• २९ कात्तिक २०८२, शनिबार

एक विद्यालयमा तीन जना प्रधानाध्यापक

blog

नरैनापुर ६ मा रहेको जमुनी माविमा पठन पाठन सुचारु भएको छ । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, कात्तिक २९ गते । बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिका ६ मा रहेको एक सरकारी विद्यालयमा तीन जना शिक्षकले आफूलाई प्रधानाध्यापक घोषणा गरेर विवाद गर्दै आएको पाइएको छ । 

तीन जनाले आफूलाई प्रधानाध्यापक घोषणा गरेर पठनपाठन अवरुद्ध पार्दै आएको जानकारी गाउँपालिकामा पुगेपछि सो विवाद समाधान गरिएको गाउँपालिकाले जनाएको छ । 

पालिकाका अनुसार नरैनापुर–६ को जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि सो विद्यालयका तीन जना शिक्षक अम्बरलाल यादव, अफसर अलि मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापक घोषित गरेर काम गर्न खोजेपछि विद्यालयको पठनपाठन अवरुद्ध भएर दैनिकजसो विवाद हुने गरेको थियो । 

तीनै जनाले आफूलाई वैधानिक विद्यालयको कागजपत्र कब्जा गर्ने प्रयास गर्दा सो विद्यालयको पठनपाठन अवरुद्ध भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताउनुभयो । 

उहाँले विद्यालयको विवाद गाउँपालिकामा पुगेपछि पालिकाले सो बारेमा अध्ययन अनुसन्धान गरेर तत्काल लागु हुनेगरी अम्बरलाल यादवलाई जमुनी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरिएको बताउनुभयो । 

यादवको प्रधानाध्यापकमा नियुक्तिसँगै अफसर अली मुकेरीको काज फिर्ता गरिएको र सन्देश शर्मालाई सोही विद्यालयमै रहेर शिक्षण गर्न निर्देशन दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओलीले बताउनुभयो । 

स्थानीय अभिभावक हरिहर यादवले तीन जनाले प्रधानाध्यापक दाबी गर्दा विद्यालयमा पढाई रोकिएको र कुर्सी तथा रजिस्टर तानातान हुँदै आएको जनाउँदै  बालबालिकाहरुले बिद्यालय जानै छाडेको अवस्था रहेको सुनाउनुभयो । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय सरकार गठन हुनुभन्दा अघि पालिकामा रहेका अधिकांश विद्यालयको अवस्था निकै चिन्ताजनक रहेको बताउँदै गत आठ वर्षको अवधीमा धेरै सुधार गरिएको बताउनुभयो । 

उहाँले अझै पनि जमुनी माविमा प्रधानाध्यापकका लागि यस्तो तानातान भएको पाईएकोले अब त्यस्तो  हुन नदिन सचेतता अपनाइने बताउनुभयो । स्थानीय अधिकांश अभिभावकले अब विद्यालयमा पठनपाठन सुचारु हुने आशा व्यक्त गर्दै बालबालिकाको भविष्यप्रति चिन्ता गर्न सबैसंग अनुरोध गरेका छन् ।