काजुको जङ्गल

दुई पाटा आपसमा जोडिएको, ठूलो सिमी जस्तो बाङ्गो आकारको, सेतो मसलेदार फल मन नपराउने कोही होलान् जस्तो लाग्दैन । यसको नाम भनियो भने सुन्नासाथै ‘आहा !’ भनिहालिन्छ । यति मिठो चिज अनेक मिश्रण गरेर मान्छेले बनाएको हो कि आफैँ यस्तै फलेको होला भन्ने जिज्ञासा धेरैमा हुनुपर्छ । हो त, मलाई पनि केही वर्षअघिसम्म यस्तै लाग्थ्यो । जब २०७३ सालको वैशाखमा भारतको पर्यटकीय शहर गोवा भ्रमणको अवसर मिलेथ्यो, त्यतिबेला पो आफूलाई औधि मनपर्ने काजुको जङ्गल देखेर छक्क परेथेँ ।