• १२ पुस २०८१, शुक्रबार

हिमालयन अवेकिङ आधुनिक नेपालको पहिलो श्रव्यदृश्य

blog

तस्बिर : युवामञ्च मासिक

भारतको कोलकाताबाट डिबी परियारको सत्प्रयासमा सत्य हरिशचन्द्रको निर्माणपश्चात् नेपाली भाषामा चलचित्र बनेको इतिहास छ । हुन त यो विषय निर्माणको सन्दर्भ आजपर्यन्त विवादित रहेको छ । कसैले यसलाई नेपाली भाषामा डबिङ मात्र गरिएको र कसैले बन्दै नबनेको दाबी गरे पनि राजा त्रिभुवन र नाट्यसम्राट बालकृष्ण समले आफ्नै आँखाले यसको छायाङ्कन देखेको बताएकाले यसको निर्माण र नेपाली भाषामा भएको छायाङ्कनका बारे विवाद गर्नु त्यति आवश्यक देखिँदैन । 

अहिले भने सत्य हरिशचन्द्रको निर्माण र नेपालभित्र राजा महेन्द्रको सत्प्रयासमा निर्माण भएको आमा चलचित्रका बीचको समयावधिमा नेपालभित्रै तर अङ्ग्रेजी भाषामा नेपालका बारेमा एउटा सार्थक वृत्तचित्र बनेको थियो, हिमालय अवेकिङका नाममा त्यसको चर्चा गरिँदै छ ।  

हिमालय अवेकिङ अर्थात् हिमाल ब्युँझिँदै छ भन्ने अर्थ रहेको यो वृत्तचित्र तत्कालीन नेपालमा रहेको अमेरिकी सूचना केन्द्रको पहलमा सन् १९५७ मा निर्माण भएको थियो । नेपाल विषयक पहिलो श्रव्यदृश्य सामग्री मानिने कुल ३३ मिनेट १७ सेकेन्ड लामो यो श्यामश्वेत वृत्तचित्रको निर्देशक र निर्माताका रूपमा रहेका थिए भिक्टर जे. जर्जेन्स । वृत्तचित्रको कास्टिङमा नाम उल्लेख नगरिए पनि स्वर्गीय तारादेवीको कालजयी स्वरबाट वृत्तचित्रको सुरुवात भएको छ तर हिमालचुलीको चर्चा गरिएको सो गीतको बोल बुझ्न निकै गाह्रो छ ।

पटकथा बेस्ट ब्रुक र भेन भुरिस, सम्पादन एन्जेलो रस र कला निर्देशन ज्याक बर्गस तथा रबर्ट विट्नेको रहेको यो प्रस्तुति माछापुच्छ«े हिमालको सुन्दर दृश्यबाट सुरु भएको छ । पाश्र्व स्वराङ्कनकर्ताले विश्वका सबै जनतालाई सम्बोधन गर्दै नेपालको प्राकृतिक दृश्यको बयान गर्दै प्रस्तुति सुरु भएको छ । पृष्ठभूमिमा बीच बीचमा बाँसुरीको धुनका साथ कथा अघि बढाउने निर्देशकको निकै प्रयास भएको पाइन्छ ।  

नेपालको कृषि प्रणाली, सांस्कृतिक परम्परा तथा भौगोलिक अवस्थालाई प्रस्तुतिको सुरुमा नै उल्लेख गरिएको छ भने हाम्रा धार्मिक मठमन्दिरको प्रस्तुतिले वृत्तचित्रलाई विविधतापूर्ण बनाएको छ । बौद्ध धर्मावलम्बीको धार्मिक अनुष्ठानले प्रस्तुतिमा महत्वपूर्ण स्थान पाएको छ भने पशुपतिनाथ, पाटनको कृष्ण मन्दिर तथा रानीपोखरीलाई महत्वका साथ प्रस्तुत गरिएको छ । कथासँगै नेवारी समुदायका परम्परागत धुनले प्रस्तुतिलाई कर्णप्रिय बनाएको छ । 

