बेलायती, फ्रान्सेली र इजरायली सैनिकहरू इजिप्टबाट फिर्ता नभएमा पश्चिम युरोपमा परमाणु हतियार प्रयोग गर्ने धम्की सोभियत सङ्घका नेता निकिता ख्रुस्चेभले दिँदा सन् १९५६ को स्वेज नहरको सङ्कट परमाणु युद्धको दिशामा बढ्ने जोखिम उत्पन्न भएको थियो । सोभियत सङ्घका समर्थक इजिप्टका राष्ट्रपति गमाल अब्देल नासेरले सन् १९५६ मा बेलायतबाट खोसेर स्वेज नहरको राष्ट्रियकरण गर्दा इजिप्टमा बेलायतको प्रभाव बिछिन्न भयो र स्वेज सङ्कट विश्वसामु आइलाग्यो । त्यसपछि सन् १९५६ अक्टोबर २९ मा इजरायलले इजिप्टमाथि आक्रमण सुरु गर्यो । अनि दुई दिनपछि बेलायत र फ्रान्सको सैन्यबल पनि इजिप्टमाथि जाइलाग्यो । नोभेम्बरमा ख्रुस्चेभले आफ्नो धम्की विश्वलाई सुनाए तथा अमेरिकाका राष्ट्रपति ड्वेट डी आइजनहावरले प्रतिवाद गर्दै ख्रुस्चेभलाई यस मामिलामा दखल नगर्न सचेत पार्दै युद्ध नरोके बेलायत, फ्रान्स र इजरायललाई आर्थिक नाकाबन्दी लगाउने धम्कीसमेत दिए । बेलायत र फ्रान्सले अन्ततः सैन्य बल फिर्ता गरे ।
स्वेज नहर विश्वमा समुद्री पारवहनको एक निकै महत्वपूर्ण मार्ग थियो । युरोपमा एक तिहाइ जैव इन्धन यही नहर भएर लैजाने गरिन्थ्यो । यस कारण यस नहरलाई अत्यन्त संवेदनशील मानिएको थियो । इजिप्टले एकाएक स्वेज नहर राष्ट्रियकरण गर्दा बेलायत, फ्रान्स र इजरायल क्षुब्ध भए । इजिप्टलाई जवाफ दिन इजरायलले अक्टोबर २९ मा हमला सुरु गरेपछि स्वेज सङ्कट उत्कर्षमा पुगेको थियो ।
सन १९५६ को जुलाईमा राष्ट्रपति नासेरले स्वेज नहर राष्ट्रियकरण गर्दा सुरु भएको महासङ्कटमा अमेरिकाको हस्तक्षेपले बेलायती, फ्रान्सेली र इजरायली सैनिक इजिप्टबाट फिर्ता भए तथा एक प्रकारले इजिप्टको जित जस्तै भयो । यस घटनाले गर्दा बेलायत, फ्रान्स र इजरायलको सम्बन्ध अमेरिकासँग चिसियो पनि । भलै बेलायत, फ्रान्स र इजरायलका सैनिक इजिप्टबाट फिर्ता भएका हुन्, आपसी मनमुटावको क्रम लामै समय रहिरह्यो ।
बेलायत र फ्रान्सका लागि स्वेज नहर विगतको साम्राज्यवाद प्रतिष्ठाको प्रतीक त थियो नै यो मध्यपूर्व र पर्सियाली खाडीको जीवनरेखा पनि थियो । अर्कोतिर अरब–इजरायल द्वन्द्व सल्किरहन्थ्यो । सन् १९४८ मा स्वतन्त्रता युद्धमा इजरायलको जितपछि इजिप्टले सेनाईबाट इजरायलमा हमलाका लागि प्यालेस्टिनी आतङ्कवादीलाई प्रायोजित गरेको थियो । जुन हमलाको जवाफ इजरायलले तत्कालै दियो । इजरायल के कुरामा विश्वस्त थियो भने इजिप्टसँग अर्को युद्ध अवश्यम्भावी छ तथा उनीहरू तिरान जलडमरुमध्यमा इजिप्टको नाकाबन्दी हटाउन चाहन्थे । त्यस नाकाबन्दीले गर्दा इजरायलका पानीजहाज अफ्रिका र एसियासँग व्यापार गर्न लालसागरबाट बाहिर जान पाइरहेका थिएनन् । यी सबै पृठभूमिमा रहेर बेलायत, फ्रान्स र इजरायलले संयुक्त रूपमा इजिप्टमा आक्रमण गर्ने योजना बुनेका हुन् ।
