बराम जातिको मुख्य थलो गोरखा मानिन्छ । यहाँबाट बसाइँ सरी तनहुँ, धादिङ, मकवानपुर, नवलपरासी, चितवन, नुवाकोट, ललितपुर, बारा र सर्लाहीमा बराम जातिको बसोबास भएको पाइन्छ ।
नेपाल सरकार, आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन–२०५८ अन्तर्गत सूचीकृत ५९ आदिवासी जनजातिमध्ये अतिसीमान्तकृत समूहमा बराम जाति पर्दछ । बराम जाति सोझा र सरल हुन्छन् । यो जातिको आफ्नै भाषा, संस्कृति, रहनसहन, जीवनपद्धति र सामाजिक मूल्य मान्यता छन् ।
हरिचन छन्त्याल र जगतबहादुर बराम लिखित बराम जातिको चिनारी पुस्तकका अनुसार परापूर्वकालदेखि यो जाति गोरखा र लमजुङ जिल्लाको सिमाना भएर बग्ने चेपे नदीको पूर्व र गणेश हिमालबाट उत्पत्ति भएर धादिङ र गोरखा जिल्लाको सिमाना हुँदै बग्ने बूढीगण्डकी नदीको पश्चिमपट्टि बीचको क्षेत्रमा बसोबास गर्दै आएका छन् । बराम जातिको मुख्य बसोबास पश्चिम गोरखा र लमजुङको सिमानाहुँदै बग्ने चेपे नदी मानिन्छ । त्यस्तै गोरखा र धादिङको सिमानाहुँदै बग्ने बुढीगण्डकी नदीबीचको पहाडी भू–भागमा बराम जातिको बसोबास छ ।
बरामको भाषालाई ‘बालकुरा’ भनिन्छ । बालकुराको अर्थ मान्छेको भाषा भन्ने लाग्दछ । गैरबरामले बालकुरा भने पनि भाषाविज्ञले बराम भाषा भन्ने गरेका छन् । बराम भाषाको नजिकको सम्बन्ध थामी भाषा रहेको छ । नेपालको १२/१३ जिल्लामा बराम जातिको बसोबास भए पनि गोरखाको ताकुकोट र पन्द्ररुङ गाउँमा मात्र बराम भाषा बोलिन्छ । बराम भाषालाई भोट–बर्मेली परिवारमा समेटिएको छ ।
जडीबुटीमै बराम विश्वास
बराम जातिमा धामीझाँक्रीप्रति विश्वास गर्ने अधिक पाइन्छ । परिवारका कोही सदस्य बिरामी भएमा अक्षतापाती लिएर तान्त्रिक विद्या जानेका धामीकोमा जाने प्रचलन छ । धामीझाँव्रmीले तान्त्रिक विद्यामार्फत लागोभागो, बोक्सी र देवीदेवता लागेको ठम्याएर दोबाटोमा धजा मन्साउने, झारफुक गर्ने, बुटी मन्तरेर बाँध्ने साथै भाकल राखिदिने गर्छन् । तथापि लामो समय बिरामी ठिक नभएमा, बिरामी गम्भीर भएमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा लैजाने गरिन्छ । बराम जातिमा औषधि उपचारका लागि रैथाने ज्ञान उपयोग गरिन्छ । जडीबुटी र बोटबिरुवाका जरा, पात, डाँठ, बोक्राबाट औषधि बनाएर बिरामीलाई खुवाउने बराम जातिका रैथाने ज्ञानको अध्ययन र अनुसन्धान गर्न आवश्यक छ ।
पछिल्लो समय धामीझाँक्रीप्रति घट्दो विश्वासले जडीबुटीसम्बन्धी बराम जातिको रैथाने ज्ञान र परम्परागत उपचार पद्धति लोप हुने अवस्थामा छ ।
कृषि र पशुपालन नै बराम जातिको जीविकाको प्रमुख माध्यम हो । बराम जातिमा आफ्नै खालको सामाजिक मान्यता र नियम छन् । उनीहरूले आफ्नो समाजलाई व्यवस्थित गर्न तीन तहको प्रशासनिक एकाइ परम्परागत रूपमा अघि बढाएको पाइन्छ । बराम समुदायको एउटा गाउँमा एक काजी प्रमुखका रूपमा रहेको हुन्छ । उसले बराम बस्तीमा सामाजिक न्याय दिने कार्य गर्दछ । त्योभन्दामुनि गाउँ तहमा थरीको जिम्मेवारीमा मुखिया हुन्छ । गाउँटोलको रेखदेख गर्ने र कर उठाउने कार्य उसले गर्दछ । टोल वा खलकको रेखदेख गर्ने काम थरीले गर्दछ । त्यसपछि मुखियाको सहयोगीका रूपमा द्वारे र सञ्चार संवाहकका रूपमा मिजार रहने परम्परा रहेको छ । तथापि यो सामाजिक परम्परा विस्तारै मासिँदै गएको देखिन्छ । यसखाले सामाजिक परम्परा बरामको किपटसँगै सुरु भएको विश्वास छ ।
