काठमाडौँ, कात्तिक २९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ ।
मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको थियो । कोरियाको विज्ञान र आइसिटी ९एमएसआइटी० मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
फोरममा ‘डिजिटल’ र ‘एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई सत्र सञ्चालन भएका थिए ।
सञ्चारमन्त्री खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताउनुभयो । नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको र राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको सन्दर्भमा थप ज्ञान, सीप र अनुभव हासिल गर्न फोरम सान्दर्भिक भएको उहाँले उल्लेख गर्नुभयो ।
समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारिताका विषयमा धारणा राख्नुभएको थियो । त्यस क्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी ९एनआइए० ले पनि नेपाललाई सहकार्य गर्ने र आपसी सझेदारिताका विषयमा पनि परामर्श भएको जनाइएको छ ।
फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुनुहुन्थ्यो ।
दक्षिण कोरियामा रहँदा सञ्चारमन्त्री खरेलले सिओल एआई फाउन्डेसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गर्नुभयो । यस्तै, उहाँले सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुभएको थियो ।
मन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम गरेको थियो । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजी र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भूटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडिआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरु तथा वरिष्ठ नीति निर्माताहरु सहभागी भएका थिए । एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्था पनि कार्यक्रममा सहभागी भएका सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।