• २५ वैशाख २०८३, शुक्रबार

‘सती घाटु’ नाचको संरक्षण गरिँदै

blog

सती घाटु नाच प्रस्तुत गर्दै कलाकार । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २५ गते । जिल्लामा लोपोन्मुख ‘सती घाटु’ नाच संरक्षण गरिएको छ । पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको सिसाखानी र गलकोट नगरपालिकाको पाण्डखानी र रिघामा झण्डै तीन सय वर्ष पुरानो ‘सती घाटु’ नाच प्रचलनमा छ । 

बागलुङमा घाटु नाचको लिखित दस्तावेज नभए पनि अन्यत्रबाट साविकको सिसाखानी गाविसको सिसाखानी र पाण्डवखानी गाविसकोे तामाखानीमा काम गर्न आएका कामदारले बडिगाड र गलकोटमा ‘सती घाटु’ नाच प्रचलन ल्याएको स्थानीय अगुवा बताउनुहुन्छ ।

घाटु गुरु कुलबहादुर भुजेलका अनुसार, ‘सती घाटु’ नाचको इतिहास खोज्दै जाँदा अहिले पाँचौँ पुस्तासम्म मात्रै जानकारी पाउन सकिन्छ । ‘‘विसं १९७८ यताको पुस्ताले घाटु नाचेको जानकारी छ, त्यसअघिको कुनै जानकारी छैन’’ घाटु गुरु भुजेलले भन्नुभयो ।  

बडिगाड गाउँपालिका–४, जलजलाको झुलेडाँडाबाट सिसाखानी नाच्न थालिएको ‘सती घाटु’ अहिले जलजलाको झुलेडाँडामा भने लोप भइसकेको भुजेलले बताउनुभयो । झुलेडाँडाका घाटु गुरु सिसाखानी बसाइ सरेपछि सिसाखानीमा ‘सती घाटु’ ले निरन्तरता पाएको हो ।

बडिगाड गाउँपालिका–३ का वडाध्यक्ष खड्कबहादुर पुनका अनुसार, ‘सती घाटु’को गीत लेखन, पुस्तान्तरण तथा विधिबारे लिखित दस्तावेज तयार गर्ने योजना वडा कार्यालयले बनाएको छ । घाटुको संरक्षण, प्रवर्धन र प्रचार प्रसारको काम भइरहेको उहाँको भनाइ छ । 

यस्तै, गलकोट नगरपालिका वडा १० पाण्डव खानीमा पनि ‘सती घाटु’ को दस्तावेजीकरण गर्ने काम गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले तीन वर्षअघि अडियो रेकर्डका लागि सहजीकरण गरेको घाटु संयोजन गर्नुहुने स्थानीय गिरीप्रसाद थापाले बताउनुभयो ।

‘‘तीन दिन लगाएर हामीले घाटु गीतको अडियो तयार गरेका छौं, ‘सती घाटु’ संरक्षणका लागि अन्य काम पनि गर्ने योजना छ’’ थापाले भन्नुभयो । उहाँका अनुसार परम्परागत संस्कृति जोगाउन नयाँ पुस्तालाई समेत संस्कृति हस्तान्तरण गर्न स्थानीय लागिपरेका छन् । थापाका अनुसार युवाले घाटुलाई निरन्तरता नदिए संस्कृति नै लोप हुने खतरा छ ।

विगत १५ वर्षदेखि घाटु गाउन थाल्नुभएका गलकोट नगरपालिका–११, रिघाका नरबहादुर दर्जी मेला महोत्सवको बेला मात्र घाटु खोजिनुले संरक्षण नहुने तर्क गर्नुहुन्छ । घाटुकै लागि कुनै ठोस काम गर्न नसके पनि हरेक वर्ष घाटु प्रदर्शनका लागि भने वडाले सहजीकरणको काम गरिरहेको रिघाका वडाध्यक्ष डम्बरबहादुर श्रीस तर्क गर्नुहुन्छ । 

सती घाटु नाचको सुरुवात चैत्राष्टमीदेखि सुरु हुन्छ र दशरा तीथिमा गएर समाप्त हुन्छ । यद्यपि, यो तीथि असार महिनामा पर्ने र त्यतिबेलासम्म गाउँघरमा कामको माचो सुरु भइसक्ने भएकाले आजकाल जेठको २० मा घाटु नाचको विधिवत समापन गरिन्छ ।

सती घाटु तत्कालीन पर्वते राजा परशुराम र रानीको जीवनकथामा आधारित गीति नाटक शैलीमा प्रस्तुत गरिन्छ । युद्धमा राजाको वीरगति भएपछि रानीहरूले गर्ने विलाप, कारुणिक गीत र नृत्यमार्फत व्यक्त गरिन्छ । नृत्यका क्रममा गीतकै लयमा घाटुनीहरू लठ्ठिएर नाच्ने, आँखा बन्द गर्ने र ढल्ने गर्छन् । जसलाई पुनः गीतबाटै उठाइन्छ । बिहानदेखि सुरु हुने यो नृत्य मध्यरातपछि मात्र समापन हुन्छ ।