• २ मंसिर २०८२, मङ्गलबार

भारतीय दूतावासद्वारा बडिगाडको विद्यालयलाई बस सहयोग

blog

भारतीय दूतावासले खार माविलाई उपलब्ध गराएको बस । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, मङ्सिर २ गते । भारतीय दूतावासले पश्चिम बागलुङको बडिगाड गाउँपालिकाको एक सामुदायिक विद्यालयलाई स्कुल बस सहयोग गरेको छ । नेपालका २५ विद्यालयमध्ये दूतावासले बडिगाड–५ ग्वालीचौरको खार माध्यमिक विद्यालयलाई बस सहयोग गरेको हो ।

स्कूल बस सेवालाई ग्रामिण क्षेत्रका विद्यार्थीलाई आवातजावतमा केन्द्रित गरिने छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरेका अनुसार, बस संचालनको लागि छुट्टै समिति बनेको र नियमित सञ्चालन गर्न कोष निर्माणको तयारी समेत थालिएको छ ।

विद्यालयलाई स्कूल बस प्राप्त भएसंगै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले स्कुल बस संचालनको लागि पालिकाको नीतिले मिल्ने सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ । ‘‘विद्यालयका गतिविधी सार्वजनिक र बस सेवालाई निरन्तरता दिन विद्यालयले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्छ,’’ अधिकारीले भन्नुभयो ।  

लामो समयदेखि रिक्त रहेको गाउँपालिकाको शिक्षा अधिकृतको पदमा अबको एक हप्ताभित्र गण्डकी प्रदेश सरकारबाट कर्मचारी आउने र पालिकाका शैक्षिक गतिविधीले पनि तिव्रता पाउने अधिकारीले विश्वास व्यक्त गर्नुभयो । दाताबाट प्राप्त बस सेवाले ग्रामिण क्षेत्रका बालबालिकालाई पढाईमा अभिप्रेरित गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारी बताउनुहुन्छ ।

दूतावासले भिमगिठे स्वास्थ्य चौकीको भवन निर्माणका लागि पनि ४ करोडभन्दा बढी सहायता उपलब्ध गराएको छ । बडिगाड गाउँपालिका वडा नं. ७ भीमगिठेमा निर्माण गरिने स्वास्थ्य चौकीको भवनलाई ४ करोड ७ लाख १२ हजार रुपियाँ सहयोग गरेको छ । स्वास्थ्य चौकीको भवन बनाउन रकम उपलब्ध गराउन सम्झौता भएको छ । 

दूतावासको विकास साझेदारी तथा पुननिर्माण कार्यक्रमअन्तर्गत भीमगिठेमा स्वास्थ्यचौकी भवन बनाउन भारतिय दूतावास र गाउँपालिकाबी सम्झौता भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सम्झौता अनुसार, गाउँपालिकाले दूतावासले उपलब्ध गराउने बजेटमा पाँच प्रतिशत रकम साझेदारी गर्ने छ । 

यसैबीच, नेपाल विद्युत प्राधिकरण, बुर्तिबाङ–पौदी–अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभि प्रसारण आयोजनाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत बडिगाडका पाँच विद्यालय, आमा समूह र मोटरबाटोमा १ करोड बराबरको काम हुने भएको छ ।

बडिगाड २ को रेमलीटोला प्रावि, वडा नं. ५ को भानु मावि, खार मावि, वडा नं. ६ को बुद्ध मावि, महिला समुहको भवन र मोटरबाटो तथा वडा नं. ७ भिमगिठे माविमा सो बजेटबाट काम हुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यस्तै, सामाजिक उत्तरदायित्वअन्तर्गत गाउँपालिका वडा नं. २, ५, ६ र ७ मा पर्ने पुष्पलाल राजमार्गमा सडकबत्ति जडानको लागि २३ लाख ४४ हजार ७ सय २० रुपियाँ बराबरको काम हुने भएको हो ।