नेपाल खण्डमा मात्रै छ हजार मिटरभन्दा माथिका दुई वटा, पाँच हजार मिटरमाथिका १८ वटा एवं प्रकारले चार हजार मिटरभन्दा माथिका लगभग ४० वटा उच्च हिमाली भन्ज्याङ पास गरेर गरिने (चार हजार मिटरभन्दा धेरै उचाइ काटेर गरिने) मार्गका रूपमा पनि यो पदमार्ग विश्वभरि प्रख्यात छ ।
‘दी ग्रेट हिमालय ट्रेल’ केवल नेपालको मात्रै नभएर सम्भवतः विश्वकै लामो एवं साहसिक पदयात्रा मार्ग हो । साथै यो रुटमा पदयात्रा गर्दाखेरि धेरै वटा उच्च हिमाली भन्ज्याङ (अङ्ग्रेजी भाषामा कोल वा पास) पार गर्दै पदयात्रा गर्नुपर्ने हुन्छ । त्यसैले यो पदयात्रा मार्ग विश्वकै सबैभन्दा अग्ला भन्ज्याङ पार गर्दै गरिने एवं धेरै वटा भन्ज्याङ रहेको पदयात्रा मार्ग पनि हो ।
यो पदमार्गको नेपाल खण्डमा मात्रै छ हजार मिटरभन्दा माथिका दुई वटा, पाँच हजार मिटरमाथिका १८ वटा एवं प्रकारले चार हजार मिटरभन्दा माथिका लगभग ४० वटा उच्च हिमाली भन्ज्याङ पास गरेर गरिने –चार हजार मिटरभन्दा धेरै उचाइ काटेर गरिने) मार्गका रूपमा पनि विश्वभरि प्रख्यात रहेको छ । त्यसमा पाँच वटा पास एकदमै प्राविधिक एवं कठिनाइपूर्ण बाटा भएर पार गर्नुपर्ने हुन्छ । ती पास हुन्– शेर्पेनी–शेर्पानी कोल, शेर्पोनी कोल वेस्ट, आम्फू लाप्चा पास, टासी लाप्चा पास रतिलम्यान कोल पास ।
‘दी ग्रेट हिमाल ट्रेल’ को पूरै भागमा पदयात्रा गर्ने हो भने यसको सुरु विन्दुचाहिँ पश्चिमको अफगानिस्तान, पाकिस्तान मध्यभागको नेपाल, भुटान र चीनको स्वशासित तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग भारतको आसाम राज्यका सीमामा रहेको नाम्चा/नाम्चे–बार्वासम्म रहेको छ । अहिलेसम्म कुनै पनि पदयात्रीले यसरी हिँडेर एकै पटक यो पदमार्गको पदयात्रा गरेको अहिलेसम्म थाहा भएको छैन । त्यसैले यो लेखमा ‘दी ग्रेट हिमालय ट्रेल’ को केवल नेपाल खण्डको मात्रै चर्चा गरिने छ । हुन त अझै पनि ‘ग्रेट हिमालय ट्रेल’ को नेपाल खण्डको रुटमा गोरेटो र घोडेटो बाटो राम्रोसँग विकास भइसकेको छैन भन्नुपर्ने हुन्छ । उसो त नेपाल खण्डको ‘दी ग्रेट हिमालय ट्रेल’ को रुटमा हालसम्म धेरै कम पदयात्रीले मात्रै ट्रेकिङ गर्ने क्रममा पदयात्रा पूरा गरेका छन् ।
हुन पनि पदयात्रीको चाहना र सुविधा अर्थात् सजिलोका लागि यो पदयात्रा मार्गलाई पनि ‘लोअर’ र ‘हाइयर’ भन्नुको मतलब तल्लो र माथिल्लो गरेर दुई भागमा पदयात्रा मार्गलाई छुट्याइएको छ । जसले गर्दा ‘हाइयर’ पदयात्रा मार्ग (कठिन मार्ग भएर) पदयात्रा गर्न नसक्ने पदयात्रीले यो रुटको ‘लोअर’ पदयात्रा मार्ग भए पनि पदयात्रा गर्न सक्छन् । साथै कतिपय समय अभाव हुने पदयात्रीलाई वा भनौँ पूरा यात्रा गर्न नसक्ने वा नचाहने पदयात्रीका लागि