• १६ असार २०८१, आइतबार

सैनिक सङ्ग्रहालय

blog

नेपालको एकीकरण कालदेखि नै नेपाली सेनाको योगदान रहेको छ । नेपाली सेनाले देशभित्र मात्र नभई बाहिरसमेत शान्ति स्थापनार्थ ठूलो योगदान पुर्‍याएको छ ।  २००७ सालको राजनीतिक परिवर्तनपछि २००९ सालमा नेपाली सेनाको पुनर्गठन भयो । यस संस्थासँग सम्बन्धित हातहतियारलगायत विभिन्न सामग्रीको सङ्कलन गरेर नेपालमा पनि सैनिक सङ्ग्रहालय स्थापना गरिएको छ । 

१८९५ साल पुस ७ गते काठमाडौँको छाउनी सिलखानाको नाममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले छाउनीमा नेपाल सङ्ग्रहालय स्थापना गरेका थिए । पछिल्लोपल्ट नेपाली सेनाको इतिहास, पोसाक, हातहतियारसहितको सङ्ग्रहालय खोलिएको छ, छाउनीमा नेपाली सेनाको सङ्ग्रहालय । यो सङ्ग्रहालय छाउनीको पुरानो र ठूलो नेपाल सङ्ग्रहालयको मुख्य ढोकाको ठिक अगाडि रहेको छ ।

२०५७ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा यस सङ्ग्रहालयको शिलान्यास गरिएको थियो भने २०६२ सालमा निर्माण सम्पन्न भएर यसको उद्घाटन गरियो तर आम मानिसका लागि २०६४ सालदेखि यो सङ्ग्रहालय खुला छ । करिब १० रोपनी क्षेत्रफलमा फैलिएको यस सङ्ग्रहालयमा सेनासम्बन्धी सम्पूर्ण सामग्री क्रमैले प्रदर्शनीमा राखिएको छ । सबै सामग्रीका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले प्रत्येक वस्तुमा सङ्क्षिप्त जानकारी लेखिएको छ । तत्कालीन राजा महेन्द्रलाई २०१७ सालमा बेलायती महारानी एलिजावेथ द्वितीयले उपहार दिएको कार पनि यहाँ अवलोकन गर्न पाइन्छ । 

यस सङ्ग्रहालयमा नेपाली सेनासँग सम्बन्धित इतिहासको जानकारी लिन सकिन्छ । सङ्ग्रहालयको पूर्व परमसेनाधिपति कक्षमा नेपाल एकीकरण अभियानसँगै राजा द्रव्य शाह, पृथ्वीनारायण शाहदेखि ज्ञानेन्द्रसम्मका राजाको तस्बिरसहित हरेक राजाका पालामा खडा भएका पल्टन तथा सैनिक कारबाहीका बारेमा सङ्क्षिप्त जानकारी राखिएको छ । 

मुख्य युद्ध कक्षमा १६१६ सालमा स्थापित नेपाली सेनाको इतिहासलाई झल्काउने खालको तैलीय चित्रमा लिगलिगकोटको युद्धदेखि मुख्य युद्धको झलक देख्न सकिन्छ । यस्तै किल्ला र गढकक्षमा नेपाल एकीकरणपूर्व र पछिका पुराना तथा ऐतिहासिक किल्लाको चिनारीसहितका तस्बिर राखिएका छन् । 


ऐतिहासिक तस्बिर सङ्कलन कक्षमा भने पहिलो र दोस्रो विश्वयुद्धमा नेपाली सेनाले गरेको तयारीलगायत मित्रराष्ट्रका सेनाध्यक्षको नेपाल भ्रमण, राजाहरूको भ्रमणका साथै विभिन्न पल्टनका पुराना तस्बिर र नेपाल–अङ्ग्रेज युद्धको परिचय साथ चित्र अवलोकन गर्न सकिन्छ । 

अन्य कक्षमा अतिरथी कक्ष, प्रधान सेनापति कक्ष, सैनिक पोसाक कक्ष, वीरयोद्धा कक्ष, हतियार कक्ष, मेहनत÷पसिना कक्ष रहेका छन् । जसमा १८१९ सालमा नेपाली सेनाको कम्पनी खडा भएपछि हालसम्म प्राप्त र प्रयोग गरिएका सैनिक पोसाकलगायत विविध विषयका तस्बिर, पदक, पुरस्कार आदि अवलोकन गर्न सकिन्छ । प्रधानसेनापति कक्षमा नेपाल इतिहासले काजी, कमान्डर इन चिफ र चिफ अफ आर्मी स्टाफका रूपबाट नियुक्त गरिएका हालसम्मका प्रधानसेनापतिको तस्बिर र सङ्क्षिप्त परिचय छ भने वीर योद्धा कक्षमा सैनिक इतिहासका वीरको सम्मान पाएका सैनिक योद्धालगायत दोस्रो विश्वयुद्धमा लडेका वीरहरूलाई समेटिएको छ । सैनिक पोसाक कक्षमा १८१९ सालमा नेपाली सेनाको कम्पनी खडा भएपछि हालसम्म प्रयोग गरिएका सैनिक पोसाकको नमुना राखिएको छ ।

गेहेन्द्रशमशेरले बेलायतबाट झिकाएको मार्टिन हेनरी राइफलको हतियार बनाउने मेसिनहरू पनि यस सङ्ग्रहालयमा सजाएर राखिएको छ । नेपाली सेनाले प्रयोग गरेको ऐतिहासिक स्काइभ्यान हवाईजहाज पनि प्रदर्शनीमा राखिएको छ । यस्तै पहिलो डोजर, पुरानो तोप, गोली बनाउने मेसिन, पानी तान्ने बडेमानको मेसिन आदि समेत त्यहाँ राखिएको छ । सङ्ग्रहालयको पछाडि वीर सैनिक स्मारकसमेत बनाइएको छ ।   

Author

त्रिचन्द्र श्रेष्ठ