अहिले डिजिटल दुनियाँमा फिङ्गरप्रिन्ट (औँठा छाप) र फेस आइडी (बायोमेट्रिक अथन्टिकेसन)लाई विश्वसनीय र भरपर्दो सुरक्षा उपायका रूपमा लिने गरिन्छ । सुरक्षाका दृष्टिकोणबाट हेर्दा फिङ्गर प्रिन्ट अथन्टिकेसनको विश्वसनीयता ९८ देखि ९९.९१ प्रतिशतसम्म रहेको विभिन्न अध्ययनले देखाएको छ ।
यति भनिरहँदा फिङ्गर प्रिन्टलाई डिजिटल अथन्टिकेसनको मुख्य र अन्तिम विकल्पका रूपमा लिनु भने हुँदैन । सूचना प्रविधिको क्षेत्रमा पिन कोड, पासवर्ड, प्याटर्न लकलगायतका प्रविधिसमेत प्रचलनमा छन् । पछिल्लो र सुरक्षित मानिएको फिङ्गर प्रिन्ट सेन्सर प्रयोग गरी मोबाइल डिभाइस सुरक्षित गर्ने प्रविधिको प्रयोगबाट प्रयोगकर्ताले सजिलै आफ्नो औँठा छापबाट लक/अनलक गर्न सक्छन् । यो प्रविधिको विकासपछि प्रयोगकर्ताहरू पटक–पटक पासवर्ड वा पिन राख्नुपर्ने र याद गरिराख्न पर्ने अवस्थाबाट मुक्त भएका छन् ।
मोबाइल फोनको सुरक्षाका लागि तपाईंले फिङ्गर प्रिन्ट वा फेस आइडीका अतिरिक्त अन्य विकल्प पनि प्रयोग गर्नुपर्छ । बायोमेट्रिक अथन्टिकेसन भएको वा नभएको मोबाइल डिभाइसमा तपाईंले फिङ्गर प्रिन्ट वा फेस आइडीका साथै बलियो पासवर्ड, पासकी, टु फ्याक्टर अथन्टिकेसनलगायतका विभिन्न सुरक्षा उपाय अपनाउन सक्नुहुन्छ ।
सम्बन्धित व्यक्तिबाहेक अर्कोसँग फिङ्गर प्रिन्ट स्क्यानिङ मिल्दैन तर भनिन्छ नि डिजिटल दुनियाँमा कुनै पनि कुरा पूर्ण रूपमा सुरक्षित छैन । अन्य सुरक्षा उपायको तुलनामा फिङ्गर प्रिन्ट सुरक्षित भए पनि पूर्ण रूपमा सुरक्षित भने छैन । गलत मनसाय भएका र प्रविधिमा पोख्त व्यक्तिले फिङ्गर प्रिन्ट क्लोनिङ वा अन्य कुनै उपायबाट तपाईंको मोबाइल डिभाइसका सूचना वा डाटा सजिलै चोर्न सक्छन् ।
फिङ्गर प्रिन्ट सेन्सरको विकास
यो प्रविधिको पहिलो प्रयोग तोसिवाले सन् २००७ मा जी ५०० र जी ९०० मोबाइल फोनमा गरेको थियो । सन् २०१५ मा एप्पलले आइफोन–५ एसमा फिङ्गर प्रिन्ट स्क्यानर प्रयोग गरेको थियो । यस्तै सामसुङले ग्यालेक्सी एस–५ मा यस प्रविधिको प्रयोग ग¥यो । त्यसपछि एन्ड्रोइड ६.० भर्सनका प्रायः सबै मोबाइल फोनमा फिङ्गर प्रिन्ट स्क्यानर सपोर्ट फिचर राखियो । अहिले सबैजसो स्मार्ट मोबाइल डिभाइस’ मा फिङ्गर प्रिन्ट सेन्सर रहेको हुन्छ ।
यसले काम गर्ने विधि
एप्पलले यसअघि प्रयोग गर्दै आएको फिङ्गर प्रिन्टलाई टच आइडी भनिन्थ्यो तर पछिल्लो आइफोन–१४ का कुनै पनि संस्करणमा फिङ्गर प्रिन्ट सेन्सर छैन । त्यसअघिका आइफोनको होम बटनमा फिङ्गर प्रिन्ट सेन्सर छन् । साथै अहिलेका एन्ड्रोइड स्मार्ट फोनमा फिङ्गर प्रिन्ट स्क्यानर होम बटनमै समावेश गरिएको हुन्छ । कुनै स्मार्ट फोनमा फिङ्गर प्रिन्ट स्क्यानर लाई फोनको पछाडि वा दायाँपट्टि राखिएको हामी देख्न सक्छौँ । अहिले आएका अधिकांश नयाँ स्मार्ट फोनमा फेस आइडी लकका साथै मोबाइल फोनको डिस्प्लेमै फिङ्गर प्रिन्ट समावेश गरिएको छ ।
स्मार्ट फोनले प्रयोगकर्ताको फिङ्गर प्रिन्ट (औँठा छाप) पढ्न अप्टिकल, क्यापासिटिभ, अल्ट्रासोनिकलगायतका उन्नत प्रविधिको सहयोग लिन्छ । अप्टिकल फिङ्गर प्रिन्ट रिडरले एउटा विशेष प्रकारको क्यामरा प्रयोग गर्दछ । यसले तपाईंको फिङ्गर प्रिन्टको तस्बिरलाई कोडमा परिवर्तन गरिदिन्छ ।
क्यापासिटिभ स्क्यानर प्रविधिले स्व्रिmनमा कुनै फिङ्गर प्रिन्ट छ वा त्यसको तस्बिर मात्र छ भन्ने कुरा पत्ता लगाउने काम गर्दछ । त्यसैले अप्टिकल फिङ्गर प्रिन्टलाई एउटा राम्रो तस्बिरको सहयोगमा यस सेन्सरलाई सहजै झुक्याउन सकिन्छ तर क्यापासिटिभलाई यसरी सजिलै झुक्याउन सकिँदैन ।
क्यापासिटिभ फिङ्गर प्रिन्ट स्क्यानरले ससाना क्यापासिटर ग्रिड प्रयोग गरी विद्युत् सञ्चय गर्दछ । आधुनिक फिङ्गर प्रिन्ट स्क्यानका लागि अल्ट्रासोनिक फिङ्गर प्रिन्ट स्क्यानरको सहयोग लिने गरिन्छ । यसको प्रयोग प्रायः मेडिकल क्षेत्रमा गरिन्छ ।
अहिले फिङ्गर प्रिन्ट प्रविधि सहज र सुरक्षित मानिएको प्रविधि हो । यसले मोबाइल डिभाइसमा प्रयोगकर्ताको आकर्षण बढेको छ । पहिले महँगा मोबाइल फोनमा मात्र पाइने यस्तो सुविधा अहिले सस्ता स्मार्ट फोनमा समेत उपलब्ध छन् । सुरक्षित मानिएको फिङ्गर प्रिन्ट स्क्यानर प्रविधि आगामी दिनमा प्याटर्न लक, पिन लक र पासवर्ड जस्तै मोबाइल सेक्युरिटीको अभिन्न अङ्ग बन्ने निश्चित छ ।