• ११ असोज २०८१, शुक्रबार

ग्रिन कफीमा आकर्षण

blog

तौल घटाउन र स्वस्थ रहन विविध ब्रान्डका ग्रिन टी अर्थात् हरियो चियामा अचेल दिनानुदिन आकर्षण बढ्दै गएको छ । यस्तै ग्रिन कफीसमेत लोकप्रिय छ । ग्रिन कफी भन्नाले हरियो कफीको दाना या धुलो हो जुन रोस्ट अर्थात् भुटेको हुँदैन । आकर्षक साना साना प्याकमा विभिन्न ब्रान्डमा यो कफी बजारमा उपलब्ध हुन थालेको छ ।

ग्रिन कफी ग्रिन टीभन्दा भिन्न स्वादको हुन्छ । यो कुनै नौलो हर्बल टी जस्तो पनि होइन । काँचो कफी सुकाएर धुलो या गेडामै तातोपानी मिसाएर पिउने गरिन्छ । कफी पारखीका लागि भने यो स्वाद अलि भिन्न लाग्न सक्छ । 

शरीरको तौल व्यवस्थापन गर्न हरियो कफी उत्तम मानेर यसलाई पिउने धेरै मानिस छन् । ग्रिन टीभन्दा धेरै गुणा ग्रिन कफी उपयोगी हुन्छ । ग्रिन कफीले शरीरमा स्फूर्ति ल्याउन पनि महत्वपूर्ण भूमिका खेल्छ । उच्च रक्तचाप नियन्त्रणका लागि समेत ग्रिन कफी पिउनु उपयोगी मानिन्छ । 

रोस्ट गरेको कफी र नगरेको कफीको सुगन्धमा पनि फरक हुन्छ । ऊर्जावान् भइरहनका लागि पनि ग्रिन कफी उपयुक्त हुने हरँदा प्रायः सबै उमेर वर्गका मानिसले यो पेय रुचाउने गरेका छन् । 

माग बढ्दो भएका कारण हरियो कफी पाउडर स्वरूपमा पनि बजारमा उपलब्ध हुन थालेको छ । सामान्य कफी ठूला प्याकेटमा किलोमा पाइने भए पनि ग्रिन कफी भने साना साना प्याकेटमा हरियो गेडा या धुलो स्वरूपमा पाइन्छ । 

ग्रिन कफी विभिन्न तरिकाबाट पिउन सकिन्छ । कफीको हरियो दानालाई रातभर भिजाएर या उमालेर पनि पिउने गरिन्छ । भिजाउँदा या उमाल्दा जस्तो रङ देखिन्छ सोही अनुसार सही उत्पादनको वर्गीकरण र विशेषता पत्ता लगाउन सकिन्छ । रोस्ट गरेको कफीको जस्तो सुगन्ध भने ग्रिन कफीमा हुन्न । हामीले बुझ्नु जरुरी छ, हरियो कफी कुनै पनि रोगको निदान या उपचारको औषधि भने होइन ।

हरियो कफी कुनै पनि समय पिउन उत्तम नै हुन्छ र सबैभन्दा राम्रो समय भनेको खाना खाइसकेपछि पिउनु हो । रातभर भिजाएर राखिएको हरियो कफी एकदेखि १२ मिनेट हल्का आगोमा उमालेर पिउँदा राम्रो हुन्छ । शरीरको तौल घटाउन चाहनेले प्रत्येक दिन बिहान, दिउँसो र बेलुका हरियो कफीको एक चम्चा धुलोमा एक कप तातोपानी हालेर पिउने गर्नु पर्छ ।

गर्भवती, बच्चा र स्तनपान गराउने आमाबाहेक हरियो कफी जो कोहीले पिउँदा हुन्छ । यदि नियमित रूपमा कुनै विशेष औषधि खाइरहेको छ भने पनि हरियो कफी खानु पहिले डाक्टरको सल्लाह लिँदा राम्रो । 

ग्रायन्डरमा पिसेर धुलो बनाई त्यसलाई उमालेर पिउँदा पनि हरियो कफी उत्तम हुन्छ तर दिनमा दुई या तीन पटकभन्दा बढी नपिउँदा नै वेश । आवश्यकभन्दा बढी पिउँदा निद्रामा समस्या या उच्च रक्तचापको समस्या आउन सक्छ ।

उमालेको ग्रिन कफीको रङ हल्का हरियो हुन्छ र यसलाई छानेर अन्य ग्रिन टी जसरी नै समय लिएर पिउन सकिन्छ । हरियो कफीको वास्तविक स्वाद रोस्ट कफीको जस्तो कडा नभई सामान्य हर्बल टी जस्तै हुने हुँदा यसलाई नियमित पिउन पनि मिल्छ । 

उच्च मात्रामा एन्टिअक्सिडेन्ट हरियो कफीमा पाइने हुँदा पनि यसको लोकप्रियता बढेको हो । शरीरको कलेजोको सफाइका लागि पनि ग्रिन कफी निकै फाइदाजनक मानिएको छ ।   

–युवामञ्च   

Author

आरबी बुढाथोकी