फ्रान्सेली कूटनीतिज्ञ फर्डिनान्ड डी लेसेप्सको निगरानीमा स्वेज नहर इजिप्टमा निर्माण गरिएको थियो । यस नहरलाई बेलायती र फ्रान्सेली सङ्गठनले संयुक्त रूपमा सञ्चालन गरिरहेका थिए । मानव निर्मित जलमार्ग स्वेज नहर १० वर्ष लगाएर तयार पारिएको थियो र सन् १८६९ मा यसको उद्घाटन गरियो । यस नहरले इजिप्टको अधिकांश भूभागलाई सेनाई प्रायःद्वीपबाट छुट्याउँछ ।
करिब १९२ किलोमिटर लामो स्वेज नहरले रेड सी हुँदै भूमध्यसागरलाई हिन्दमहासागरसँग जोड्छ । यस नहर हुँदै युरोप र एसियाबीच सोझै मालवस्तु समुद्री मार्गबाट ओसारपसार हुने गर्दछ । अन्तर्राष्ट्रिय वाणिज्य व्यापारमा यसको महत्वले गर्दा इजिप्टसँग उसका छिमेकीको मनमुटावको यो एक जल्दोबल्दो स्रोत बन्न गयो । साथै शीतयुद्धका महारथीबीच प्रभुत्वका लागि होडबाजी यसैमा भयो ।
दोस्रो विश्वयुद्ध समाप्त भइसकेको थियो । दुई वर्षपहिले इजिप्टका सैनिकले स्वेज नहरमा औपनिवेशिक कालदेखिको आफ्नो सैन्य उपस्थिति हटाउन बेलायतलाई दबाब दिन थालिसकेको थियो । सन् १९३६ मा एङ्ग्लो–इजिप्ट सन्धि अन्तर्गत बेलायती सैन्य बल स्वेज नहरको सुरक्षामा खटिएको इजिप्टलाई दोस्रो विश्वयुद्धपछि पचिरहेको थिएन ।
नासेरको सैन्य बलले इजरायली सैनिकसँग दुवै देशको सीमा क्षेत्रमा फाट्टफुट्ट लडाइँसमेत गर्यो र नासेरले इजरायलीप्रति आफ्नो शत्रुता खुलेर प्रस्तुत गरे ।
वास्तवमा सोभियत हतियार र आर्थिक सहयोगबाट तथा नाइल नदीमा अस्वान बाँध निर्माणका लागि आर्थिक सहयोग गर्ने वाचाबाट अमेरिकाले मुख मोडेपछि क्रुद्ध नासेरले स्वेज नहर कब्जा र राष्ट्रियकरण गर्ने आदेश दिएका थिए । यसमा उनले के तर्क राखे भने स्वेज नहर भएर जाने पानीजहाजबाट उठाइने शुल्कले अस्वान बाँधका लागि खर्चको जोहो हुनेछ ।
नासेरको यस कदमले बेलायतलाई क्रोधित बनायो । त्यसपछि सुरु भयो गोप्य सैन्य मन्त्रणा । बेलायतले गुपचुप सैन्य छलफल गरी फ्रान्सलाई समेत साथमा लियो । फ्रान्स पनि नासेरसँग असन्तुष्ट थियो । किनभने फ्रान्सको विश्वास थियो नासेरले अल्जेरियामा रहेको फ्रान्सको उपनिवेशमा विद्रोहीलाई साथ दिइरहेका छन् । सैन्य कारबाहीका लागि फ्रान्स तयार भएपछि इजिप्टको छिमेकी इजरायल पनि तयार भयो । इजिप्टले पटक पटक छिटपुट आक्रमण गरी इजरायललाई त्यसै पनि चिढाएर राखेको थियो । तीनवटै देश स्वेज नहरमा पुनः कब्जा गर्न संयुक्त सैन्य कारबाहीका लागि तयार भए ।
