• २३ वैशाख २०८१, आइतबार

क्रिकेटको प्रगति फुटबलको अधोगति

blog

नेपाली खेलकुदमा सबैभन्दा बढी लगानी नेपाली फुटबलमा भएको छ । फुटबलका क्लबहरू, अनेक प्रतियोगिता छन् । मैदान पनि छन् ।  स्वार्थ र व्यवस्थापनको कमीका कारण अहिले नेपाली फुटबल अधोगतिमा छ । 

क्रिकेट चाहिँ दिनप्रतिदिन अगाडि बढ्दै छ । क्रिकेटले दर्शकको माया पनि धेरै नै पाएको छ । पूर्वाधार र लगानीको कमी क्रिकेट विकासका अवरोध देखिन्छन् ।  

खेलकुदप्रति सरकारको स्पष्ट नीतिको अभाव अनि प्रशासनिक जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय खेलकुद परिषद्ले स्पष्ट दफामा टेकेर खेलकुदलाई व्यवस्थापन गर्न सक्षम नभएकै कारणले विश्वमा सर्वाधिक लोकप्रिय खेल फुटबलबाट नेपाल झन् झन् टाढिँदै गएको छ । 

तुलनात्मक रूपमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्य खेलकुद सङ्घभन्दा बलियो छ । उसले फुटबलको सर्वोच्च निकाय फिफा र एसिया हेर्ने एसियाली फुटबल महासङ्घ (एएफसी) बाट प्राप्त गर्ने अनुदान र सुविधा पनि धेरै नै छ । 

यति हुँदाहुँदै पनि फुटबलको अन्तर्राष्ट्रिय क्षेत्रमा अपेक्षाकृत परिणाम निकाल्न नेपाली टिम असमर्थ रहँदै आएको छ । हुँदाहुँदा व्यवस्थापनको कमजोरीका कारण नेपालमा हुनुपर्ने कतिपय  अन्तर्राष्ट्रिय प्रतियोगितासमेत सारिएका छन् । पहिले नतिजा कमजोर हुँदा पनि एएफसीले प्रतियोगिता आयोजना गर्न पत्याउने गर्दथ्यो र जेनतेन भएका केही रङ्गशालाबाटै प्रतियोगिता हुने गर्दथे । अहिले रङ्गशाला जोगाइराख्न नसक्दा अन्तर्राष्ट्रिय खेल आयोजना गर्नबाट समेत नेपाल वञ्चित हुँदै आएको छ । 

पछिल्लो समय नेपालका विश्वकप फुटबल छनोटमा दोस्रो चरणका खेल नेपालमा नहुने अवस्था आएको छ । भएको एक मात्र रङ्गशाला दशरथ रङ्गशालाको स्तर खस्किएकै कारण नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलसमेत खेल्न पाएन । 

फुटबलका गतिविधि मात्रै गर्नुपर्नेमा विभिन्न साङ्गीतिक एवं अन्य कार्यक्रम गरेर मैदान बिगार्नमा एन्फाकै पदाधिकारीको जोडबल हुने गरेको आरोप छ । 

अहिले आएर युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले रङ्गशाला हेर्ने जिम्मा राष्ट्रिय खेलकुद परिषद्लाई नै दिने निर्णय गरेका छन् तर विगतको व्यवस्थापन हेर्दा खेलकुद परिषद्ले सम्हाल्दा रङ्गशालाको झनै दुर्दशा भएको थियो । 

एकातिर नेपाली टिमले घरेलु मैदानमा खेल्नुपर्ने खेलसमेत यहीँ खेल्न नपाउनु र अर्कातिर खेलाडीहरूको भविष्यको सुनिश्चितता नहुँदा खेलाडी पलायनको क्रम बढेको छ । कुनै समय नियमित हुँदै आएको लिगसमेत प्रभावित भएको छ । 

नेपालले रङ्गशालाको दुरवस्थाका कारण बहराइनविरुद्धको घरेलु खेल  बहराइनकै मैदानमा खेल्न बाध्य भयो । अबका खेल पनि सहजै नेपालमा हुने अवस्था देखिँदैन । नेपाली फुटबलले सन् १९८० को  दशकदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको भए पनि उल्लेखनीय प्रदर्शन अहिलेसम्म गर्न सकेको छैन । 

