• ११ पुस २०८१, बिहिबार

सिद्धार्थ गौतम २८औँ बुद्ध

blog

बौध धर्ममा गौतम बुद्धअघि २७ बुद्ध थिए भन्ने धेरै मानिसलाई थाहा नहुन सक्छ । अझ काठमाडौँ उपत्यकाको नेवार समुदायका बौद्ध धर्ममार्गीले गौतम बुद्धभन्दा दीपङ्कर बुद्धलाई विशेष रूपमा मान्दछन् । जबकि बौद्ध धर्मावलम्बी ‘थेरवाद’ (हीनयान) सम्प्रदाय लुम्बिनीमा सिद्धार्थ गौतम जन्मनुअघि २७ जना बुद्धको वर्णन छ । यद्यपि गौतम बुद्धभन्दाअघि जन्मेका बुद्धको जन्म, थितिमिति, जन्मस्थान र उनीहरू बाँचेको आयु भने काल्पनिक लाग्दछ । 

गौतम बुद्धअघिका बुद्धको शरीरको लम्बाइ ८८ हात लामो र आयु लाख वर्षसम्म निर्धारण गरिएको छ । बौद्ध धर्मावलम्बी थेरवाद सम्प्रदायको पवित्र ग्रन्थ त्रिपिटकको सुत्तपिटकमा २८ बुद्धको नाम र वर्णन सङ्क्षिप्तमा निम्नानुसार छ :

१. तण्हङ्कर (तन्नाकार) : तण्हङ्कर बुद्धलाई पहिलो बुद्ध मानिए पनि उनीबारे विस्तृत जानकारी पाइँदैन । 

२. मेधङ्कर  : मेधङ्कर बुद्धबारेमा पनि खासै केही भेटिँदैन । 

३. शरङ्गकर  : शरणङ्कर बुद्ध बारे पनि जानकारीको अभाव छ । 

४. दीपङ्कर : दीपङ्कर बुद्धको जन्म राजा सुदेवो र रानी सुमेधाको कोखबाट वन्धुमती (रम्मवती) नगरमा भएको थियो भनिन्छ । दीपङ्कर बुद्धको विवाह पद्मासँग भएको थियो । उनीहरूबाट सुपुत्र उसभखण्ड (स्वागत) को जन्म भयो । दीपङ्करले गृहत्यागसहित १० महिनाको साधनापछि पिपलको वृक्षमुनि बुद्धत्व प्राप्त गरेका थिए । भिक्षु समङ्गल स्थविर, तिस्स स्थविर र भिक्षुणी नन्दाथेरी र सुनन्दथेरी दीपङ्करका अनुयायी थिए । दीपङ्करका उपासक उपासिकाहरूमा तपुस्स, भल्लुक, सिरीमा र शोणा मानिएको छ ।  

काठमाडौँ उपत्यकामा नेवार बौद्धमार्गी समुदायमा दीपङ्कर बुद्ध (दीपक लिएको) को विशेष प्रभाव छ । काठमाडौँमा सबैभन्दा बढी द€पिङ्कर बुद्धकै पूजा आराधना  हुन्छ । स्वयम्भू महाचैत्यमा हारती माताको पश्चिममा  दीपङ्कर बुद्धको मूर्ति रहेको छ । स्वयम्भू भुरङ्ख्यः (ल) मा मनाइने सम्यक पूजामा दीपङ्कर बुद्धको विशेष पूजा गरिन्छ । यस्तै इटुम्बहालमा दीपङ्कर बुद्धको पूजा गर्ने चलन छ । 

ललितपुरको नागबहालबाटे दीपङ्खा (दीपङ्कर) यात्रा अहिले पनि  जारी छ । भक्तपुरमा हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन पञ्चदान (पञ्जदान) पर्व धुमधामसाथ मनाइन्छ । बौद्ध धर्मावलम्बी नेवार समुदायको दोस्रो ठूलो पर्वका रूपमा मनाइने पञ्चदानमा भक्तपुरका प्रसन्नाशील महाविहार, झौरवही महाविहार, चर्तुब्रह्म महाविहार, थधुबही महाविहार र कुथुबही महाविहारबाट दीपङ्कर बुद्धलाई निकालेर परिव्रmमा गराइन्छ । यस दिन पञ्चदानमा वज्राचार्य, शाक्य र भिक्षुहरूलाई भिक्षा दिइन्छ । 

