माङा पुन्ही सकेपछि नेवार समुदायका मानिसले नेपाल संवत्को दोस्रो चाडको रूपमा यमरी पुन्ही मनाउँछन् । नेवार समुदायले परम्परादेखि मान्दै आएका हरेक चाडपर्व विज्ञान र प्रकृतिमैत्री छ । असार साउनमा रोपिएको धान मङ्सिर महिनामा काटेर भित्र्याएपछि नयाँ धानको चामलको पिठोबाट पहिलो परिकारको रूपमा बाफमा पकाएर यमरी खाने गरिन्छ । यमरी/योमारी एक परम्परागत नेवार परिकार हो, जुन विशेष गरी यमरी पुन्ही पर्वमा बनाइन्छ र खाइन्छ । यो परिकार काठमाडौँ उपत्यकाको नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचान हो । यमरी पुन्ही (पौष शुक्ल पूर्णिमा) का दिन यो परिकार बनाइन्छ । यो नेवार समुदायको प्रमुख पर्व हो । यस दिनले धान भित्र्याउने समयको समाप्ति जनाउँछ । मानिसले अन्नदेवी अन्नपूर्णा, धनका देवता कुबेर, देवता यमराजलगायत पूर्वजलाई यमरी चढाउने गर्छन् । नेवार समाजमा यसलाई समृद्धि, धन, आत्मशुद्धिसँग सम्बन्धित मानिन्छ । यमरीको ऐतिहासिकता निकै रोचक र सांस्कृतिक रूपमा महत्वपूर्ण विषय हो । यो केवल परिकार मात्र होइन, नेवार सभ्यता, कृषि संस्कार तथा धार्मिक आस्थासँग जोडिएको प्रतीकात्मक पहिचान पनि हो । नेवारको परम्परागत कथा अनुसार, पाँचौँ शताब्दीतिरको लिच्छवि कालका राजा अंशुवर्माको समयदेखि यो परम्परा सुरुवात भएको मानिन्छ । नयाँ सांस्कृतिक परम्परा, भोजन र विश्वाससँग गहिरो जोडिएको यो पर्व नेवार समुदायको सांस्कृतिक पहिचानको प्रतीक बनेको छ ।
भक्तपुरमा बस्ने एक किसान दम्पती–सुवर्णस्वर्ण नामका मानिसले पहिलो पटक यमरी बनाए । धान भित्र्याएर नयाँ अन्न (नवन्न) प्राप्त भएपछि उनले देवतालाई धन्यवाद दिन केही नयाँ परिकार बनाउन सोचे । चामलको पिठो, चाकु र तिल मिसाएर नयाँ आकारको रोटी बनाएर देवतालाई अर्पण गरे । देवता त्यस परिकारबाट खुसी भए र भने, “यस परिकारलाई ‘या’ (रोटी) र ‘मरी’ (मिठो) भनियोस्, र यसलाई पूजा र पर्वमा बनाइयोस् ।” त्यस दिनलाई पछि ‘यमरी पुन्ही’ नाम दिइयो, जसले ‘यमराजलाई अर्पण गरिएको मिठो रोटीको दिन’ भन्ने अर्थ जनाउँछ । दोस्रो किंवदन्ती अनुसार काठमाडौँ उपत्यकाका एक गरिब दम्पतीले आफ्नो पहिलो अन्नको फसलमा यमरी आविष्कार गरी छिमेकीलगायत देवतालाई चढाए । धनका देवता बागी रूप लिई प्रसन्न भए र खानालाई मनपर्ने पवित्र रोटी घोषणा गर्दै जोडीलाई धन र समृद्धिको आशीर्वाद दिए । जसका कारण यो पर्वमा यमरी बनाउने चलन आएको हो । यमरी पुन्ही वर्ष दिनमा लगाएको धान भिœयाउने अन्तिम दिन (पौष शुक्ल पूर्णिमा) सँग सम्बन्धित छ । नयाँ अन्नको रूपमा धानबाट बनेको चामल प्रयोग गरेर यमरी बनाइन्छ, जसले समृद्धि, अन्न र धनको प्रतीक जनाउँछ । यसरी यो पर्व कृषि चक्र र प्रकृति पूजासँग पनि जोडिएकाले प्रकृति र कृषि उत्पादनप्रति कृतज्ञता प्रकट गर्ने माध्यमको रूपमा चलनचल्तीमा आएको हो ।
