• १९ मङ्सिर २०८२, शुक्रबार

सत्यवती क्याम्पस सञ्चालन गर्न महायज्ञ : सवा करोड सङ्कलन

blog

सत्यवती बहुमुखी क्याम्पसको धनधान्यचल महायज्ञ । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुंगा (गुल्मी),मङ्सिर १९ गते ।
गुल्मीको सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्रकल्याण एवम् विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ सुरु भएको छ । क्याम्पसको शैक्षिक विकासका लागि आर्थिक सहयोग उठाउने उद्देश्यले मङ्सिर १८ देखि २५ गतेसम्म महायज्ञ आयोजना गरिएको छ ।

नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन भइरहेको क्याम्पसले जनाएको छ । स्थानीय झाँकी, भजन समुह र कलश शोभायात्रासहित महायज्ञको शुभारम्भ गरिएको थियो ।

२०७० मा त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । यो क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना भएको थियो । यो विद्यालयमो छुट्टै कोष छैन ।

त्रिभुवन विश्व विद्यालयको अनुदानले मात्र व्यवस्थापनमा समस्या भएका महायज्ञ सञ्चालन गरिएको क्उाम्पस प्रमुख विकास ढकालले बताउनुभयो । उहाँले महायज्ञको खर्च कटाएर बचत रकमको व्याजबाट क्याम्पसको स्थायित्व दिन व्यावस्थापनमा खर्च गरिने ढकालले बताउनुभयो ।

उहाँले आफुहरुले दुई करोडभन्दा माथि आर्थिक सहयोगको अपेक्षा गरेपनि महायज्ञको प्रारम्भसम्म एक करोड १५ लाख रुपियाँ उठिसकेको बताउनुभयो । केहीको बोल कबोल भएपनि अधिकांशको पैसा आइसकेको छ । क्याम्पसमा हाल ९२ जना विद्यार्थी मात्र अध्ययनरत छन् ।

महायज्ञमा अन्नदान र नगद रकम सहयोग दुवै हुने भएकाले सक्नेले सहयोग गर्न क्याम्पसले आग्रह गरेको छ । निकट समयमा शिक्षा संकायको सञ्चालन गर्ने, थप सूचना तथा सञ्चार प्रविधि र गुणस्तरीय शिक्षाको विकास गर्न र आवासीय छात्रावासको व्यवस्था गर्न क्याम्पस लागि रहेको छ । क्याम्पसम आधुनिक पुस्तकालय छ जहाँ बिद्यार्थीले कुनै पुस्तक किन्न र अतिरिक्त कक्षाको लागि शुल्क बुझाउन नपर्ने क्याम्पस प्रमुख ढकालले बताउनुभयो । महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, विविध मन्त्रजप, शतचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनामादि र पाठ–पारायणहरु हुनुका साथै भजनकीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन हुने आयोजकले जनाएको छ ।