काठमाडौँमा मात्र नभई दीपङ्कर बुद्धका मूर्ति अफगानिस्तान, पाकिस्तान, भारत, म्यानमार, 

श्रीलङ्का, भियतनाम, कोरिया, थाइल्यान्ड, जापान, चीन, मङ्गोलियालगायतका देशमा पनि छन् । अफगानिस्तानको बामियानमा दीपङ्कर बुद्धको ठूलो मूर्ति थियो  जसलाई तालिबानले सन् २००१ मा ध्वस्त पारेका थिए । 

५. कौण्डण्य : राजा सुनन्द र रानी सुजाताका सुपुत्र कौण्डण्य बुद्धको जन्म भएको विश्वास छ । उनको विवाह सुचिदेवीसँग भएको थियो । कौण्डण्य र सुचिदेवीबाट सुपुत्र विजितसेन जन्मेका थिए । कौण्डण्यले गृहत्याग गरे । १० महिना लामो साधनापछि उनले वैशाख पूर्णिमाका दिन बुद्धत्व हासिल गरेका थिए । उनका पहिलो अनुयायीमा उनीसँगै गृहत्याग गर्ने भिक्षु भद्र स्थविर, सुभद्र स्थविर र भिक्षुणी तिस्साथेरी र उपतिस्साथेरी थिए । उनका शोण र उपशोण उपासक तथा नन्दा र सिरीमा उपासिका थिए । अनिरुद्ध स्थविरलाई उनको सहायक मानिएको छ ।  

६. मङ्गल बुद्ध : मङ्गल बुद्धको जन्म राजा उत्तरा र रानी उत्तरादेवीको कोखबाट उत्तर देशमा भएको थियो । उनको विवाह यशवतीसँग भयो । मङ्गल र यशवतीका सुपुत्र शीवल थिए । मङ्गल बुद्धले गृहत्याग गरी आठ महिना लामो साधनापछि बुद्धत्व हासिल गरे । भिक्षु सुदेव, धम्मसेना र भिक्षुणी सिवलाथेरी र अशोकाथेरी उनका शिष्य थिए । 

७. सुमन बुद्ध : राजा सुदत्त र रानी सिरिमाको कोखबाट मेखला देशमा जन्मेका सुमन बुद्धको विवाह वतंसिकासँग भएको थियो । अनुपम नामक उनीहरूका एक सुपुत्र थिए । गृहत्याग गरेका सुमन बुद्धले १० महिनाको साधनापछि बुद्धत्व प्राप्त गरे । भिक्षु शरण, सावितत्थ तथा भिक्षुणी शोणाथेरी र उपशोणाथेरी उनका अनुयायी थिए । 

८. रेवत बुद्ध : रेवत बुद्धको जन्म राजा विपुल र रानी विपुलाको कोखबाट सुधन्यवती देशमा भएको थियो । उनको विवाह सुदस्सनासँग भयो । उनका वरुण नामका छोरा थिए । उनले गृहत्याग गरी सात महिनाको साधनामा बुद्धत्व प्राप्त गरे । उनले साधुदेवीले दान दिएको क्षीर भोजन गरेका थिए । वरुणाराम बगैँचामा ऋद्धि प्रातिहार्य देखाई उनले धर्मचव्रm प्रवर्तन गरे । भिक्षु वरुण, ब्रह्मादेव, भिक्षुणी भद्दाथेरी र सुभद्राथेरी उनका अनुयायी थिए । 

९. सोभित बुद्ध : सोभित बुद्धको जन्म राजा सुधम्म र रानी सुधम्माको कोखबाट सुधम्मा देशमा भएको थियो । उनको विवाह मखिलादेवीसँग भयो । उनीहरूबाट सिंहकुमार नामक छोरा जन्मिए । उनले गृहत्याग नगरी दरबारमै सात दिनसम्म ध्यान गर्दा बुद्धत्व पाएका थिए । 

