• १८ मङ्सिर २०८२, बिहिबार

स्थानीय सकारका ‘गौरवका योजना’ घोषणामै सीमित

blog

गलकोट ४ डाँडाखेतबाट बरेङ जोड्न सडक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर १८ गते ।
पश्चिम बागलुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्त्वकाङ्क्षी योजना ल्याउनुभयो । नगरले ‘गौरवको योजना’ भनेपछि गण्डकी प्रदेश सरकारको ५० लाख र नगरपालिकाको ५० लाख गरी एक करोडको दरले लगानी गरियो । तर क्रमशः ती योजनालाई बजेट अभाव हुँदा काम सेलाएको छ ।

वडा नं. ४ को डाँडाखेतदेखि खरुवा, चमुवाहुँदै निलुवा जाने सडक अहिले एक किलोमीटर कालोपत्रे गरेपछि रोकिएको छ । अहिले निलुवातर्फ सवारीसाधन जानै नसक्ने अवस्था भएको स्थानीयको गुनासो छ । गत दसैँमा सडक मर्मत सडकको अवस्था अहिले खाल्डाखुल्डीले सवारी जान नसक्ने बनेका छन् ।

वडा नं. ९ को लोकमार्गदेखि रिघा जाने सडक पनि गौरवको योजना थियो । तर यो सडकको तीन खण्डको एक खण्ड मात्र स्तरोन्नती भएपछि अलपत्र परेको छ । दशकअघि ट्रयाक खुलेपनि सिधा यातायात नहुँदा कठिन यात्राले यहाँका बासिन्दाले सास्ती खेपेका छन् । रिघादेखि सिसाखानीहुँदै पाण्डवखानी र रणसिंकिटेनीसम्म जोड्ने सडक पनि अहिले अलपत्र छ । आजभोलि ती सडकमा सङ्घीय, प्रदेश र स्थानीय तह कहिँकतैबाट बजेट नपरेको वडा अध्यक्ष तेजबहादुर थापाले गुनासो गर्नुभयो ।

रिघालाई पर्यटकीय गन्तव्य बनाउने नगरपालिकाको लक्ष थियो । रिजाको बौद्ध गुम्बा घुम्न पुग्ने धेरैलाई सडक सहज बनाउने योजनामा बजेट बाधक बन्दै गएको वडा अध्यक्ष डम्मर श्रीषकै गुनासो छ । ‘‘मुख्य सडकमा खाल्डा, साँघुरो र भीरको बाटो भएकोले यात्रा गर्न डराउँछन् । नगरपरिषदले सडक बिर्सियो, संघ र प्रदेशको ध्यानाकर्षण गरिएको छैन’’ स्थानीय लालबहादुर घर्तीले भन्नुभयो, ‘‘गौरवका योजनालाई तीन वर्ष बजेट विनियोजन गरेको भए सडक सहज बन्ने थियो ।’’

नगरपालिकाले वडा गौरवका योजना ११ वटै वडामा ५० देखि ६५ लाख रुपियाँको योजना छनोट गरेकोमा वडा कार्यालय बनाउने बाहेक अन्य सबै काम अधुरा छन् । ती मध्ये वडा नं. २ मा सभाहल बनाउने कार्यक्रम भने पूरा भइ हरेक वर्ष नगर परिषद यहीँ हुने गरेको छ । वडा नं. ३ मा कोट मैदान जाने सडक अलपत्र परेपछि अहिले सघन सहरी विकास कार्यक्रममार्फत बनाउने काम भइरहेको छ ।

वडा नं. ५ हरिचौर बजारमा सडक ढलान गरिएको छ । हरिचौरका ग्रामीण बस्तीमा पदमार्ग र सडक स्तरोन्नतीको काम भइरहेको छ । चक्रपथ बनाउने, नगर बस चलाउने, सहश्रधारा र घुम्टेलाई पर्यटकीय क्षेत्र बनाउने काम अघि बढ्नै सकेनन् ।

नगरप्रमुख भरत शर्मा गैह्रेले बजेट पर्याप्त नभएको, आन्तरिक स्रोत बलियो नभएको र निरन्तर लगानी गर्न नसक्दा ती योजना अलपत्र भएको बताउनुभयो । तर जहाँसम्म काम भएका छन्, त्यहाँसम्म राम्रो भएको उहाँले दाबी गर्नुभयो । ‘‘वडा नं. ४ को निलुवा पुग्न सकिएन, वडा कार्यालयसम्म त स्तरीय सडकमा हिंडेका छौं’’ गैरेले भन्नुभयो, ‘‘कामलाई प्रभावकारी बनाउन पहल गरिरहेका छौं ।’’