महिला फुटबल टिमको अवस्था त झन् दयनीय नै छ । अहिलेसम्म महिला टिमले एउटा उपाधिसमेत जित्न सकेको छैन । एन्फाको महिला र पुरुष खेलाडीलाई गर्ने व्यवहार फरक हुँदा अहिलेको अवस्था आइपुगेको भनाइ छ नेपाली महिला फुटबल टिमकी पहिलो अन्तर्राष्ट्रिय कप्तान रमा सिंहको । 

यसको अर्को पाटोमा हेर्ने हो भने फुटबलपछिको चर्चित खेल क्रिकेटले तुलनात्मक रूपमा ठूलै सफलता हासिल गरेको छ । नेपाल दोस्रो पटक विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छानिन सफल भएको छ । यसअघि नेपाल सन् २०१४ को विश्वकपमा पनि छानिन सफल भएको थियो । 

नेपालले एकदिवसीय खेलको मान्यतालाई समेत कायम राखेको छ भने पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा पनि खेलेको छ । त्यही एसिया कपमा विश्व क्रिकेटका महारथी टिमहरू भारत र पाकिस्तानको समूहमा रहेर प्रशंसनीय प्रदर्शन गरेको नेपालले थप अवसर पाउने हो भने लामो दूरीको घोडा बन्न सक्छ । 

भारतले नेपाली टिमलाई थप अभ्यास दिलाउने उद्देश्यले अमेरिका र वेस्टइन्जिडको आयोजनामा हुने विश्वकपअगाडि नै एसएमएस च्याम्पियनसिप आयोजना घरेलु मैदानमा गरेको छ । बरोड क्रिकेट एसोसिएसन र गुजरात क्रिकेट एसोसिएसनका टिमसँग खेल्न परे पनि नेपाली टिमले अभ्यास गर्ने मौका राम्रै पाएको छ । नेपालको ‘ए’ टिमले आयरल्यान्डको ‘ए’ टिमसँग निरन्तर खेलिरहँदा पनि खेलाडीलाई खार्नका लागि सजिलो भएको नेपाल क्रिकेट सङ्घको विश्वास छ । 

सन् २०२४ को जुन ४ देखि ३० सम्म हुने विश्वकपमा २० टिमले सहभागिता जनाउने छन् । वरीयताप्राप्त १२ टिमले स्वतः विश्वकप खेल्न पाउँदा बाँकी आठ टिम नेपालले जस्तै छनोट चरण पार गरेर विश्वकपमा पुगेका हुन् । 

त्यसो त सरकारले खेलाडीलाई गम्भीर भएर अभिभावकीय भूमिका निर्वाह नगरेसम्म नतिजा राम्रो आउने आशा गर्न सकिन्न । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले खेलकुद मन्त्रीलाई सरकारले वाचा गरेको नगद पुरस्कार भने नदिएको गुनासो गरेपछि कुन अवस्थाबाट खेलाडी गुज्रेका रहेछन् भन्ने स्पष्टै हुन्छ । 

उपाधि विजेता विजय र पुष्पा   

विजय रावत र पुष्पा भण्डारीले तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन् । चैतमा काठमाडौँमा भएको प्रतियोगितामा विजय पुरुष तथा पुष्पा महिला वर्गमा पहिलो भएका थिए । 

विजयले निर्धारित दूरी एक घण्टा सात मिनेट ५६ सेकेन्डमा पूरा गरे । यस वर्गमा करणसिंह बोगटी दोस्रो तथा अजितकुमार यादव तेस्रो भएका थिए । 

महिला वर्गको दौडमा पहिलो भएकी पुष्पाले निर्धारित दूरी एक घण्टा २३ मिनेट ०५ सेकेन्डमा पूरा गरिन् । दोस्रो राममाया बुढा र सुशान कार्की तेस्रो भइन् । यस्तै पुरुष वर्गको पाँच किलोमिटर दौडमा धनुवा नन्दले पहिलो स्थान तथा महिला वर्गको यही स्पर्धामा शर्मिला बस्नेत पहिलो भएकी थिइन् । 

 
Author

सोमराज पोखरेल