बराम जाति मुख्यतः प्रकृतिपूजक भए पनि उनीहरूमा हिन्दु धर्मको प्रभाव ज्यादा पाइन्छ । देवी, देवता, भूतप्रेतप्रति विश्वास राख्ने बराम जातिले पुरोहित वा पुजारी वा धार्मिक नेतालाई डाङ्ग्रे भन्छन् । बराम जातिले भाले र पोथी मण्डली पूजा, झ्यालक्नी पूजा, थानी पूजा, धर्मसिङ पूजा, कुलायन पूजा, चण्डी पूजा, वायु पूजा, आशामुखी पूजा, वीर पूजा, भङ्गेरी पूजा, भुमे पूजा, अगेन पूजा, वनझाँक्री पूजा, संसारी पूजा, गोठ पूजा, आइतबारे पूजा, दोबाटो पूजा, हटेले पूजा गर्छन् ।
बराम जातिले चण्डीलाई विशेष रूपमा मनाउँछन् । माघेसङ्क्रान्ति, साउनेसङ्क्रान्ति, नागपञ्चमी, असार १५, जनै पूर्णिमा, तीज, दशैँ, तिहार, कुशेऔँसी, न्वागी, श्रीपञ्चमी, फागुपूर्णिमा, चैते दशैँ, पुस १५ उनीहरूले मनाउने गरेका छन् ।
मेलापर्वमा जाने र गीत मनोरञ्जनमा रमाउने बराम जातिले प्रायः जात्रा छुटाउँदैनन् । उनीहरूले पाँउदुरे गीत र घाटु नाचलाई खुवै प्रिय ठान्छन् । बराम जातिले देवीथान, माईकोट, बाहुनबेँसी, थुमी, ग्याजी जात्रालाई विशेष रूपमा सहभागी भई मनाउने गर्दछन् ।
परम्परागत ज्ञानको भण्डार
बराम जातिका महिला र पुरुष दुवैमा परम्परागत ज्ञान, सिप र प्रविधिको अथाह भण्डार छ । बराम जातिका पुरुषमा ढुङ्गाको जाँतो, काठका ओखल, ढिकी, हलो, जुवा, खुर्पेटो बनाउने ज्ञान छ । बाँस वा निगालोको प्रयोग गरी डोको, डालो, थुन्से, भकारी, चिता, कोक्रोलगायत सामग्री बनाउने सिप बराम जातिका पुरुषमा छ । उनीहरूले अल्लो तथा बाबियोबाट दाम्लो, बरियो, नाम्लो बुन्ने गर्दछन् । बाँस र निगालोबाट धनु र वाँण बनाउने सिप र ज्ञान उनीहरूमा छ ।
बराम जातिका महिलामा परालबाट गुन्द्री, मकैका खोस्टाबाट चकटी बनाउने सिप छ । अल्लोलाई स्थानीय तरिकाबाट प्रशोधन गरी गादा, थैलो बनाउने ज्ञान छ । ऊनी धागोबाट मजेत्रो, झोला, टोपी, गलबन्दी बुन्ने ज्ञान कतिपय बराम महिलामा पाइन्छ । उनीहरूमा जाँडमा राख्ने मर्चा बनाउने, जाँड राख्ने र रक्सी बनाउने ज्ञान र सिप पाइन्छ ।
राजनीतिमा पहुँच कम
राजनीतिक रूपमा यो समुदाय पछाडि नै छ । पञ्चायतकालदेखि नै यो समुदाय आफ्नो जातिको बसोबास प्रभावित क्षेत्रमा राजनीतिक पहुँचमै थिए । २०६२/६३ पछिको पहिलो संविधान सभामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट सविना बराम मनोनीत सभासद् भएकी थिइन् ।
२०४६ सालपछि राजनीतिक दलहरूले बराम समुदायलाई समेट्ने हिसाबले राजनीतिक सङ्गठन बनाउन थालेका थिए । त्यसो त २०४४ सालमै बराम बस्तीमा अनौपचारिक भेलामार्फत बराम जाति सङ्गठित हुने प्रयास गरेको इतिहास छ । बराम जातिको भाषा, संस्कृति, पहिचानका लागि गाउँ गाउँमा सङ्गठित संस्था मिलेर २०५२ साल फागुन १० गते गोरखा बराम सङ्घ गठन भएको थियो । राजनीतिक सङ्घर्षकै क्रममा बराम जातिका पाँच जनाले बलिदानी दिएको इतिहास छ ।