हाम्रा मौलिक परम्परागत मूर्तिकलाको राम्रो चित्रण गरिएको यो कृतिमा नेपाली सेनाले गरेको सैनिक मार्चपास र राजा महेन्द्रका त्यो बेलाका गतिविधिको छनक सार्थक रूपले चित्रण गरिएको छ । राजा महेन्द्रकै पालामा परिकल्पना गरिएको प्रथम पञ्चवर्षीय योजनालाई महìवका साथ उठान गरिएको छ । उनकै पालामा सुधार भएको नेपालको वैदेशिक सम्बन्ध, सार्वजनिक शिक्षामा भएको सुधारका साथै राजा महेन्द्रको निजी कार्यालयको समेत प्रदर्शनले वृत्तचित्रलाई रोचक बनाएको छ ।

 वृत्तचित्रको १९ औँ मिनेटमा प्रस्तुत गरिएको लोकशैलीको भजन जस्तो गीतले वृत्तचित्रमा प्राण भरेको छ । अँगालो हाली... आपसमा... चिरसुख पाउँला....बोलको भजनको शैली रहेको गीतमा नेपाली जातिको उन्नयनका लागि आह्वान गरिएको छ । नातिकाजी, पन्नाकाजी, शिवशङ्कर थापा, बच्चुकैलाश बस्नेत, धर्मराज थापा तथा तारादेवी आदिको स्वर यसमा रहेको छ भने बीच बीचमा आउने नारायण हरिहरि... भन्ने अन्तराले गीत निकै आकर्षक अनुभूत हुन्छ तर रेकर्डिङको कमजोरीले होला कतिपय शब्द बुझ्न निकै कठिन छ । 

भिजुअलसहित प्रस्तुत यो गीति प्रस्तुति नेपाली म्युजिक भिडियोको इतिहासकै पनि प्रथम प्रस्तुति हो भन्न सकिन्छ । दृश्य प्रस्ट तर गीतका शब्द बुझ्न कठिन हुनु यहाँ खट्किने विषय रहेको छ । भारतीय सिनेमाको त्यतिबेला पनि नेपालमा बोलवाला रहेको कुरा बैजयन्ती माला अभिनीत कुनै सिनेमाको प्रचार गाडीमा पोस्टरसहित सडकमा माइकिङ गरिएको दृश्य निकै रोचक लाग्छ । नेपालको रेलसेवा, रोपवे तथा हवाई सेवाको गतिविधिको जानकारी पनि यो कृतिमा पाइन्छ ।

आजभन्दा ६६ वर्षअघिको नेपालको दृश्य दस्ताबेजीकरण आज सम्झिँदा कता कता मिथक जस्तो लाग्छ । वृत्तचित्रमा प्राविधिक उच्चता खोज्नुभन्दा पनि तत्कालीन नेपालको इतिहासको दृश्य प्रस्तुति आजको पुस्तालाई उपलब्ध हुनु उच्चतम प्राप्ति हो । नेपालको आधुनिक इतिहासको प्रारम्भिक चरणको श्रव्यदृश्य दस्ताबेज बनेको यो कृतिले अमेरिकी सहयोगमा नेपालमा भएका निर्माण परियोजनाको महìवका साथ उठान गरिएको छ ।

नेपालको जलस्रोत विषयलाई समेत उठाएको यो कृतिमा ध्वनिमिश्रण पक्षमा भने निकै कमजोरी देखिन्छ । हुन सक्छ पुरानो निर्माण भएकाले यसको स्तरीयता खस्केको होला । राजा महेन्द्रले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेको स्थिरचित्रले सार्थकता बोकेको छ । यहाँ श्रव्यदृश्य नै राख्न सकिएको भए कृतिको अझ ओज बढ्थ्यो । 

राजा महेन्द्रको देशवासीलाई नववर्षका अवसरमा दिएको सन्देशबाट अन्त्य गरिएको यो वृत्तचित्रमा कास्टिङमा पाश्र्वस्वर वाचकको नाम नदिनु गम्भीर त्रुटि हो । यति भएर पनि पाश्र्ववाचन निकै आकर्षक रहेको छ । नेपालका मौलिकता, हाम्रा सम्पदा र सांस्कृतिक गतिविधिको उन्नयनमा निकै गहिरिएर आलेखकार र निर्देशकले मेहनत गरेको यो वृत्तचित्रले तत्कालीन नेपालको खेल जगत्लाई समेत छुटाएको छैन । समग्रमा तत्कालीन नेपालको अवस्था र जनजीवनको सार्थक दस्ताबेज बनेर यो वृत्तचित्र उपस्थित भएको छ ।   –युवामञ्च   

Author

कमल सुवेदी