गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । नेपाली लोककलामा सिर्जनात्मक खोजी नै कलाकार मनिषा साहको परिचय बन्दै गएको छ । नेपाल ललितकला क्याम्पसबाट क्रियटिभ आर्टमा स्नातकोत्तर गर्नुभएकी मनिषाले तराईको भूमि, भाव र परिवेशलाई कलामा समेत पछ्याउँदै अघि बढ्नुभएको छ । तिनै परिवेशमा कलाकार साहले तयार पारेका चित्रकृतिको प्रथम एकल प्रदर्शनी ‘मोर्डन एकोज अफ मिथिला ट्रेडिसन’ शीर्षकमा काठमाडौँको ठमेलस्थित काठमाडौँ आर्ट हाउसमा शनिबारदेखि आरम्भ भएको छ ।
सर्लाहीमा जन्मिएर जनकपुरमा हुर्किएकी कलाकार मनिषाले आफैँमा मिथिला संस्कृतिको प्रतिनिधित्व गर्नुहुन्छ । मिथिला संस्कार, संस्कृति र परिवेशमा हुर्किएकी कलाकार साह अवधारणागत रूपमा मिथिला कला शैलीलाई पछ्याउँदै सिर्जनात्मक कला प्रस्तुत गर्ने कार्यमा सक्रिय हुनुहुन्छ । मिथिला कला भन्नेबित्तिकै ग्रामीण महिलाले परम्परागत रूपमा बनाउँदै आएको कलाका रूपमा लिइन्छ । तथापि कलाकार साहले मिथिला कलाका तिनै सैद्धान्तिक परिवेशमा रहेर तयार पारिएका ३२ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
मिथिला कलालाई विभिन्न प्लेटफर्ममा प्रस्तुत गर्न रुचाउने कलाकार साहले पहिरन र दैनिक उपभोग्य वस्तुमा समेत मिथिला कलालाई प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ । परम्परागत कला निर्माणका विधि जोगाउन प्रयत्नरत युवापुस्तालाई प्रोत्साहित गर्नसमेत आफ्नो कर्तव्य भएको बुझाइ कलाकार मनिषाको छ । कला क्षेत्रलाई रहर, खाली समयको उपयोग वा बर्बादीका रूपमा नभई कला कर्मलाई पेसाका रूपमा ग्रहण गर्न प्रयासरत मनिषाले कलामा मिथिला संस्कृतिलाई विशेष गरी पछ्याएको पाइन्छ । मयूर र महिला शृङ्खलालाई कलाकार साहले एक्रेलिक र वयल रङ माध्यममा पछ्याउनुभएको छ ।
कलाकार साहले प्रदर्शनीमा तीन शृङ्खलाका चित्र राख्नुभएको छ । पहिलो शृङ्खलामा मिथिला विवाह संस्कृति, संस्कार, उत्सव र त्यसभित्रका मसिना सांस्कृतिक पक्षलाई चित्रकृतिमा खोज्ने प्रयास उहाँको छ । त्यसमा रङको संयोजन र मिथिला रङरेखाका मिहिन कामले कलाकर्मलाई परिपक्व बनाउनेतर्फ कलाकार साहलाई अघि बढाएको देखिन्छ । विवाहमा बेहुलीको उत्सुकता, नयाँ घरमा स्वागत र नयाँ यात्राको भावलाई चम्किला र उज्यालो रङको सहयोगमा प्रस्तुत गरिएको छ ।
दोस्रो शृङ्खलामा मिथिलानी महिलाको जीवन, उनीहरूको दैनिकीसँग सम्बन्धित विषयलाई समेटिएको छ । तेस्रोमा सौन्दर्य दृष्टिकोणलाई महिला सौन्दर्यसँग जोड्ने प्रयास गरेको देखिन्छ । त्यसमा उहाँले मयूरलाई प्रस्तुत गर्नुभएको छ । यो प्रदर्शनीमा मयूर शृङ्खला निकै रोचक पनि छ । आफ्ना कलामा सिर्जना र प्रविधिको समायोजन खोज्ने कलाकार साहले प्रदर्शनी कक्षमा मिथिला सङ्गीतको मधुर धुनको संयोजन गर्नसमेत भ्याउनुभएको छ । यसले कला अवलोकनकर्तालाई मिथिला सङ्गीतको धुनले समेत मजाले तान्ने गरेको छ । मिथिला कलाको प्रशिक्षण, भित्तामा मिथिला चित्र लेखन जस्ता कार्यमा समेत सक्रिय कलाकार साहको यो प्रदर्शनी मङ्सिर ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।