इजरायलले सबैभन्दा पहिले इजिप्टमाथि आक्रमण गर्यो । तीनवटै देशले एकसाथ आक्रमण गर्ने योजना बनाइएको भए पनि बेलायती र फ्रान्सेली सैन्यबल ढिलो हुन गए । तैपनि दुई दिनपछि बेलायती र फ्रान्सेली सैनिकले समेत इजिप्टमा आक्रमण सुरु गरे । पहिले इजरायलले सेनाईमा आक्रमण गर्यो । इजरायलको सेना प्रमुख मोसे दयानको दिमागको उपज, यस अभियानको नाममा इजरायलले अपरेसन कादेस राख्यो । इजरायली लडाकु विमानले सेनाईको जमिननजिक उडान भरेर सबैभन्दा पहिले टेलिफोनका तार आफ्ना पङ्खाले काटिदिए । जस कारण इजिप्टको सैन्य बलको सञ्चार अवरुद्ध हुन गयो । त्यसैबेला इजरायली हवाई सैनिकलाई सेनाई पहाडको मित्ला खोँचमा प्यारासुटका माध्यमले उतारियो । अर्कोतिर ट्याङ्कका साथ स्थल सैनिक पनि सेनाई पुगे । चारैतिरबाट आक्रमण गरेर इजरायलले केही दिनमै सेनाईमाथि नियन्त्रण बनाएको थियो ।
बेलायती र फ्रान्सेली सैनिकले पोर्ट सइद र पोर्ट फुहादमा पुगेर स्वेज नहर वरिपरिको इलाकामा नियन्त्रण बनाए । त्यतिबेला हङ्गेरीमा बढ्दो सङ्कटमा सोभियत सङ्घ अल्झिएको थियो र इजिप्टमा उत्पन्न अर्को सङ्कटमा उसको ध्यान आकर्षित भयो । बेलायती, फ्रान्सेली र इजरायली सैन्य कारबाहीमा केही दुबिधा देखिँदा सोभियत सङ्घले समेत समयमै प्रतिक्रिया देखाउने राम्रो अवसर पायो ।
अरब क्षेत्रमा सिर्जित राष्ट्रवादको फाइदा उठाउन तथा मध्यपूर्वमा आफ्नो उपस्थिति दह्रो पार्ने कोसिसमा रहेको सोभियत सङ्घले सन् १९५५ देखि नै चेकोस्लोभाकियाबाट इजिप्टको सरकारलाई हतियार आपूर्ति गर्न थालेको थियो । साथै अमेरिकाले वाचा पूरा नगरेपछि नाइल नदीमा अस्वान बाँध निर्माण परियोजनामा इजिप्टलाई सोभियत सङ्घले मद्दत गर्यो ।
यसै कारण सोभियत सङ्घका नेता ख्रुस्चेभ इजिप्टमाथि तीन देशले गरेको आक्रमणको कडा आलोचना मात्र गरेनन् इजरायल, बेलायत र फ्रान्सले आफ्ना सैनिक तत्काल इजिप्टबाट फिर्ता नलगे पश्चिमा युरोपमा परमाणु हतियारको वर्षा गर्ने धम्कीसमेत दिइहाले ।
