परोपकारको भावना समेटिएका पाटीपौवा
अठार पुराणका रचयिता वेदव्यासले आफ्ना सबै कृतिको सार एकै श्लोकमा भनेका छन्, “परोपकारः पुण्याय, पापाय परपीडनम् ।” अर्थात् अरूलाई उपकार गर्दा पुण्य मिल्छ भने दुःख दिँदा पाप लाग्छ । यस भनाइको परिपूरक आशयलाई यसरी पनि व्यक्त सकिन्छ, अरूको परोपकार गर्नु जत्तिको ठूलो धर्म र अरूलाई पीडा दिनु जत्तिको ठूलो पाप अर्को छैन । परोपकारी कार्यलाई जीवन दर्शनका रूपमा आत्मसात् गर्ने वेदव्यासजस्ता मनीषीका सत्कर्मयुक्त जीवन दर्शनबाट हाम्रा पुर्खाहरू परोपकारी कार्यमा सरिक भएका अनेकौँ दृष्टान्त भेटिन्छन् । परोपकारी भावनालाई जीवनको मार्गदर्शक सिद्धान्त मान्ने सत्कर्मीहरूले सम्पादन गरेका अनेकन् लोकहितकारी कार्यको दृृष्टान्तका रूपमा पाटीपौवा, सत्तल एवं धर्मशाला निर्माणलाई पनि लिन सकिन्छ ।