पनि विभिन्न १० वटा उपमार्गमा विभाजन गरिएको छ । जसले गर्दा व्यस्त जीवन र समय अभाव हुने तर आफ्नो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘दी ग्रेट हिमालय ट्रेल’ को रुटमा ट्रेकिङ गरेर मज्जा लिन र फरक अनुभव एवं अनुभूति गर्न चाहने पदयात्रीलाई सुविधा भएको छ । खासमा लगातार रूपमा पूरै पदयात्रा मार्गमा पदयात्रा गर्दा कम्तीमा पनि १५० दिनसम्म लाग्ने गर्छ । त्यसो त कतिपय पदयात्रीले ‘दी ग्रेट हिमालय ट्रेल’ को पूर्वी भेगमा मात्रै पदयात्रा गर्ने गरेका छन् । कतिपय पदयात्रीले मध्यभेग मात्रै एवं प्रकारले कतिपय पदयात्रीले चाहिँ ‘दी ग्रेट हिमालय ट्रेल’ को पश्चिम भेग मात्रै पदयात्रा गर्ने गरेका छन् । यसरी ‘दी ग्रेट हिमालय ट्रेल’ को कुनै एक भागको मात्रै पदयात्रा गर्न चाहने पदयात्रीको चाहनालाई ध्यानमा राखेर नै ‘दी ग्रेट हिमालय ट्रेल’ लाई खण्ड खण्ड र छोटो पदयात्रा मार्गमा विभाजन गरिएको हो । हुन पनि अहिलेको जमानामा मानिसको जीवनमा व्यवस्तताले साह्रै गाँजेको हुन्छ । त्यस्तो व्यस्त जीवन र समय अभाव हुने भए पनि कुनै विश्वका जुनसुकै देशका मानिस आफ्नो जीवनमा विश्वकै उच्च हिमाली क्षेत्रमा गरिने दुर्लभ ‘दी ग्रेट हिमालय ट्रेल’ को पदयात्रा मार्गमा पदयात्रा गरेर मज्जा लिन र फरक अनुभव, अनुभूति गर्न चाहने पदयात्रीले ‘दी ग्रेट हिमालय ट्रेल’ को पूर्वी भेग मात्रै, मध्य भेग मात्रै, पश्चिम भेगको पदयात्रा मार्ग मात्रै पदयात्रा गर्न सक्छन् अहिले ।
हो, ‘दी ग्रेट हिमालय ट्रेल’ को एक हजार ७५० किलोमिटर लामो पदयात्रा मार्गमा पदयात्रीले पदयात्रा गर्न कम्तीमा १५० दिनसम्म लाग्छ भन्ने त माथि नै एक प्रसङ्गमा उल्लेख गरिएको छ । १५० दिनसम्म लाग्ने समय त नेपालभित्रको रुटमा मात्रै हो । यदि कसैले पश्चिमको अफगानिस्तान, पाकिस्तान, नेपाल, भुटान, चीनको तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग एवं भारतको आसाम राज्यका सीमासम्म रहेको नाम्चा बार्वा पदयात्रा मार्गसम्म हिँडेरै पदयात्रा गर्ने हो भने त चार हजार पाँच सय किलोमिटर लामो यात्रा तय गर्नुपर्ने हुन्छ । जसका लागि कम्तीमा पनि १८५ दिनदेखि १९० दिनसम्मको समय छुट्याउनुपर्ने हुन्छ ।
आशा गरौँ, भविश्यमा यो पदयात्रा मार्गको पूरै भागमा पदयात्रा सञ्चालन गर्ने कार्यका लागि सम्बन्धित निकाय अथवा भनौँ सरोकारवाला सङ्घ संस्था एवं व्यक्तिले सोच बनाउने नै छन् । किनभने यस्तो कार्य हुन सकेमा ‘दी ग्रेट हिमालय ट्रेल’ विश्वकै चालु रहेको लामो पदयात्रा मार्ग, उच्च हिमाली भेगमा गरिने पदयात्रा मार्गका साथसाथै धेरै वटा उच्च हिमाली भेगका भन्ज्याङ काटेर गरिने (चार हजार मिटरभन्दा धेरै उचाइ काटेर