विश्वमा असामान्य परिस्थिति सिर्जना हुँदै गएपछि अमेरिकाका राष्ट्रपति आइजनहावर प्रशासनको प्रतिक्रिया सुनिश्चित र सन्तुलित थियो । अमेरिकाले सोभियत सङ्घलाई चेतावनी दिँदै परमाणु द्वन्द्वको अनावश्यक चर्चाले परिस्थिति झनै खराब हुने भन्यो तथा लडाइँमा सोझै हस्तक्षेपबाट पर रहन ख्रुस्चेभलाई सचेत गरायो ।
साथसाथै आइजनहावर र उनका विदेशमन्त्री जोन फस्टर ड्युलेसले फ्रान्स, बेलायत र इजरायललाई आफ्नो अभियान त्याग गर्न तथा इजिप्टबाट आफ्ना सैनिक फिर्ता लैजान कडा चेतावनीसमेत दिए । विशेषगरी आइजनहावर बेलायतदेखि क्रुद्ध थिए किनभने आफ्नो मनसायका बारेमा उसले अमेरिकालाई अवगत गराएको थिएन ।
इजिप्टमाथि आक्रमणलाई निरन्तरता दिए बेलायत, फ्रान्स र इजरायलमाथि आर्थिक नाकाबन्दी लगाउने धम्कीसमेत अमेरिकाले दियो । यस धम्कीले काम गर्यो– डिसेम्बरसम्म बेलायती र फ्रान्सेली सैनिक फिर्ता भए तथा अन्ततः इजरायल पनि अमेरिकाको दबाब अगाडि झुक्यो र स्वेज नहरमाथि बनाएको नियन्त्रण इजिप्टलाई सुम्पियो । अनि इजिप्टले सन् १९५७ मार्चमा नहरलाई पारवहनका लागि पुनः खोल्यो ।
स्वेज सङ्कटले गर्दा पहिलो पटक संयुक्त राष्ट्रसङ्घले शान्ति सैनिक परिचालन गर्नु परेको थियो । युनाइटेड नेसन्स इमर्जेन्सी फोर्स (युएनइएफ) एक सशस्त्र समूह थियो, जसलाई युद्धस्थिति साम्य पार्न तथा कब्जा गर्न आएका तीन देशका सैनिक फिर्तीको निगरानी गर्न त्यहाँ पठाइयो ।
कुनै बेला चारैतिर आआफ्नो औपनिवेशिक साम्राज्य फैलाएर विश्वमा हस्तक्षेपकारी भूमिकामा रहने बेलायत र फ्रान्स स्वेज नहर काण्डपछि कमजोर पर्न गए । शक्ति कमजोर परेर उनीहरूको प्रभाव घट्यो । अब अमेरिका र सोभियत सङ्घले विश्व मामिलामा बढी भूमिका निर्वाह गर्न थाले । बेलायतका प्रधानमन्त्री एन्थनी एडेनले इजिप्टबाट बेलायती सैनिक फर्केको दुई महिनापछि राजीनामा दिए ।
बढ्दै गरेको अरब र इजिप्टेली राष्ट्रवाद अभियानमा यस स्वेज सङ्कटले नासेरलाई एक शक्तिशाली नेता बनाइदियो । यसबीच इजरायललाई स्वेज नहर उपयोग गर्ने अधिकार दिइएन । तैपनि उसलाई एक पटक फेरि तिरान जलडमरुमध्य हुँदै समुद्री पारवहनको सुविधा प्रदान गरियो ।
यस घटनाको १० वर्षपछि सन् १९६७ मा छदिने युद्धलाई लिएर इजिप्टले जुनमा फेरि स्वेज नहर बन्द गरिदियो । लगभग एक दशकसम्म स्वेज नहर इजिप्ट र इजरायलका सैनिकको रणभूमि नै रह्यो । सन् १९७५ मा शान्तिको सन्देश दिन इजिप्टका राष्ट्रपति अनवर अल सदातले पुनः नहर खोलिदिए । आजका दिनमा प्रत्येक वर्ष ३० करोड टन मालवस्तु यस नहर भएर ओसारपसार हुने गरेको छ ।
– उमेश ओझाद्वारा विभिन्न स्रोतबाट अनुवादित र सम्पादित