• २ मंसिर २०८२, मङ्गलबार

बङ्गुरको मासुमा स्वाइन फिवर पुष्टि

blog

बिकास अधिकारी

पश्चिम नवलपरासी, मङ्सिर २ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासी हाटबजारमा बिक्री भएको बङ्गुरको मासुमा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको छ ।

 रामग्राम–२, परासीमा लाग्दै आएको साप्ताहिक हाटबजारमा गत बुधबार बिक्री गरिएको मासुमा स्वाइन फिवर पुष्टि भएको हो ।

गुनासो आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र परासीमा रहेको पशु रोग अन्वेषण प्रयोगशालामा परिक्षण गर्दा रोग पुष्टि भएको थियो ।

 पिसिआर परीक्षणका लागि काठमाडौँ पठाइएकोमा त्यहाँ पनि पोजेटिभ देखिएपछि हाटबजारमा केही दिनलाई सुँगुर र बङ्गुरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्ने विज्ञ केन्द्रका प्रमुख दीपक भुसालले बताउनुभयो । 

 हाटबजारमा दुई जनाले बङ्गुरको मासु बेच्दै आएको  र दुवै जानाले बिक्री गरिरहेको मासुको नमुनामा अफ्रिकन स्वाइन फिवर पुष्टि भएको छ । 

हाटबजारमा जथाभाबी खुला रूपमा मासु बिक्री हुँदा जोखिम बढेको उहाँले बताउनुभयो । यस विषयमा सरोकारवालाबिच थप छलफल गरेर निर्णय लिने भुसालको भनाइ छ ।

स्रोतका अनुसार रोगी बङ्गुर र सुँगुर किसानहरूले घरबाट बिक्री नभएपछि बजार क्षेत्रमा बिक्री गर्ने गरेको बताइएको छ ।

सुनवलमा बङ्गुर पालन गर्दे आएका किसान पृतम गुरुङले भारतबाट अवैध रूपमा बङ्गुर आयात गरेर बिक्री हुने गरेकाले जोखिम बढेको बताउनुभयो ।

गत वर्ष स्वाइन फिवरकै सङ्क्रमणले सबै पशु परेको बताउँदै उहाँले सिमानामा कडाइ गर्न स्थानीय प्रशासन सँग माग गर्नुभयो । यसले मानिसको स्वास्थ्यमा ठुलो असर नगरे पनि सावधानी अपनाउनुपर्छ ।

पशु सेवा विभागले यस रोगलाई पशुहरूमा उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । सन् २०१८ मा छिमेकी भारत, चीन र भुटानमा देखिएको यो रोग नेपालमा पनि देखिएको थियो ।