बरामको आफ्नै वास्तुकला
बराम जातिमा दुईपाखे, चारपाखे र गोलाकार घर बनाउने प्रचलन छ । धनीमानीले आयताकार र दुईतले घरसमेत बनाउने गरेको देखिन्छ । घर बनाउनुअघि घडेरीको माटो राम्रो/नराम्रो कस्तो छ भनी हेराउने चलन यो जातिमा छ । यदि राम्रो रहेछ भने धूपधजा र अक्षतापातीले पूजा गरी घरको जग राख्ने गरिन्छ । यसो गर्दा घरमा सहकाल आउने, परिवार फैलने, शान्ति र सुख हुने, बिरामी नपर्ने जस्ता विश्वास यो जातिमा पाइन्छ ।
यो जातिको घरको भुईंतलामा आफ्नैखाले वास्तुविज्ञानको प्रयोग गरिएको हुन्छ । भुईंतलाको भित्र भण्डार कोठा, चुलो, खोपा, ओछ्यान, गग्रेटो, लिस्नु वा भ¥याङ राखिएको देख्न सकिन्छ । माथिल्लो तलामा पूजा गर्ने धुरीखाँबो, अन्न राख्न भकारी अनिवार्य बनाइएको हुन्छ । घरबाहिर पाली, चोटा, खोपा, लुगा झुन्ड्याउने ठाउँको व्यवस्थापन गरिन्छ । पाहुनाका लागि बस्ने ठाउँ, ओखल र जाँतो राख्ने ठाउँ पनि छुट्याइएको हुन्छ ।
घर बनाउँदा करेसाबारी, वस्तुभाउ बाँध्ने गोठ, घाँस, भुस, दाउरा राख्ने सानो बङ्गालो वा गोठ, मलखाल्डो, भाँडा माझ्ने जुठेन, आँगन, पराल राख्ने टौवाका लागि समेत ठाउँको ख्याल गरिएको हुन्छ ।
बराम जातिको चुलोमा पितृले बास गर्दछन् र घरको संरक्षण गर्छन् भन्ने विश्वास छ । त्यसैले बरामले अगेन पूजा गर्छन् । घर बनाउँदै उनीहरूले दुई चुलो बनाउँछन् । मुख्य वा माथिल्लो चुलोमा बरामबाहेक गैरबराम जातिले छुन पाउँदैन । भित्रको पुर्सो ओछ्यानमा पुरुष र माउ ओछ्यानमा घरमुली महिला बस्ने चलन यो जातिमा रहेको छ ।
पाहुनालाई बाहिर चुलो
बराम जातिमा नमस्कार र ढोगेर पाहुनाको सत्कार गर्ने चलन छ । नाता सम्बन्धका आधारमा नमस्कार या ढोग्ने भन्ने निक्र्योल हुन्छ । पाहुना कुन स्तरको हो भन्ने हिसाबले गुन्द्री, चकटी, राडी ओछ्याउने चलन छ । अतिथि सत्कारमा बराम जातिले कोदोको रक्सी र मासुलाई प्रमुख मानेको पाइन्छ । कुखुरा काटेर मासु, कोदोको रक्सी वा भाती–जाँड, बिरौँला, भात तथा तरकारी र अचार खुवाउनुलाई निकै राम्रो सत्कारका रूपमा लिइन्छ । पाहुनाको सत्कारमा घरको मुलीले पाहुनालाई खान अनुरोध गर्ने चलन छ ।
बरामबाहेक अन्य जातिका पाहुना भए चुलो छुन दिइँदैन । अन्य जातिले चुलो छोएमा पितृ रिसाउने र अशुभ घटना हुने विश्वास उनीहरूमा छ । त्यसैले बरामका घरको भुईंतलामा दुई चुलो अनिवार्य जस्तै बनाइएको हुन्छ ।
मामाकी छोरीमा हक
बराम जातिमा मामाको छोरा र फुपूकी छोरीबीच विवाह गर्ने प्रचलन रहेको छ । यसखाले विवाहलाई समाजले स्वीकृति दिएको छ । फुपूकी छोरी हक लाग्ने भन्ने भनाइ बराम जातिमा भए पनि पछिल्लो समय यसखाले वैवाहिक सम्बन्ध बनाउने प्रचलन भत्कँदै गएको छ । यो जातिमा जेठाजु–बुहारी र ज्वाइँ–दिदी सासू (श्रीमतीकी दिदी) छोइएमा सुनपानीले छर्कनु पर्छ भन्ने मान्यता छ । यो जातिमा साली–भेना र देवर–भाउजूबीच ठट्यौली वा जिस्काउनुलाई अन्यथा लिइन्न ।