१०. अनोमदस्सी बुद्ध : अनोमदस्सी बुद्ध राजा यसवा रानी यसवतीका सुपुत्र थिए । उनको जन्म चन्दवती देशमा भएको थियो । उनको विवाह सिरिमासँग भयो । अनोमदस्सी र सिरिमाबाट पुत्र उपवानको जन्म भएको थियो । अनोमदस्सीले गृहत्याग गरी १० महिना तपस्या गरेपछि बुद्धत्व प्राप्त गरेका थिए । 

११. पदुम बुद्ध : पदुम बुद्धको जन्म राजा असम र रानी असमाको कोखबाट चम्पक देशमा भएको थियो । भिक्षु साल, उपसाल र भिक्षुणी राधा र सुराधा उनका अनुयायी थिए ।

१२. नारद बुद्ध : धन्यवती देशमा जन्मेका नारद बुद्ध राजा सुदेव र माता रानी अनोमादेवीका पुत्र थिए । उनको विवाह विजितसेना सँगको थियो । उनीहरूबाट छोरा नन्दुत्तर जन्मेका थिए । गृहत्यागसहित ध्यानपछि उनले बुद्धत्व हासिल गरे । 

१३. पद्मुत्तर बुद्ध : पदमुत्तर बुद्धको जन्म राजा आनन्द र रानी सुजातादेवीको कोखबाट हंसवती देशमा भएको थियो । वसुदत्तासँग विवाह भएपछि उनीबाट छोरा उत्तम जन्मिए । उनले बुद्धत्व प्राप्त गरेका थिए । 

१४. सुमेध : सुदस्सन देशका राजा सुदत्त र रानी सुदत्ताको कोखबाट सुमेध बुद्धको जन्म भएको थियो । उनको विवाह सुमनासँग भयो  । उनीहरूको पुनर्वसु नामका एक छोरा थिए । 

१५. सुजात : सुजात बुद्धको जन्म सुमङ्गल देशमा राजा उगता र रानी प्रभावतीको कोखबाट भएको थियो । उनको विवाह सिरिनन्दासँग भयो । उनीहरूबाट उपसेनको जन्म भएको थियो । भिक्षु सुदस्सन, सुदेव र भिक्षुणी नागा र नागसमाला उनका शिष्य थिए । 

१६. पियदस्सी : पियदस्सी बुद्धको जन्म राजा सुदत्थ र रानी चन्दादेवीको कोखबाट सुधन्य देशमा भएको थियो । उनको विवाह विमलासँग भयो । उनीहरूका कन्चनवेल नामका पुत्र थिए । छ महिनाको ध्यान साधनापछि उनले ज्ञान हासिल गरेका थिए । 

१७. अत्थदस्सी : अत्थदसी बुद्धको जन्म राजा सागल र रानी सुदस्सनाको कोखबाट सोभन देशमा भएको थियो । उनको विवाह विशाखासँग भयो । उनीहरूबाट सेन नामक छोरा जन्मिए । आठ महिना लामो तपस्यापछि उनले बुद्धत्व प्राप्त गरेका थिए । 

१८. धम्मदस्सी : धम्मदस्सी बुद्धको जन्म राजा शरण र रानी सुनन्दाको कोखबाट बुद्धशरण देशमा भएको थियो ।  । उनको विवाह विचिकोलीसँग भयो । उनीहरूबाट पुण्यवधन नामका छोरा जन्मिए । सात दिन लामो ध्यानपछि उनले ज्ञान प्राप्त गरे । 

१९. सिद्धत्थ : सिद्धत्थ बुद्धको जन्म राजा उदेन र रानी सुफस देवीको कोखबाट बेभारमा भएको थियो । उनकी पत्नीको नाम सोमनसा थियो । सिद्धत्थ र सोमनसाका पुत्र अनुपम थिए । १० महिना लामो ध्यान साधनापछि उनले सिद्धि प्राप्त गरेका थिए । 

२०. तिस्स : तिस्स बुद्धको जन्म राजा जनसन्ध र रानी पदुमाको कोखबाट खेमक नगरमा भएको थियो । उनको विवाह सुभद्दासँग भयो र उनीहरूबाट आनन्द नामका छोरा जन्मिए । आठ महिना लामो साधनापछि उनले ज्ञान हासिल गरेका थिए । 

