अनिल पराजुली
हेटौँडा, फागुन २६ गते । मकवानपुरको विकट कैलाश गाउँपालिकास्थित कालिकाटारमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधवार बिपी स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको हो ।
अस्पताल उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले अस्पतालबाट आम नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभयो । उहाँले हाल १० शय्यामा सञ्चालनमा आएको अस्पताललाई आगामी दिनमा २५ शय्यासम्म विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमार्फत अस्पतालमा समय–समयमा विशेषज्ञ सेवा उपलब्ध गराइने पनि बताउनुभयो ।
सङ्घीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १७६ रुपैयाँको लगानीमा निर्माण गरिएको अस्पताल भवनको २०७८ जेठ २७ गते निर्माण सम्झौता भई २०८२ असारमा सम्पन्न भएको हो । आशिष-आशीर्वाद-स्वामी नारायण जेभीले निर्माण गरेको अढाईतले भवनमा १० शय्या क्षमताको अस्पताल सञ्चालनमा आएको हो ।
अस्पताल उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीलगायतको उपस्थिति रहेको थियो ।
बिपी स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ । तस्बिर : अनिल पराजुली ।