वरपरको संसारसँग अन्तक्र्रिया गर्ने मुख्य अङ्ग हो आँखा । हाम्रो ज्ञानको ८० प्रतिशतभन्दा बढी भाग आँखा वा यसको दृश्य प्रभावबाट प्राप्त हुन्छ । लगभग ९५ प्रतिशत जनावरमा आँखा हुन्छ । यहाँसम्म कि एउटा हलिउडमा एउटा चलचित्रको नाम नै ‘हिल्स ह्याभ आइज’ (पहाडको आँखा हुन्छ) राखिएको छ । शाब्दिक रूपमा भन्नुपर्दा अङ्कुरित आलुको पनि आँखा हुन्छ । यहाँ केही विचित्रका आँखाका बारेमा चर्चा गर्न खोजिएको छ ।
उल्लुको आँखा
प्रकृति साँच्चै अद्भुत छ । यसले प्रत्येक वस्तुलाई आपसमा दुरुस्तै अनुकूल हुन सक्ने गरी बनाएको छ । एकको कमी अर्कोको पर्याप्तताले पूरा गरिदिन्छ । उल्लुले आफ्नो टाउको अगाडिबाट पछाडितिर १८० डिग्री घुमाउन सक्छ, घडीको सुई घुम्ने दिशा वा घडीको विपरीत दिशामा । यो किन सम्भव भयो भने उल्लुले आफ्नो आँखा चलाउन सक्दैन । किनकि तिनीहरू गहिरो/कसिलो गरी सकेटमा फिट गरिएका हुन्छन् । दुवै आँखा एउटै समतलमा हुन्छन् र उही दिशामा निर्देशित रहन्छन् । जसले तिनीहरूमा अधिकतम गहिराइ बुझ्ने क्षमता बढाइदिन्छ ।
यसले सटिकताका साथ सिकार गर्नमा मद्दत गर्दछ । उल्लु जस्ता निशाचर जनावरमा रातमा राम्रो दृष्टि हुन्छ । किनभने तिनीहरूको नानी ठूला तथा रेटिनाको परिधि धेरै रङ छु्ट्याउन सक्ने कोषले बनेका हुन्छन् ।
उँटको आँखा
मेरुदण्ड भएका सबै प्राणीको आँखामा दुई वटा ढकनी हुन्छन् तर यसमा अपवाद छ, उँटमा चाहिँ तीन वटा ढकनी हुन्छन् भन्ने कुरा पक्कै अचम्मको कुरा हो । भित्री ढकनीमा बाहिरी ढकनीमा जस्तो परेली हुँदैन । उँटले बालुवाको आँधी आउँदा पनि अर्ध–पारदर्शी तेस्रो ढकनी बन्द गरेर मरुभूमिमा हिँडिरहन सक्छ । यसले बालुवालाई आँखामा प्रवेश गर्नबाट रोक्छ र आंशिक दृष्टिसहित हिँड्न सक्षम बनाउँछ ।
जलगैँडाको आँखा
जलगैँडाको आँखा एक पातलो पारदर्शी झिल्लीले ढाकिएको हुन्छ । जसले कोर्निया वा बाहिरी नानीलाई चोट र पानीको फोहोरबाट जोगाउँछ । यसले जलगैँडालाई कुनै अवरोधबिना पानीमुनि हेर्न सक्षमसमेत बनाउँछ । यो झिल्ली उनीहरूका लागि प्राकृतिक पौडी चस्मा जस्तै हो ।
बाख्राको आँखा
अर्को रोचक आँखा बाख्राको हो । तिनीहरूको भित्री नानी (एगउष्)ि आयताकार हुन्छ । जसले ३२० डिग्रीसम्मको विस्तारित तेर्सो दृष्टिक्षेत्र प्रदान गर्दछ । यस प्रकारको नानीले राम्रो रात्रि दृष्टि पनि प्रदान गर्दछ किनभने पुतलीले परिधीय प्रकाशलाई केन्द्र बाहिरको रेटिनामा प्रवेश गर्न दिन्छ । जसले रङ छुट्याउने कोषहरूलाई उत्तेजित गर्छ ।
बिरालोको आँखा
बिरालोको आँखा प्रायः अँध्यारोमा चम्कन्छ । बिरालो जस्ता शिकार गर्ने जनावरहरूको आँखा चम्किन्छ पनि । यसको कारण के हो भने रेटिनाको पछाडि ‘टापेटम ल्युसिडम’ भनिने झिल्ली हुन्छ । जसले रेटिनाबाट अवशोषित भएको प्रकाशको बाँकी भागलाई परावर्तित गर्छ । परावर्तित प्रकाश फेरि रेटिनाले अवशोषित गर्छ र अन्ततः पुपिलबाट बाहिर निस्कन्छ । जसलाई हामी चम्किरहेको देख्छौँ । परावर्तक तहले प्रभावकारी रात्रिदृष्टि प्रदान गर्छ किनभने यसले प्रकाशलाई दुई पटक अवशोषित गर्न सक्षम बनाउँछ । त्यसै कारण बिरालोले कम प्रकाशमा पनि वस्तुहरू पहिचान गर्न सक्छ ।
