• १६ असार २०८१, आइतबार

झमेलाबाट बच्न थ्रो अवे इमेल

blog

कुनै सामग्री अनलाइनमा पढ्न वा सेवा लिन विद्युतीय हुलाक अर्थात् इमेल ठेगाना अनिवार्य जस्तै भएको छ । के तपाईंलाई सम्झना छ इमेल ठेगाना दिनुपर्ने भएकाले तपाईंले कुनै सेवा नलिएर कुनै वेबसाइट बन्द गरेको ? हो प्रायः मानिस आफ्नो इमेल ठेगाना जहाँ पायो त्यहीँ राख्दा झन्झटमा परिने डरका साथै अनावश्यक सामग्रीले इनबक्स भरिने कुराले हत्तपत्त जुनसुकै वेबसाइटमा इमेल ठेगाना दिन चाहँदैनन् । 

अनलाइनमा व्यवसाय गर्नेहरूले आकर्षक सामग्री प्रस्ताव गरेर प्रयोगकर्ताबाट इमेलका साथै अन्य जानकारी बटुलेर इमेल मार्केटिङका लागि इमेल सूची बनाइरहेका हुन्छन् । डिजिटल प्लेटफर्ममा इमेल मार्केटिङका लागि इमेल सूची निर्माण गर्ने सामान्य अभ्यास हो । 

अनलाइन प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो निजी इमेल ठेगाना दिनु भनेको तपाईंको इन्टरनेटको गोपनीयता उल्लङ्घन भइहाल्यो भन्ने पनि होइन तर पनि के भन्न सकिन्छ भने यसरी कुनै पनि वेबसाइटमा लगइन गर्ने बहानामा आफ्नो इमेल ठेगाना दिनु भनेको इनबक्समा अप्रत्याशित इमेल, विज्ञापन इमेल, स्पाम इमेल, फिसिङ इमेलको भारका लागि मार्ग खोल्नु भने पक्कै हो ।

त्यसो भए यसको समाधान के त ? यस समस्याको एक मात्र समाधान भनेको अस्थायी (थ्रो अवे) इमेल प्रयोग गर्नु हो । असुरक्षित वेबसाइटमा लगइन गर्न वा प्रयोगकर्ताको गोपनीयता सुरक्षाका लागि थ्रो अवे इमेल सेवा सहयोगी बन्न सक्छ । यस्ता इमेल सेवा अनावश्यक इमेल, विज्ञापन इमेल, स्पाम इमेल, फिसिङ इमेलबाट बच्नका साथै डाटा सुरक्षाका लागि समेत सहयोगी बन्न सक्छन् । 

थ्रो अवे इमेल सेवाहरू टेम्पोररी इमेल, वन टाइम इमेल, ट्¥यास इमेल, एनोनिमस इमेल, युज एन्ड थ्रो इमेल, जोम्बी इमेललगायत थुप्रै नाममा प्रयोगमा रहेका छन् । नाम जे–जस्ता भए पनि यी सबै इमेलको काम अस्थायी रूपमा अस्तित्वमा रहनु हो । यस्ता अस्थायी इमेल १० मिनेटदेखि एक दिन वा सोभन्दा बढी अवधिका हुन सक्छन् । थ्रोअवे इमेलको आफ्नो समय सकिएपछि ती आफैँ निष्क्रिय हुन्छन् ।

थ्रो अवे इमेल

अस्थायी इमेल यस्तो सेवा हो जसले अस्थायी इमेल ठेगाना सिर्जना गर्न र इमेल प्राप्त गर्न त्यो ठेगाना प्रयोग गर्न अनुमति दिन्छ । अनलाइन प्लेटफर्ममा केही वेबसाइट हेर्न, टिप्पणी गर्न वा डाउनलोड गर्नुअघि इमेल ठेगाना साइनअप गर्नुपर्ने हुन्छ । त्यसका लागि डिस्पोजेबल अर्थात् अस्थायी इमेल चाहिन्छ । यी इमेल सेवा नै थ्रो अवे इमेल सेवा हो । 

तपाईंले जब कुनै वेबसाइटमा अकाउन्ट बनाउनुहुन्छ । ती वेबसाइटले तपाईंलाई इमेल ठेगाना, तपाईंको रुचि÷अरुचिलगायतका विभिन्न जानकारी माग्छन् । त्यसपछि ती वेबसाइटले तपाईंलाई दैनिक वा साप्ताहिक रूपमा इमेल पठाउन थाल्छन् । यस्ता इमेलमा उनीहरूले समाचार, सेल्स अफर, नोटिफिकेसन र अन्य विभिन्न सामग्री नियमित रूपले पठाउने गर्छन् । जुन तपाईंका लागि महत्वको विषय नहुन सक्छ । यति मात्र होइन त्यस्ता वेबसाइटले तपाईंको इमेल ठेगाना अन्य विज्ञापन (एड) कम्पनीलाई बिक्री समेत गर्न सक्छन् । 

यस्तो हुँदा प्रयोगकर्ताको डाटा डिजिटल संसारमा लिक हुन सक्छ । जसले गर्दा तपाईं स्पाम मेल, फिसिङ मेलका साथै ह्याकरको निसानामा समेत पर्ने जोखिममा पर्ने सम्भावना बढ्छ । यस किसिमका विभिन्न खालका झन्झटबाट बचाउन अस्थायी प्रयोगका लागि बनाइने इमेल एकाउन्ट नै थ्रो अवे इमेल एकाउन्ट हो । यस्ता एकाउन्टसँग तपाईंको कुनै वास्तविक सम्बन्ध हुँदैन ।

