काठमाडौँ, मङ्सिर १७ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४५ रनको मध्यम लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४४ रन बनायो ।
विराटनगरका लागि लोकेश बमले ३५ रन बनाउनुभयो । उहाँले ४२ बलमा दुई चौका र दुई छक्का हान्नुभयो । यस्तै बसिर अहमदले २८, साम हिजलेटले २७, प्रतिश जिसीले ११ र मर्सेन्ट डे लन्जले १० रन बनाउनुभयो । अन्तिममा एक बल खेल्नुभएका सन्दीप लामिछानेले एउटा छक्का हान्नुभयो ।
आजै पहिलो खेल खेल्नुभएका फाफ डुप्लेसी १२ रनमा आउट हुनुभयो । ओपनिङमा खेल्नुभएका डुप्लेसी खासै चल्न सक्नुभएन । बलिङमा लुम्बिनीका लागि शेर मल्लले तीन विकेट लिनुभयो । यस्तै अविशेष गौतम, जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक एक विकेट लिनुभयो ।
यसअघि विराटनगरले पाँच खेलबाट आठ अङ्क बनाएको छ । लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।