• २५ मंसिर २०८१, मङ्गलबार

चन्द्रमा कसरी बन्यो ?

blog

सर्वमान्य परिकल्पनाका रूपमा परिचित चन्द्रमाको उत्पत्तिसम्बन्धी सिद्धान्तले भनेको छ, जब पृथ्वी आफ्नो आधा जति आकारको एउटा ग्रह (लगभग मङ्गल ग्रह जतिको) सँग करिब साढे चार अर्ब वर्षपहिले ठोक्कियो अनि चन्द्रमा बन्यो । प्राचीन ग्रिसका पौराणिक कथामा उल्लेख गरिएकी चन्द्रदेवीलाई जन्म दिने देवीको नामबाट वैज्ञानिकले त्यस काल्पनिक ग्रहको नाम थिया राखेका छन् । 

त्यस भयङ्कर टक्करपछि दुवै खगोलीय पिण्डबाट उछिट्टिएका टुक्रा वा अवशेष पृथ्वीको कक्षमा आकर्षित भए । त्यतिबेला आज हामीले थाहा पाएको भन्दा यो बेग्लै थियो, आंशिक पग्लेको एक चट्टानी गोलाका रूपमा । अन्ततः ती सबै अवशेष चिसिँदै र आपसमा मिसिँदै गएर चन्द्रमाको जन्म भयो । 

सन् १९७० को दशकको मध्यमा प्रतिपादित यस सिद्धान्तको तात्पर्य के छ भने पृथ्वी र थिया दुवै पिण्डको मिश्रणबाट चन्द्रमा बनेको छ । नेचर जियोसाइन्स जर्नलमा प्रकाशित एक अनुसन्धानले भने चन्द्रमाको उत्पत्ति सम्बन्धमा व्यापक मान्य परिकल्पनामाथि प्रश्न उठायो । त्यसले भन्यो, चन्द्रमाको बनोट लगभग पृथ्वी समान रहेको छ तथा त्यस संरचनाको निर्माणमा अर्को ग्रहको योगदान निकै कम छ वा छँदै छैन ।


चाल्र्स डार्बिनका छोरा तथा एक खगोलशास्त्री र भौतिकशास्त्री जर्जले सन् १८०० को अन्त्यतिर चन्द्रमा उत्पत्ति सम्बन्धमा सर्वप्रथम विखण्डनको सिद्धान्त प्रस्ताव गरेका थिए । उनको परिकल्पना अनुसार सौर्य प्रणालीको आरम्भिक समयमा फनफन्ती घुमिरहेको पृथ्वीबाट एक भाग अन्तरिक्षमा उछिट्टियो र पछि त्यही पृथ्वी चन्द्रमा बन्यो । भूगर्भशास्त्री ओस्मन्ड फिसरले जहाँको भाग उछिट्टिएर चन्द्रमाको उत्पत्ति भयो त्यही स्थानमा प्रशान्त महासागर रहेको भनेर जर्जको अवधारणालाई बल पुर्‍याए । इस्वी संवत्को २० औँ शताब्दीमा आएर मात्र चन्द्रमा उत्पत्तिसम्बन्धी जर्जको विखण्डन अवधारणा कमजोर परेको थियो । यसको कारण के थियो भने जुन बलले चन्द्रमा आकारको भाग पृथ्वीबाट अन्तरिक्षमा हुत्यायो त्यसले त पृथ्वी नै नष्ट गर्न सक्थ्यो । अपोलो अभियानका बखत सङ्कलन गरिएको चन्द्रमाको चट्टानी नमुनाले कुनै बेला चन्द्रमा पृथ्वीभन्दा पनि तातो रहेको सङ्केत गर्नुले विखण्डन अवधारणा सही नभएको स्पष्ट भयो । 

चन्द्रमाको उत्पत्ति सम्बन्धमा ‘क्याप्चर थ्योरी’ पनि छ । यस सिद्धान्तले भन्छ, सौर्यमण्डलमा अन्यत्रै कहीँ चन्द्रमा उत्पन्न भयो र कुनै समय पृथ्वीनजिक आयो । पृथ्वीको गुरुत्वाकर्षण शक्तिले चन्द्रमालाई समात्यो (क्याप्चर) र आफ्नो कक्षमा स्थापित गरिदियो । वैज्ञानिकहरू के पनि विश्वास गर्छन् भने चन्द्रमाभन्दा ठूलो पिण्ड पृथ्वी वरिपरिको शक्तिसँग जुधेर छियाछिया भएको वा हुत्तिएर पर गएको हुन सक्छ तर यस्तो परिस्थिति निर्माण भएको सम्भावना कमै देखिन्छ । 

अर्को सिद्धान्त ‘कन्डेन्सेसन’ ले पृथ्वी र चन्द्रमा एकैसाथ उत्पत्ति भएको परिकल्पना गरेको छ । सम्पूर्ण सौर्य प्रणाली सिर्जना गरेको मूल ‘नेबुला’ भित्र पदार्थको बादलमा पृथ्वी र चन्द्रमा साथसाथै बनेको मान्यता यस परिकल्पनाको छ । करिब १३ अर्ब वर्षपहिले  ‘बिग ब्याङ’ भएको लगत्तै पृथ्वी र चन्द्रमा बन्ने प्रक्रिया सुरु भएको थियो । यदि ‘कन्डेन्सेसन’ ले पृथ्वी र चन्द्रमा सिर्जना भएको हो भने गुरुत्वाकर्षण बलले दुवै पिण्डलाई आपसमा समाहित गरिदिनुपर्ने वा यिनीहरूमा केही साझा आधारभूत संरचना हुनुपर्ने हो, विशेषज्ञहरू अहिले यही सोचिरहेका छन् ।       

सन् २०२३ को अगस्टमा प्रकाशित एक अनुसन्धानले चन्द्रमाको निकै आरम्भिक इतिहासको अनुमान लगाउनमा ठूलो सफलता पायो । कुरा के हो भने चन्द्रमाको नितान्त बेग्लै दुई भाग । चन्द्रमाको एक भाग होचो र समतल छ भने अर्को भाग धेरै उच्च र पहाडैपहाडले बनेको छ । अनुसन्धानपत्रले भनेको छ, सुरुका दिनमा एक सानो अर्को चन्द्रमाले पनि पृथ्वीको परिक्रमा गर्दथ्यो । पछि यो सानो चन्द्रमा ठूलो चन्द्रमामा बजारियो । जसले गर्दा चन्द्रमाको ठोक्किएको भाग खुरदुरो र पहाडी बन्यो । यसअघि वैज्ञानिकले सोचेका थिए गुरुत्वाकर्षण बलका कारणले गर्दा चन्द्रमाको दुरुस्त भाग पहाडी भएको होला । चन्द्रमाको उत्पत्ति सम्बन्धमा अनेक सिद्धान्त प्रचलनमा रहेका छन् र यस सम्बन्धमा थप खोज जारी छ । साथै पृथ्वीको गुरुत्वाकर्षण बलका कारण चन्द्रमा विस्तारै पृथ्वीनजिक आइरहेको समेत वैज्ञानिकले पत्ता लगाएका छन् । 

–युवामञ्च