• २० असोज २०८२, सोमबार

गाउँमा समाज खोज्दै कुसुन्डा

blog

शिरमा फेटा, कम्मरमा कछाड लगाएर धनुषकाँड भिरी वन वन घुमी घुमी हिँड्ने कुसुन्डाको चिनारी फेरिइसकेको छ । वनमा पाइने तरुल, गिट्ठा, लेगुना जस्ता कन्दमूल खोज्दै र लोखर्के, गोहोरा जस्ता वन्यजन्तुको सिकार गरी घुम्दैफिर्दै हिँड्ने कुसुन्डाले स्थायी बसोबास थालिसकेका छन् । 

वनको बसोबास रहँदा कुसुन्डाका मुख्य सिकार थिए, कालिज र गोहोरा । गोहोराको फूल खोजी खोजी उसिनेर वा पकाएर खान्थे । वनमा पाइने थरीथरीका कन्दमूल निकै स्वादिलो मानेर चाख्थे । कहिले गाउँ घुम्दै पिठो मागेर पनि छाक टार्थे । यो अवस्थामा उनीहरू आफूलाई वनको राजा भन्न रुचाउँथे ।

आइएएनएस जर्नलमा प्रकाशित नवीनकुमार राईको ‘खम्बाः एक अर्ध–भ्रमणशील जाति’ लेखको टिप्पणीमा “कुसुन्डा पनि पहिला राउटेहरू जस्तै भ्रमणशील जाति हुन् ।” भनिएको छ । सो टिप्पणीमा भनिएको छ, “यिनीहरू अल्लो, सिस्नु, भाङ्ग्राको धागोबाट बनाइएको लुगाफाटा ओढी जङ्गल जङ्गल धनुवाण भिरेर घुम्ने गर्दथे । गाउँका मानिस यिनीहरूलाई वनराजा भन्ने गर्दछन् । यिनीहरूको आफ्नो कुसुन्डा भाषा छ । आजकल यिनीहरू स्थायी रूपले बसोबास गरी खेती गर्न थालेको सुनिन्छ । राउटेहरू कुसुन्डालाई केही समयसम्म राजा मान्थे भन्ने भनाइ पनि छ ।

दाङका पत्रकार दुर्गालाल केसीले २०७७ साल कात्तिक २८ गते कान्तिपुरमा ‘हराउँदै कुसुन्डा संस्कृति’ शीर्षकमा समाचार लेखेका थिए । केसीले लेखे, “फिरन्ते कुसुन्डा जातिको जीवन पहिले जङ्गलमै बित्थ्यो । स्थायी घर र बसोबास नभए पनि उनीहरूका आफ्नै कला, संस्कृति र संस्कार थिए । आफूलाई वनराजा भन्दै हिँड्ने कुसुन्डा जातिले वनमा आफ्नो अधिकार भएको ठान्थे । वनका उत्पादन नै उनीहरूका खाद्यान्न र वासस्थान थिए ।”

पत्रकार केसीका अनुसार बसेको जङ्गलमा खानेकुरा पाइन छाडेपछि कुसुन्डाले अर्को वनमा बसाइँ सर्ने र यसरी सर्दा माटोको जोखना हेर्ने गर्थे । जोखनामा माटो राम्रो देखिए मात्रै बस्थे अन्यथा अर्कै स्थानको खोजी गरी जान्थे । उनीहरू बसोबासका लागि जङ्गलमा प्राप्त सामग्रीकै उपयोग गर्दथे । स्याउलाका एकपाखे छाना भएको टहरा बनाएर बस्ने उनीहरू जङ्गलका रुखबिरुवाको ठूला ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने बनाउँथे । उनीहरूको जीवनशैली पूर्णतः जङ्गली स्रोतमा निर्भर थियो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार पहाडी आदिवासी जनजाति अन्तर्गत २४ जाति छन् । तीमध्ये कुसुन्डा पनि एक हो । आदिवासी जनजातिभित्र पनि कुसुन्डा जाति ‘धेरै बहिष्कृत’ समूहमा पर्दछ ।