२१. फुस्स : फुस्स बुद्धको जन्म राजा जयसेन र रानी सिरिमाको कोखबाट काशी नगरमा भएको थियो । उनकी पत्नीको नाम किसागौतमी थियो । छ महिना लामो साधनापछि उनले ज्ञान प्राप्त गरेका थिए । 

२२. विपस्सी : विपस्सी बुद्धको जन्म राजा बन्धुमणि र रानी बन्धुमतीको कोखबाट बधुमती नगरमा भयो । उनकी पत्नीको नाम सुदस्सना (सुदर्सना) थियो । संवतकन्द (समवत्तक्खन्द) उनीहरूका एक पुत्र थिए । आठ महिना लामो साधनापछि पातली वृक्षमुनि उनलाई बुद्धत्व प्राप्त भएको थियो । विपस्सी बुद्धलाई विप्पस्यनाको प्रवर्तक मानिएको छ ।

स्वयम्भू महापुराणमा विपस्सी बुद्धले काठमाडौँको विशाल दहलाई परिक्रमा गरी नागार्जुनमा तपस्या गरेर रोपेको बिउबाट कमलको फूल फुलेको र त्यसैबाट स्वयम्भू उत्पन्न भएको वर्णन छ । 

२३. सिखी : सिखी बुद्धको जन्म राजा वरुणवत (अरुण) र रानी प्रभावतीको कोखबाट अरुणवती नगरमा भयो । उनको विवाह सर्वकामा (शब्दकामा) सँग भएको थियो । उनीहरूबाट पुत्र अतुलको जन्म भयो । आठ महिना लामो साधनापछि उनले बुद्धत्व प्राप्त गरेका थिए । 

२४. बेस्सभु : बेस्सभु बुद्धको जन्म राजा सुपतित (सोपतित) र रानी यशवती (यस्वी) को कोखबाट अनोमा (अनुम) नगरमा भयो । उनको विवाह सुचिता (सुचित्रा) सँग भएको थियो । उनीहरूबाट सुप्रबुद्धको जन्म भयो । छ महिना लामो साधनापश्चात् उनलाई बुद्धत्व प्राप्त भएको थियो । 

२५. ककुसन्ध (क्रकुच्छन्द) : ब्रह्माण कुलमा जन्मेका ककुसन्ध बुद्धको पिताको नाम अगिदत्थ (अग्निदत्त) र विशाखा थियो । ककुसन्ध खेमावती नगरमा जन्मेका थिए । उनको विवाह रोचिनी (लोचनी) सँग भयो । उनका पुत्रको नाम सहितउत्तर थियो । भिक्षु विदुर, सजीव र भिक्षुणी सामा र चम्पका उनका अनुयायी थिए । सम्राट अशोकले  लुम्बिनी आउँदा कोटिहवा (खेमावती) मा ककुसन्घ बुद्धको जन्मस्थलमा स्मारक (स्तम्भ) निर्माण गरेका थिए, जसको अवशेष अझै छ । 

२६. कनकमुनि (कोनागमन) : कनकमुनि बुद्धको जन्म पनि ब्राह्मण कुलमा नै भएको थियो । उनका पिताको नाम यजदत्त (धन्यदत्त) र माताको नाम उत्तरा थियो । भोगवती (हेमावती) नगरमा जन्मेका कनकमुनिको विवाह रुचिगतासँग भयो । छ महिना लामो साधनापछि उनले ज्ञान हासिल गरेका थिए । नेपालको निगाली सरोवरमा रहेको सम्राट अशोकको इसापूर्व ३०० वर्षअघिको  स्तम्भमा ‘वुधस् कोनागमनस’ भनेर उल्लेख छ । 