झिङ्गाको आँखा
घरझिङ्गा, गाइने किरा वा कमिला जस्ता केही आर्थोपोडको आँखाभन्दा स्तनधारी प्राणीको आँखा सरल हुन्छ । घरझिङ्गा, गाइने किरा आदिमा एक खालको संयुक्त आँखा हुन्छ । जसमा ‘ओम्माटिडिया’ रहन्छ । एउटै आँखामा हजारौँ ‘ओम्माटिडिया’ हुन्छन् र प्रत्येक ‘ओम्माटिडियम’ मा कोर्निया, लेन्स र प्रकाश महसुस गर्ने ‘फोटोरिसेप्टर’ कोषहरू रहेका हुन्छन् । यिनले आँखालाई द्रुत गतिशील वस्तुहरू पत्ता लगाउन क्षमतावान् बनाउँछन् ।
चिलको आँखा
यदि कसैसँग चिलको आँखा छ भनियो भने यो वाक्यांशले हामीलाई थाहा हुन्छ उसको तेज दृष्टि छ । चिलको आँखाको दृश्य तीक्ष्णता आम मानिसको भन्दा चारदेखि आठ गुणा बढी हुन्छ । चिलले करिब पाँच किलोमिटर पर गतिशील खरायोलाई चिन्न सक्छ । मानिसको भन्दा चिलको आँखामा धेरै रङ छुट्याउन सक्ने क्षमता पनि हुन्छ । चिलको आँखाले परावैजनी किरण पनि पत्ता लगाउन सक्छ, जुन हाम्रो आँखाले देख्दैन ।
दृष्टिविहीन जीव : पिट भाइपर र चमेरो
पिट भाइपर सर्पमा ‘थर्मल’ दृष्टि हुन्छ । जसको अर्थ यसले तापक्रम भिन्नताका आधारमा कुनै पनि वस्तुको नजिक आउने वा टाढा जाने निर्णय लिन सक्छ । केही सर्पले आफ्नो जिब्रो बाहिर निकालेर हावाको वा जमिनको कम्पन महसुस गरेर आफ्नो शत्रु पत्ता लगाउँछन् ।
चमेरा दृष्टिविहीन हुन्छन् तर तिनीहरू रात र दिन दुवैमा समान रूपमा चल्न सक्छन् । तिनीहरूको हल्लीचल्ली दिनको समयमा कम हुन्छ किनभने दिनको समयमा हावामा विभिन्न जीवित प्राणी गतिशील हुन्छन् र यसले गर्दा दुर्घटनाको सम्भावना बढ्छ । चमेरोले वरिपरिका वस्तुको स्थिति र दूरी ‘अल्ट्रासोनिक ध्वनि’ निकालेर तथा परावर्तित ध्वनि विश्लेषण गरेर पत्ता लगाउँछन् । यसरी चमेरो वस्तुहरूबाट जोगिँदै उड्छ । कहिलेकाहीँ चमेरा झुन्डिएका तारमा करेन्ट लागेर मर्छन् किनभने मसिनो भएकाले तिनीहरूले तारको स्थिति सहीसँग विश्लेषण गर्न सक्दैनन् ।
मानव आँखा
अधिकांश प्राणीको आँखाभन्दा फरक मानव आँखाको दृश्य क्षेत्रहरू खप्टिएका हुन्छन् । अर्थात् दुवै आँखाले देख्न सक्ने भूभाग फराकिलो हुन्छ । यसले गहिराइ छुट्याउने त्रिआयामिक दृष्टि प्रदान गर्छ । त्रिआयामिक दृष्टि ‘थ्रिडी भिजन’ भनेको पृष्ठभूमिको दाँजोमा वस्तुहरूको एक अर्कासँगको सापेक्ष स्थान । त्यसैले एक आँखा मात्र भएको व्यक्तिले त्रिआयामिक चलचित्रको आनन्द लिन सक्दैन । कहिलेकाहीँ एकतर्फी दृष्टि ह्रास ‘एम्ब्लियोपिया’ वा आँखाको मध्यमा कुनै अस्पष्टताको कारणले त्रिआयामिक दृष्टि कमजोर हुन्छ । नयाँ जन्मेका शिशुले जन्मको समयमा रङ छुट्याउन सक्दैन । शिशु जन्मेको छ महिनामा रङ बुझ्ने क्षमता विकास हुन्छ ।
(लेखक वरिष्ठ दृष्टि विशेषज्ञ हुन् ।)