नेपालका आदिवासी जनजाति ज्ञानकोश भाग १ प्रारम्भ (२०८२) का अनुसार बनेट र पराजुली (सन् २०१३) ले २०५८ को जनगणनामा उल्लेख भएका सबै जात र जातिमध्ये कुन समावेशी र कुन बहिष्कृत भनेर चार भागमा वर्गीकृत गरेको छ । यसमा सांस्कृतिक समावेशीकरण/बहिष्करणको मापनलाई लिइएको छैन । यसलाई निर्धारण गर्ने चार वटा अर्थ–राजनीतिका आधारहरू– आयआर्जन, शिक्षा, पोषण र स्वास्थ्य, राज्यको शासन–प्रशासनमा संलग्नतालाई एकीकृत गरी बहुआयामिक सूचकाङ्कका आधारमा तयार गरेको अध्ययन प्रतिवेदनले नेपालका जनजातिको स्थिति देखाएको छ ।

कुसुन्डा जातिको आदिम थलो गोरखा, कास्की मानिन्छ । भोट बर्मेली भाषा परिवारभित्रको भाषा बोल्ने यो जातिको चालचलन चेपाङहरूको जस्तो छ । केही कुसुन्डा आफूलाई छन्त्याल पनि भन्दछन् । यो जातिलाई वनमान्छे वा वनराजा पनि भन्ने गरिएको समेत छ । 

शरद्चन्द्र शर्माको नेपाल र यसका निवासी (२०४५, दोस्रो सं) पुस्तकमा “चेपाङ र कुसुन्डाहरू नेपालका आदिवासीमध्येका पहाडी जातिका मानिस हुन् ।” भनिएको छ । शर्माले, “यिनीहरूको बसोबास क्षेत्र चितौन जिल्लाको उत्तरी भागदेखि धादिङ, गोरखाको दक्षिण, मकवानपुरको पश्चिम र तनहुँ पूर्वका पहाडी, अभेक र जङ्गलका भागमा दुईदेखि चार हजार फिटसम्मका उचाइमा फैलिएको छ ।” भनी सो पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तकमा भनिएको छ, “सङ्ख्यामा चेपाङहरू दश–बाह्र हजारजति र कुसुन्डाहरू त झन् केही केही मात्र भएको अनुमान छ । कोही कोही कुसुन्डा बिल्कुलै हराइसकेको मान्दछन् ।”

चेपाङ र कुसुन्डाको उत्पत्ति विषयमा विभिन्न अनुश्रुति प्रचलित छन् । शर्माका अनुसार चेपाङ र कुसुन्डाले राउटेहरूले जस्तै आफूलाई एकै ठकुरी पुर्खाका सन्तान मान्दछन् । कोही चाहिँ आफूलाई सीता पुत्र ‘लव’ (लोहरी) र ‘कुश’ (कुसरी) का सन्तान हौँ भन्ने दाबी पनि गर्दछन् । उहिलेदेखि आपसमा दुश्मनीको भाव रहेको कुरा मान्दछन् । शर्माको पुस्तकमा “चेपाङ र कुसुन्डामा जुन–जस्तो कारणबाट वैरभाव जन्मेको भए पनि यिनीहरू अनुहारको रूपरङ र भाषाका दृष्टिले प्राचीन किराँत जातिकै हाँगामा हुनु धेरै सम्भव देखिन्छ । यिनीहरूका कतिपय संस्कार पनि प्राचीन किराँतका संस्कारसँग मिल्दछन् ।” भनिएको छ ।

“अनि धेरैको विश्वास अनुसार उनीहरूका पुर्खा पूर्व दोलखाको किराँत क्षेत्र सुनाथलीबाट त्यस भेगमा आएर बसेका थिए भन्ने छ ।”  समेत पुस्तकमा शर्माले उल्लेख गरेका छन् ।

मेचीदेखि महाकाली (भाग २) मध्यमाञ्चल विकास क्षेत्र (२०३१) मा “आजकल यस क्षेत्रमा पाइने चेपाङहरू आफूलाई लहारी अथवा लवका सन्तान भनी मान्दछन् र कुसुन्डालाई कुश अथवा कुसारीका सन्तान भनी मान्दछन् । चेपाङका अनुसार कुसुन्डाको सङ्ख्या ज्यादै थोरै छ र आजकल उनीहरू गोरखा र तनहुँ जिल्लाको दक्षिणी भागमा बस्दछन् ।” भनिएको छ ।