२७. कस्सप : पिता ब्रह्मदत्त (वस्नदत्त) र माता धनवतीका पुत्र कस्सप बुद्धको जन्म ब्राह्मण कुलमा वाराणसी नगरी (काशी) मा भएको थियो । उनको विवाह सुनन्दासँग भयो । उनका विजित नामका पुत्र थिए । दरबारमै एकहप्ता लामो ध्यानपछि उनले बुद्धत्व प्राप्त गरेका थिए । उनले प्रथम प्रवचन सारनाथमा दिए । उत्तरप्रदेश श्रावस्ती, पश्चिम टन्दवामा कस्सप बुद्धको स्तूप भेटिएको थियो । 

सातौँ शताब्दीमा भारतको नालन्दा विश्वविद्यालय आएका ह्वेनसाङ बोध गया पुगेका थिए । जहाँ उनले पल्लमा कस्सप बुद्धको स्तूप देखेको कुरा आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । काठमाडौँ उपत्यकाको खास्ति चैत्य (बौद्धनाथ स्तूप) मा कस्सप बुद्धको अस्थि रहेको जनविश्वास छ । 

२८. सिद्धार्थ गौतम : कपिलवस्तुको लुम्बिनीमा राजा शुद्धोदन रानी मायादेवीको कोखबाट जन्मेका सिद्धार्थ गौतमको विवाह यशोधरासँग भएको थियो । सिद्धार्थ र यशोधराबाट पुत्र राहुलको जन्म भयो । गृहत्याग गरी छ वर्ष लामो ध्यान साधनापछि सिद्धार्थ गौतमले बुद्धत्व हासिल गरेका थिए । त्यसपछि उनी सिद्धार्थ गौतम र पछि गौतम बुद्ध बने । भिक्षु सारिपुत्र, मौदगल्यान र भिक्षुणी खेमा र उप्पलवण्णा उनका शिष्य थिए । 

गौतम बुद्धले पाएको ज्ञानलाई ‘बोधि’ भनिन्छ । बोधि प्राप्तिपछि नै संसारबाट छुटकारा पाइने विश्वास गरिन्छ । बोधिका तीन श्रेणी ‘श्रावकबोधि’, ‘प्रत्येकबोधि’ र ‘सम्यकसंबोधि’ रहेका छन् । जहाँ ‘सम्यकसंबोधि’ लाई विशेष आदर्शका रूपमा लिइन्छ । बुद्ध भन्नाले बोधिप्राप्त अर्थात् अन्तिम सत्य साक्षात्कार गरेको महामानवलाई बुझाउँछ । 

गुरु नथापी आफैँ साधना गरेर बुद्धत्व प्राप्त गरी अन्य प्राणीलाई पनि दुःखनिरोधको मार्गदर्शन गर्नेलाई ‘सम्यक सम्बुद्ध’ भनिन्छ । त्यसैले गौतम बुद्धभन्दाअघि अनेक ‘सम्यक सम्बुद्ध’ हरू रहेको र भविष्यमा पनि अरू ‘सम्यक सम्बुद्ध’ हरू जन्मने विश्वास गरिन्छ । 

सिद्धार्थ गौतमले छ वर्षको कठिन तपस्यापछि बुद्धत्व प्राप्त गरे र उनी ‘सम्यक सम्बुद्ध’ बनेका हुन् । 

बुद्धले ज्ञान प्राप्तिपछि दिएका प्रवचन र सन्देश पछि गएर थेरवादका रूपमा विकसित भए । बुद्धको निर्वाणको सयौँ वर्षको अन्तरालमा दोस्रो साङ्घायनमा महायानको सम्प्रदाय देखा परेको थियो । त्यसपछि बौद्ध धर्ममा थेरवाद (हीनयान) र महायान गरी दुई समुदाय अगाडि आएका हुन् । बौद्ध धर्ममा हीनयान (थेरवाद) प्राचीन सम्प्रदाय हो । पाली भाषामा रहेका बुद्धका सन्देशलाई नै पछि थेरवाद (हीनयान) रूपमा अनुशरण गरियो । 

बुद्धको शरीर रूपको कल्पना गरी पूजाआजा अघि बढाउनेहरूलाई ‘महायान’ का रूपमा चिनिन थालियो । महायान सम्प्रदायका अनुयायीले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्धत्व प्राप्त गर्न सकिने विश्वास राख्दछन् । 

 

Author

रतन भण्डारी