथ्यौँ र उति वर्षको हुँदा उसो गरेथ्यौँ भनेर सुनाइरहनुहुन्छ । हजुरबुवा र हजुरआमाको त विवाह दस वर्ष पुग्दा नपुग्दै भएथ्यो रे ! बाबाममीको पालोसम्म आइपुग्दा भने २० वर्ष पार हुन लागेको थाहा पाइयो ।

यस्तो हुनु भनेको समयको परिवर्तन नै रहेछ । हामी स्वयंलाई त आफू सानै भएझँै लाग्ने नै भयो । उहाँहरू पनि यो केटाकेटी नै छे, सानै छे, केही जान्दिन, पछि सिकिहाल्छे नि भन्नुहुन्छ । उहाँहरूले नै त्यति भनेपछि आफूलाई झनै केटाकेटी बन्न मन लाग्ने रहेछ । लाडिन, अझै माया पाउन र मीठो मसिनो खाइरहन मन लाग्ने रहेछ !

खासमा एसइई दिने उमेरसम्म आइपुग्दा हामी केटाकेटी नै हुँदारहेछौँ । अभिभावकले अह्राएको सामान्य काम जसोतसो गर्नेभन्दा पर आफ्नो विवेक र ज्ञानले कुनै काम गर्न अघि सर्ने रहेनछौँ । मनले नै नअह्राएपछि जाँगर कहाँबाट आओस् ?

हजुरआमाले भन्नुहुन्थ्यो, “ज्ञानले देखेर आफैँ गर्ने उत्तम, यसो गर भनेर अह्राएपछि मात्र गर्ने मध्यम र अह्राएको पनि नटेर्ने अधम हो ।”

अधम नै बनिहाल्न चाहिँ भएन । जसोतसो मध्यमसम्म बन्ने गरिएको छ । एसइई दिएर बसेको खाली समयमा भने आफैँलाई पनि केही सीप सिकौँ जस्तो लाग्ने रहेछ । ‘प्लस टु’ को अन्तिम परीक्षा दिएपछि चाहिँ केही खाने कुरा आफैँ बनाएर खाऔँ, बाबाममीलाई पनि खुवाऔँ जस्तो लाग्ने रहेछ । मलाई मात्र यस्तो लागेको पक्कै पनि होइन होला । तपाईंहरूलाई पनि यस्तै लागेको हुनुपर्छ । माथिल्लो तहको अध्ययनका लागि ‘बृजकोर्स’ गर्ने अन्य विदेशी भाषा सिक्ने, कम्प्युटर प्रोग्रामहरू सिक्ने त छँदैछ । यसबाहेक घरायसी कामकाज पनि सिकेको खण्डमा आफ्नै लागि काम लाग्ने रहेछ भन्ने लागेको छ । तपाईंले केके सिक्नुभयो ? मैले सिकेका केही सीप यस्ता छन्ः

खाना बनाउने :

प्रायःजसो ममीले नै गर्ने खाना पकाउने काम उहाँले गरेको देख्दा त सजिलै हुन्छ जस्तो लाग्थ्यो । आफूले गर्न खोज्दा त निकै कठिन पो लाग्दोरहेछ । जे समात्यो त्यही ढल्ने, जे झिक्यो त्यही पोखिने ! किन यस्तो भएको होला ? तपाईंले गर्दा पनि यस्तै भएको थियो कि ? जसोतसो दाल, भात र तरकारी पकाउन जाने पनि अचार बनाउन निकै गाह्रो हुने रहेछ । तरकारी केलाउने काम त झनै गाह्रो । पखालेर कटकट ‘चपबोर्ड’मा काट्दा हुने त सजिलो नै हो तर केलाउनुपर्ने तरकारीचाहिँ निकै झन्झट लाग्ने । तिनै तरकारी स्वास्थ्यका दृष्टिले महìवपूर्ण भएपछि मेहनत गर्नै प¥यो । साग केलाएर काट्न, पखाल्न निकै समय लाग्ने रहेछ । फर्सीको मुन्टा त झन् धर्सा निकाल्नुपर्ने रहेछ ! आलु खुर्किएर काटेजस्तो अरू तरकारी सजिलो नहुने रहेछ तर पनि काम चलाउसम्म हुने गरी तरकारी केलाएर पकाउन जान्दा ठुलै काम जानेँ जस्तो लागेको छ ।

अचार बनाउँदा पनि नुन, अमिलोको मात्रा मिलाउन निकै सावधानी अपनाउनुपर्ने रहेछ । सबै कुराको मात्रा मिलाउन जानिएन भने मीठो नहुने रहेछ ।

चिया कफी बनाउने :

घरमा सबैभन्दा धेरै गर्नुपर्ने नै यही रहेछ । पाहुनापाछा, आफन्त आउँदा तथा घरकै मान्छे बाहिर गएर आउँदा, बिहान, बेलुका जतिबेला पनि चिया कफी बनाउनुपर्ने । आफू खान्न भनेर पनि नहुने । अरूको लागि बनाउनै पर्ने । दूध, चिनी, चियापत्ती, मसला, कफीको मात्रा मिलेन भने ढङ्ग नभएको अबगाल आउने रहेछ । अब भने यस्तो अबगालबाट जोगिने सीप सिकेका कारण ढुक्क लागेको छ ।

खाजा बनाउने :

खाजाका लागि परिवारमा एकै खालको रुचि नहुँदा थरीथरीका परिकार बनाउनुपर्ने हुँदो रहेछ । हलुवा पकाउने, सुक्खा रोटी पकाउने, चाउचाउ, अमलेट, तरकारी, पकौडी यस्तै यस्तै परिकार तयार पार्न जानेपछि सामान्यतः 

कामचलाउ हुने रहेछ । ममीले गरेका एक हप्ताका कामलाई नजिक रहेर हेरेपछि सिक्ने चाहना हुँदा सिक्न सकिने रहेछ भन्ने आफैँबाट पुष्टि भयो ।

घरमा नियमित पाक्ने परिकारबाहेक अन्य परिकार युट्युबको सहायताले पनि बनाउन सकिने रहेछ । केक बनाउन, मःम बनाउन यसरी नै सिकेकी हुँ । आफ्ना साथीहरू आउँदा अब भने ममीलाई गुहार्नु पर्दैन आफैँ मन लागेको कुरा बनाएर खुवाउन सक्ने भएकी छु । मैले आफैँ बनाएर खुवाएको देख्दा पहिलो पटक त साथीहरू छक्क परेका थिए । अब त उनीहरूले पनि मेरै जसरी सिकिसकेछन् ।

अभिभावकलाई खुसी राख्न सकियो भने आफैँलाई फाइदा हुने रहेछ । उहाँहरूलाई खुसी राख्न धेरै मेहनत पनि आवश्यक नपर्ने । सानातिना काम मात्र सघाइदियो भने ठुलै खुसी भित्रिँदो रहेछ । व्यावहारिक सीप सिकेर आफैँ रमाऔँ, परिवारलाई खुसी राखौँ ।   

Author

रक्षा कोइराला