साहारा लिम्बू
फुङलिङ, फागुन २७ गते । ताप्लेजुङमा बाँदरलाई अमानवीय व्यवहार गरी हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुका २१ वर्षीय युवक संगम भनिने छुप्पु हेम्ब्यालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक जटाशंकर यादबका अनुसार हेम्ब्या पाँचथरको हिलिहाङ गाउँपालिका २ सिँहपुर घर भई हाल ताप्लेजुङको थेचम्बु ससुरालीमा बसोबास गर्दै आइरहनु भएको थियो । हेम्ब्याले थेचम्बुको माङजाबुङ भन्ने स्थानमा करिब आधा दर्जनभन्दा बढी बाँदरलाई हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पटकपटक बाँदरलाई अमानवीय ढङ्गले कुटपिट गरेर मारेको स्थानीयको भनाइ छ । बाँदरलाई कुटपिट तथा घरपालुवा जनावर कुकुरलाई टोकाई मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको विषयमा प्रहरीले चासो दिएको थियो ।
प्रहरीले हेम्ब्यालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको कार्यलाई जारी राखिएको प्रहरी निरीक्षक शंकरले जानकारी दिनुभयो ।
खाना तथा आहाराको अभावका कारण पछिल्ला समय बाँदरहरू बस्तीमा पस्ने क्रम बढिरहेको छ । जङ्गलको विनाश हुने क्रम बढेकाले आहारको कमी भएपछि बाँदर बस्तीमा प्रवेश गर्न थालेको स्थानीयको भनाइ छ ।