थ्रो अवे इमेलका फाइदा

पहिलो कुरा त थ्रो अवे इमेल अकाउन्ट बिनापैसा (निःशुल्क) वा पैसा तिरेर (सशुल्क) दुवै किसिमको प्रयोग गर्न सकिन्छ । 

अर्को कुरा भनेको यो इमेल केही समयका लागि मात्र हुने भएकाले लगइन पासवर्ड र इमेल ठेगाना सम्झिरहनु पर्दैन । 

अनलाइन प्लेटफर्ममा प्रयोगकर्ताको गोपनीयता सुरक्षाका लागि थ्रो अवे इमेल सेवा सहयोगी हुन्छन् । 

प्रयोगकर्तालाई असुरक्षित वेबसाइटमा लगइन गर्न सहज हुन्छ । 

यस्ता इमेल तपाईंले विभिन्न वेबसाइटमा रहेका विभिन्न सेवा जोखिमबिना परीक्षण गर्न सक्नुहुन्छ ।  

यस्ता इमेलको प्रयोगबाट तपाईंले सफ्टवेयर, एप, फाइल डाउनलोड गर्न, अनलाइनमार्फत सामान खरिद गर्न, अस्थायी सञ्चार गर्न सक्नुहुन्छ । 

थ्रो अवे इमेल ठेगाना कसरी प्रयोग गर्ने ?

सामान्य रूपमा प्रचलनमा रहेका अन्य इमेल जस्तै थ्रो अवे इमेल प्रयोग गर्न सकिन्छ । यसका लागि सम्बन्धित इमेल प्रदायकको वेबसाइटमा गएर यस्तो सेवा लिन सकिन्छ । यसका लागि यस्ता इमेल सेवा साइनअप र लगइन गर्नुपर्ने झन्झट हुँदैन ।  

टेन मिनेट मेलको प्रयोगबाट थ्रो अवे इमेल अकाउन्ट बनाउने तरिका :

  • सबैभन्दा पहिला १० मिनेट मेलको वेबसाइट https://10minutemail.net/  मा जाने । 
  • त्यहाँ तपाईंले तत्कालै एउटा इमेल ठेगाना पाउनुहुनेछ । 
  • त्यहाँ तपाईंले इनबक्स र टाइमर देख्नुहुन्छ । 
  • त्यहाँ जेनेरेट भएको इमेल ठेगानालाई कपी गर्नुहोस् र त्यसलाई आफूले चाहेको वेबसाइट वा आफ्नो अन्य कामका लागि प्रयोग गर्नुहोस् ।
  • त्यसपछि पेज रिफ्रेस गर्नुहोस् । इमेल तपाईंको इनबक्समा देखा पर्नेछ । यसलाई खोल्न क्लिक गर्नुहोस् ।
  • जब १० मिनेटको टाइमर सकिन्छ, तब त्यो इमेल अकाउन्ट र त्यसभित्रका सबै कुरा डिलिट हुन्छन् । १० मिनेटको टाइमर सकिनुभन्दाअघि तपाईंले ‘गिभ मी टेन मोर मिनेटस्’ मा क्लिक गरेर पुनः टाइमर बढाउन सक्नुहुन्छ । 
  • त्यस्तै तपाईंले अर्को नयाँ अकाउन्ट बनाउन ‘गिभ मी एनोदर इमेल एड्रेस’ मा क्लिक गर्न सक्नुहुन्छ ।
  • काम सकिएपछि तपाईंले यो वेबसाइटबाट बाहिरिएपछि तपाईंका सबै कुरा आफैँ डिलिट हुन्छन् । 

थ्रो अवे इमेलका बेफाइदा यस्ता छन् :

यस्ता इमेलका बेफाइदा पनि छन् । 

  • यो एक अस्थायी इमेल हो । त्यसैले यसमा रहेका कुनै पनि कुराको अन्य साधारण इमेलमा जस्तो स्थायी रेकर्ड हुँदैन । 
  • थ्रो अवे इमेलमा डिलिट भएका कुनै पनि कुरा रिकभरी गर्न सकिँदैन ।
  • यस्ता इमेल ठेगानाको प्रयोग केही समयका लागि मात्र हुन्छन् । 
  • यस प्रकारका इमेल ठेगाना सबै ठाउँमा प्रयोग नहुन सक्छन् । कतिपय वेबसाइटले अस्थायी इमेल ठेगानालाई प्रयोग गर्न प्रतिबन्ध गरेका समेत हुन्छन् ।  
  • महत्वपूर्ण सूचना भण्डारण गर्न स्थायी इमेल ठेगाना प्रयोग गर्न सकिँदैन ।   

प्रचलित १० थ्रो अवे इमेल साइट

https://10minutemail.net

https://www.guerrillamail.com

https://temp-mail.org/en

https://proton.me

https://maildrop.cc

https://www.emailondeck.com

https://addy.io

https://www.emailnator.com

https://www.mailinator.com

https://yopmail.com/en