गरिने) पदयात्रा मार्गका रूपमा पनि विश्वमा चिनिने छ, स्थापित हुने देखिन्छ । त्यसैले ‘दी ग्रेट हिमाल ट्रेल’ को सुरु विन्दु पश्चिमको अफगानिस्तान, पाकिस्तान मध्यभागको नेपाल, भुटान एवं चीनको स्वशासित तिब्बत प्रान्तको दक्षिण पूर्वी भाग एवं भारतको आसाम राज्यसम्म रहेको नाम्चा/नाम्चे–बार्वासम्मै हिँडेर गरिने पदयात्रा मार्गका रूपमा विकास गर्न सके विश्वभरिका साहसिक पर्यटकलाई अझै पनि आकर्षित गर्न सकिने सम्भावना जीवितै रहेको छ । त्यसैले यस कार्यका लागि सम्बन्धित देश (अफगानिस्तान, पाकिस्तान, नेपाल, चीन र भारत) का सरकार एवं ती देशका पर्यटन व्यवसायीले विभिन्न प्याकेज ल्याउन सके ‘सुनमा सुगन्ध’ हुने थियो ।
हुन त यसो भनिरहँदा आजको जस्तो मेसिनभन्दा छिटो जीवन चलाउनुपर्ने जमानामा कसले पो एकै पटक त्यतिका धेरै दिन (लामो समय) निकाल्न सक्लान् र ? भन्ने प्रश्न पनि रहेको छ । किनभने नेपाल खण्डको ‘ग्रेट हिमाल ट्रेल’ को पदयात्रा गर्नका लागि मात्रै लगभग १५० दिनको समय चाहिन्छ भन्ने माथि नै लेखिएको छ । त्यसमा पनि मौसमी समयको पनि ख्याल गर्नुपर्ने हुन्छ । किनभने ‘दी ग्रेट हिमाल ट्रेल’ को हाइयर रुट मात्रै भएर पदयात्रा गर्ने हो भने पदयात्रा गर्ने व्यक्तिले अप्रिल, मे, जुन, जुलाई, अगस्ट, सेप्टेम्बर महिना छुट्याउनुपर्ने हुन्छ । अन्यथा अत्यधिक चिसोका कारण हिउँ परेर बाटोघाटो बन्द हुन्छ, पार गर्न सकिँदैन । त्यसो भएपछि ‘दी ग्रेट हिमालय ट्रेल’ को हाइयर पदयात्रा मार्गमा पदयात्राको सम्भावना रहँदैन । अर्को मुख्य प्रश्न भनेको अबका दिनमा कम्तीमा एक डेढ महिनादेखि छ सात महिनासम्म समय निकाल्न कसले नै सक्ला ? यो चाहिँ वास्तवमै व्यावहारिक प्रश्नका रूपमा रहेको छ । तैपनि कुनै पदयात्रीले म आफ्नो जीवनभरिमा पटक पटक गरेर भए पनि ‘दी ग्रेट हिमालय ट्रेल’ को खण्ड खण्डमा छ/छ महिनामा वा वर्ष/वर्षमा अथवा डेढ/दुई वर्षमा एक/एक पटक गरेर भए पनि ‘ग्रेट हिमालय ट्रेल’ को पदयात्रा मार्गमा पदयात्रा गरेर मज्जा लिएरै छाड्छ्ु भन्ने पदयात्रीले त्यसो गर्न सक्छ । त्यसैले आगामी दिनमा यो पदयात्रा मार्गमा पदयात्रा गर्न चाहने पदयात्रीलाई सम्बन्धित देशका ट्रेक अर्गनाइजर ट्रेकिङ कम्पनीले सोही अनुसारको प्याकेज बनाएर बेच्ने एवं प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ । यस कार्यमा नेपाल सरकारले पनि नेपाली ट्रेकिङ कम्पनीलाई ‘ग्रेट हिमालय ट्रेल’ का लागि सक्दो पहल गर्न सो पदयात्रा मार्गमा पदयात्रा गर्ने विदेशी पदयात्री सक्दो धेरै सङ्ख्यामा ल्याउन एवं नेपालको समग्र पर्यटन प्रवर्धनमा सहयोग पुग्ने गरी केही न केही कार्यक्रम ल्याउनुपर्ने र प्याकेज घोषणा गर्नुपर्ने देखिन्छ ।