चाँदनी आचार्य
घोडाघोडी (कैलाली), मङ्सिर १७ गते । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता प्रभावकारी भएको बताइएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा नगरस्तरीय अतिरिक्त क्रियाकलाप तथा १६औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख खडकबहादुर रावतले सो कुरा बताउनुभएको हो ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको कार्यक्रमको उद्घाटन नगर प्रमुख खडकबहादुर रावतले गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रावतले भन्नुभयो “विद्यार्थीहरूको शारीरिक, मानसिक र भौतिक विकासका लागि खेलकुदको आवश्यकता हुन्छ । हरेक वर्ष पालिकाले खेलकुद कार्यक्रमको आयोजना गरेर खेलाडी उत्पादनमा जोड दिएको छ ।”
नगरपालिकाले खेल क्षेत्रमा लगानी गरेको उल्लेख गर्दै उहाँले यस क्षेत्रका खेलाडीहरूले राम्रो प्रदर्शन गरेर जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पालिकाको नाम राख्न सफल भएको बताउनुभयो ।
नगरस्तरीय अतिरिक्त क्रियाकलाप तथा खेलकुद समितिको आयोजनामा वडा नम्बर १० पहलमानपुरमा रहेको कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता बुधबारदेखि शुरु भएको हो ।
आधारभूत तहको अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता विभिन्न पाँच क्लस्टरमा सञ्चालन गरी बुधबारदेखि नगरस्तरीय अतिरिक्त क्रियाकलाप तथा १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता शुरु भएको हो ।
उक्त प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने बताइएको छ । नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगितामा नगरभित्रका २४ वटा विद्यालयको सहभागिता छ ।
प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी, दौड र एथलेटिक्स लगायतका खेलहरू सञ्चालन हुने समितिका अध्यक्ष धनबहादुर बमले बताउनुभयो । उहाँले प्रतियोगितामा एकहजारभन्दा बढी खेलाडीको सहभागिता रहेको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्षलगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता थियो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने उल्लेख गर्दै प्रतियोगितालाई व्यवस्थित र भव्यरुपमा सबै विद्यालयको उपस्थिति आवश्यक रहेको जनाइएकाे छ ।