डोरबहादुर विष्टको सबै जातको फूलबारी (२०५५, सातौँ सं) मा “चेपाङहरू बस्ने क्षेत्रकै पश्चिम भागतिर कुसुन्डाहरू छन् र ती त्यस्ता डरलाग्दा हुन्छन् भन्ने धेरै चेपाङको बलियो विश्वास छ ।” भनिएको छ ।

विष्टले पुस्तकमा “वास्तवमा अब कुसुन्डाको सङ्ख्या बिल्कुलै हराएर गइसकेको छ । कुसुन्डाहरू बिल्कुलै जङ्गली अवस्थाका आदिवासी हुन् भन्ने चलन थियो तापनि हाल केही समययता कुसुन्डाले सानोतिनो घरजम गरेर बसेको थाहा भइसकेको छ,” उल्लेख गरेका छन् ।

सल्यान, प्युठान, दाङ, दैलेख र सुर्खेत जिल्लाका जङ्गली क्षेत्रमा अरू जातिको बस्तीभन्दा अलग ठाउँ हेरेर बसोबास गर्ने कुसुन्डा जाति लोपोन्मुख अवस्थामा रहेको छ भनी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको वेबसाइटमा उल्लेख गरिएको छ ।

वेबसाइटमा भनिएको छ, “यो जातिको भाषा र संस्कृतिको अवशेष मात्र रहेको छ । यिनीहरू कृषिमा भन्दा गिट्ठा, भ्याकुर खोजेर खान बढी रुचि राख्छन् । गाईभैँसीको दूध खाँदैनन् । यिनीहरू प्रकृतिपूजक नै हुन् ।”

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोपोन्मुख जातिको समूहमा कुसुन्डा जातिलाई राखेको छ । प्रतिष्ठानले कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडियालाई लोपोन्मुख समूहमा राखेको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार कुसुन्डाको जनसङ्ख्या १६४ र कुसुन्डा भाषाको वक्ताको सङ्ख्या ८७ थियो ।

२०६८ को राष्ट्रिय जनगणनामा यो जातिको सङ्ख्या २७३ जना मात्र देखियो । अनि मातृभाषा बोल्ने कुसुन्डाको सङ्ख्या मात्र २८ जना थियो । २०७८ को राष्ट्रिय जनगणना अनुसार कुसुन्डाको सङ्ख्या २५३ रहेको छ । जसमा ११५ पुरुष र १३८ महिला छन् । त्यसमा पनि २३ जना (९.१ प्रतिशत) ले मात्र मातृभाषा बोल्छन् । उनीहरू आठ जिल्लामा बसोबास गर्दछन् ।

घुम्दै वनदेवी पुज्दै

घुमन्ते जीवन र वन त्यागेर स्थायी बसोबास थालेका कुसुन्डाको भाषा, संस्कृति र संस्कार हराउँदै गएको बताइन्छ । तथापि कतिपय ठाउँमा बस्ने कुसुन्डाले अझै वर्षमा एक पटक वनदेवीको पूजा गर्ने गरेको पाइन्छ ।

घुमन्ते जीवन बिताउने समयमा कुसुन्डाले अस्पतालको ढोकै टेकेनन् । उनीहरूलाई जेजस्ता आपत् परे पनि झाँक्रीकै शरणमा पुग्ने गर्थे ।

नेपालका लोपोन्मुख समुदाय (२०७८) मा सत्यदेवी खड्काले लेखेका छन्, “धामीले नै वन बाँध्ने र फुकाउने गर्दथे । रोग अनुसार बिरामीलाई वनकै जडीबुटी खुवाउने गरिन्थ्यो । सर्प, बिच्छीले छोकेमा र बिरामी परेमा धामीझाँक्रीले झारफुक र जडीबुटी प्रयोग गर्दथे । झारफुकले निको नभएमा रात परेपछि झाँव्रmी बस्ने गर्दछन् ।” उनका अनुसार झाँव्रmी बस्दा झाँव्रmी बस्ने ठाउँ सफा र लिपपोत गर्दछन् । झाँव्रmी बस्दा स्याउला हल्लाउँदै र मन्त्र गुन्गुनाउँदै काप्ने गर्दछन् । आवश्यकता अनुसार बिरामीले झाँव्रmीले मन्त्र गरेको जन्तर घाँटी वा कम्मरमा बाँध्ने गर्दछन् ।