हिउँद याममा खेतमा काम गर्ने किसानलाई बढी मात्रामा चिसोबाट बच्न न्यानो र ताप शक्तिका लागि चाकु तथा तिलसहित बफाएर पकाएको यमरी खान जरुरी छ । शरीरका लागि आवश्यक ताप शक्ति पाउन समाजको विकाससँगै यमरी खाने प्रचलन सुरु भएको मान्न सकिन्छ । यो पर्वमा अन्नपूर्णा देवी, कुबेर र यमराजको पूजा गरिन्छ । मानिसले जीवन, मृत्यु र पुनर्जन्मको चक्र सम्झँदै आफ्नो आत्मशुद्धिको कामना गर्छन् । पारिवारिक बन्धनमा बाँधिएर यो पर्व मनाउने भएकाले नेवार समाजमा यो पर्व परिवार एकता र समुदायिक मेलमिलापको प्रतीक हो – जहाँ घरका साना बच्चादेखि बुढापाकासम्म सबै सदस्य परिवार मिलेर सहभागी भएर यमरी बनाउँछन् । यसले पारिवारिक एकता, सहकार्य र स्नेह बढाउने काम गर्छ । गाउँ वा टोलका मानिसहरू मिलेर पनि यमरी बनाउने परम्परा छ, जसले सामुदायिक आत्मीयता र सहयोग भाव प्रकट गर्छ ।
यमरीको आकार सामान्यतया माछाको मुख वा शङ्ख जस्तो आकारको हुन्छ । यसको टुप्पो (नोक) भागले ज्ञान र आत्मबोध जनाउँछ । यमरी भित्रको चाकु (गुड) ले जीवनको मिठास र गर्मीको प्रतीक हो । जीवनशक्ति र चामलको बाहिरी खोल ले शुद्धता र धैर्यता जनाउँछ । यमरी बाफमा पकाउने प्रक्रिया शुद्धीकरण र आध्यात्मिक आत्मसुधारको प्रतीक मानिन्छ । यसरी यमरी जीवन, मृत्यु र पुनर्जन्मको दार्शनिक अर्थ बोकेको परिकार हो । नेपालीका विभिन्न ठुला चाडपर्व सकिएपछि काठमाडौँ उपत्यकामा सुरु हुने जाडो यामबाट बच्न शरीरमा ताप तथा ऊर्जा प्राप्तिका लागि यो पर्व मनाएको हुनु पर्छ ।
भूगर्भीय हिसाबले यस पूर्णिमाको दिनदेखि दिनहरू क्रमशः लम्बिँदै जान्छ । जसले गर्दा मानिसमा अझ बढी मेहनतका लागि सकारात्मक ऊर्जा पुग्छ भन्ने विश्वास छ । चामलको पिठोबाट गणेश, कुबेर, लक्ष्मी जस्ता कलाकृति बनाउनु यस पर्वको विशेषता हो । किसानले आफूभित्र लुकेको कलालाई चामलको पिठोमार्फत मूर्ति निर्माणको प्रस्तुति दिने दुर्लभ परम्परा यमरी पुन्हीभित्र रहेको छ । प्रतिस्पर्धा नभए पनि एउटा कलाकारले अर्को कलाकारसम्म आफू बढी सक्षम भएको साबित गर्ने अवसर हो । चामलको पिठोद्वारा गणेश, कुबेर, लक्ष्मी जस्ता कलाकृति बनाउनुले हामीभित्र लुकेको सिप, कौशल र जाँगरिलोपन उजागर गर्छ । आज यमरी नेवारहरूको मात्र होइन, नेपालको सांस्कृतिक सम्पदाको प्रतीक बनिसकेको छ । यमरी नेपाली खानाको विविधता र मौलिकता देखाउने एउटा प्रमुख उदाहरण हो । विदेशमा बस्ने नेवार समुदायले पनि यमरी पुन्ही मनाउँछन्, जसले प्रवासी नेपालीबिच सांस्कृतिक निरन्तरता कायम राखेको छ ।
यमरी नेवार सभ्यताको अन्नप्रेम, परिवारप्रेम, धर्म–संस्कृति प्रेमको प्रतीक हो । यो परिकारले भोजन र भावनाको अद्भुत सङ्गम देखाउँछ, जसले संस्कृति र स्वादलाई एउटै धागोमा बाँधेको छ । यमरी पुन्ही एक पर्व हो, जुन नेवार समुदायले अन्नकी देवी अन्नपूर्णालाई पूजा गर्दै यमरी बनाउँछ । यो पर्वलाई धान्य पूर्णिमा पनि भनिन्छ । चामलको पिठो मुछेर माथिल्लो भाग चुच्चो र मुनितिर गोलाकारवृत्त बनाई यमरी अर्थात् मनपर्ने रोटीमा चाकु, घिउ, नरिवल, खुवा र अन्य भराइ सामग्री राखेर बाफमार्फत पकाइन्छ । यो रोटी अहिले देश विदेशमा प्रमुख आकर्षण बनेको छ । नेवार समुदायका कोही कोही जातिले यमरी पुन्हीलाई ज्यापू दिवसको रूपमा समेत मनाउँदै आएका छन् ।