परम्परा, विश्वास र संस्कार

कुसुन्डा जाति आफूलाई कुसका सन्तान ठान्छन् । गाईले कुस खाने भएकाले कुसुन्डाले दूध, दही, मोही, घिउ खाँदैनन् । गोबरसमेत कुनै कार्यमा प्रयोग गर्दैन थिए । रुखका हाँगा र छेस्का काटेर देवीको पूजा गर्ने प्रचलन उनीहरूमा छ ।

कुचो कुल्चेमा ढोग्ने कुसुन्डा खरले छाएको घरमा बस्दैनन् । वनबाट सङ्कलन गरिएका तरकारी र वन्यजन्तु सिकार चामल, पिठोमा साट्न गाउँघर गए पनि कुसुन्डाहरू गाउँमा रात बस्ने गर्दैनन् ।

जङ्गलमा बसोबास भए पनि उनीहरू व्यवस्थित अनुशासनमा बाँधिएका हुन्छन् । उनीहरूले एक मुखिया (मुङ) छान्छन् । त्यही मुखियाले कुसुन्डाको समूहमा अनुशासन र नियन्त्रण गर्दछन् । मुखियाले टाउकोमा हरदम सेतो फेटा गुथेका हुन्छन् । समूहमा केही समस्या आएमा उनले मिलाउने, न्याय, दण्ड दिने काम गर्दछन् ।

नाचगानमा खुबै रमाउने कुसुन्डा गाउँघरतिरको मेला, पर्व, जात्रामा रमाउन पुग्छन् । त्यसो त जङ्गलमै पनि उनीहरू नाचगान गरेर मनोरञ्जन गर्दछन् । त्यसलाई उनीहरू घरको नाच भन्छन् । वन्यजन्तुका दाँत, चराका प्वाँखका गहना लगाउने कुसुन्डा महिलाले कम्पनी सिक्काको हमेल, सुक्की, गुमरा, चाँदीको कर्नफुली, चाँदीको चेप्टा, मुगाको माला पनि खुबै मन पराएर लगाउने देखिन्छ ।

कुसुन्डासँग मित लगाउन गाउँले खुबै रुचि दिन्छन् । कुुसुन्डा पनि गाउँलेसँग मित सम्बन्ध गाँस्न रुचाउने गर्छन् । केटाकेटाबिच लगाइने मित भए जस्तै केटीकेटीबिच लगाइने सैना (मितिनी) भनिन्छ । मित–मित र सैना–सैनाबिच टीकाटालो गरी सम्बन्ध जोड्ने गरिन्छ । रुमाल, धोती, गन्युचोली या अन्य कपडा साटेर, सँगै बसेर खानेकुरा खाई मित वा सैना लगाउने चलन छ ।

केटी माग्न गोहोराको साप्रो

कुसुन्डाको विवाहमा गोहोराको साप्रो नभई हुन्न । त्यसैले विवाहको कुरा छिनिएपछि दुई तीन महिनाअघि नै गोहोरो सिकारको तयारी थालिन्छ । कुसुन्डा जातिमा राजीखुसी रूपमा मागी विवाह नै चलनमा छ । कहिलेकाहीँ परिस्थितिवश त्यो अवस्था नभए सहमतिमै केटाकेटीलाई भगाइदिने पनि गरिन्छ । यसरी विवाह गर्दा मामाकी छोरी र फुपूको छोराबिच विवाहवारी चल्ने सत्यदेवी खड्काले ‘नेपालका लोपोन्मुख समुदाय (२०७८)’ मा उल्लेख गरेकी छन् ।

मामाकी छोरी नभए अन्यत्र विवाह गरिन्छ । केटी माग्न जाँदा गोहोरा र कालिजको मासु लैजानुपर्ने, रक्सी, जाँड तथा धेरै प्रकारका तरकारी, रोटी लिएर केटीको घरमा जाने चलन छ । मासु र रक्सी केटी पक्षलाई दिएपछि मात्रै विवाहका लागि छलफल सुरु गर्ने चलन छ ।

यो जातिमा मृत्यु भएमा खोला किनार या जङ्गलमा लगेर गाड्ने चलन रहेको छ । मृतकले प्रयोग गर्ने भाँडाकुँडा, सिकार गर्ने धुनकाँड, जाबो, पासो, कोदालोलगायत साधन मृतकसँगै चिहानमा गाडिदिने गरिन्छ । कतिपयले ती सामान नफाली भान्जा या ज्वाइँलाई टीका लगाइदिने चलन पनि छ ।

जोगाइँदै भाषा

‘सोजाक !’

कुसुन्डा बस्तीमा जाँदा ‘सोजाक !’ भन्नुस् । उनीहरू खुसी हुने छन् । किनभने कुसुन्डाहरू यतिबेला भाषा संरक्षणमा जुटेका छन् । ‘सोजाक !’ भनेको कुसुन्डा भाषामा ‘नमस्कार !’ हो । कुसुन्डाले बोल्ने भाषालाई कुसुन्डा भाषा (गिपन/गेपन) भनिन्छ । कुसुन्डा भाषा कक्षाका लागि आधारभूत पाठ्यसामग्रीका रूपमा भाषा आयोगले कुसुन्डा गिपन (२०७८) प्रकाशन गरेको छ । यस पुस्तकका लेखक उदयराज आले हुन् । 

कुसुन्डा भाषाका एक मात्र वक्ता ज्ञानुमाया कुसुन्डाको केही वर्षअघि निधन भएपछि कुसुन्डा भाषा लोप हुने खतरा बढेर गएको थियो । भाषा संरक्षणको अभियानसहित आयोगले कुसुन्डा बालबालिकालाई भाषा सिकाउन थालेको छ । आयोगले कुसुन्डा भाषाको इतिहास (२०७५) सालमा प्रकाशनसमेत गरेको थियो । सो पुस्तकमा “कुसुन्डा पनि नेपालको एक फिरन्ते जाति हो । लामो समय जङ्गली जीवनशैलीमा रहेको कुसुन्डा जाति विगत केही दशकदेखि मात्र गाउँघरतिर बस्न थालेको पाइन्छ ।” भनिएको छ ।

विशेषतः नेपालको मध्यपहाडी भूभागका जङ्गलमा लामो कालखण्डदेखि घुमन्ते जातिका रूपमा रहेको कुसुन्डा गाउँले जीवनमा प्रवेश गरेको धेरै समय नभएकाले अझै राम्रोसँग सामाजिकीकरण नभइसकेको सो पुस्तकमा उल्लेख छ तर यतिखेर अन्य जातजातिसँगको अन्तर्घुलन र उठबसका कारण उनीहरूको आफ्नो पहिचान लोप हुँदै गएकोसमेत पुस्तकमा जनाइएको छ ।

उनीहरूको भाषा संरक्षणका लागि सरुमारानी गाउँपालिका, प्युठानले २०८१ साल चैत १९ देखि १५ दिने कुसुन्डा भाषासम्बन्धी राष्ट्रियस्तरको आधारभूत तालिम सञ्चालन गरेको थियो । २०६६ सालमा नेपाल कुसुन्डा विकास समाज दाङमा स्थापना गरिएपछि उनीहरू सामाजिक रूपमा सङ्गठित हुन थालेका हुन् । 

जङ्गलको थातथलो छाडेर आवादतिर सरेपछि कुसुन्डा जाति सामाजिक, सांस्कृतिक रूपमा परिवर्तनको दोधारमा छन् । जनजीवनको नयाँ अभ्यासमा छन् । खासमा उनीहरू मानव विकासको सङ्क्रमणकालीन अवस्थामा रहेको देखिन्छ । 

–युवामञ्च