• २० फागुन २०८२, बुधबार

नेपाली महिलाको सङ्घर्ष, साहस र सपनाको कथा

blog

देश यतिबेला चुनावी सरगर्मीले तातेको छ । चुनावी माहोलले देशको राजनीतिक तापक्रम उच्च हुँदै गर्दा उम्मेदवारी घोषणा, सभा, सम्मेलन र राजनीतिक तछाडमछाडको भिड सकेर अर्को महत्त्वपूर्ण दिन चुपचाप आइपुगेको छ । चुनावी माहोलको कोलाहलले  मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस ओझेलमा परेको जस्तो देखिए पनि, वास्तवमा यही समय महिलाका अधिकार, सहभागिता र समानताको बहसलाई अझ बलियो बनाउने उपयुक्त क्षण हो । किनकि लोकतन्त्रको वास्तविक परीक्षा केवल मतपेटिकामा होइन, महिलाले कति सम्मान, सुरक्षा र निर्णय शक्ति पाउँछन् भन्नेमा पनि निर्भर रहन्छ ।

यस सन्दर्भमा राजनीतिक दल, राज्य संयन्त्र र नागरिक समाज सबैको जिम्मेवारी झन् बढेर गएको छ । महिला सहभागितालाई केवल कानुनी कोटाभित्र सीमित राख्ने प्रवृत्तिले अब अपेक्षित परिणाम दिँदैन । आवश्यकता छ त नीति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयनसम्म महिलाको प्रभावकारी उपस्थितिको सुनिश्चितता ।

विशेषगरी ग्रामीण, दलित, आदिवासी, मधेशी तथा सीमान्तकृत समुदायका महिलाको आवाज नीति तहसम्म पुग्ने संरचना बलियो बनाउन ढिलाइ गर्न मिल्दैन । चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा महिला मुद्दा केवल नारामा सीमित नहोस् भन्ने सुनिश्चित गर्नु नै आजको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक उत्तरदायित्व हो ।

नारी दिवस, महिलाको पसिना, आँसु र अदम्य साहस सम्झिने दिन हो, जसले घरभित्र र समाजभित्र चुपचाप इतिहास लेखिरहेका छन् । नेपाली महिला बिहान सबेरै उठ्छिन्– घर सम्हाल्छिन्, खेत जोत्छिन्, कार्यालय पुग्छिन्, बालबालिका हुर्काउँछिन् अनि समाजका अपेक्षासँग लड्छिन् । तर उनको मेहनत धेरैजसो अदृश्य रहन्छ । उनको त्यागमा ताली कम र अपेक्षा धेरै हुन्छ ।

आज हामी गर्वका साथ भन्न सक्छौँ- नेपाली महिला अब केवल घरको चार दिवारीमा सीमित छैनन् । उनीहरू संसद्मा छन्, स्थानीय सरकारमा छन्, व्यवसायमा छन्, प्रविधिमा छन् । धेरै छोरीहरूले विद्यालय र कलेजका ढोका पार गरिसकेका छन् । तर मनभित्र एउटा प्रश्न अझै बाँकी छ- के उनीहरू साँच्चै बराबरीमा पुगेका छन् ?

अझै पनि कतिपय घरमा छोरीको सपनाभन्दा छोराको भविष्य ठुलो मानिन्छ । अझै पनि घरेलु हिंसाका चिच्याहट धेरैजसो बन्द ढोकाभित्रै थुनिन्छन् । अझै पनि एउटै कामका लागि महिलाले कम पारिश्रमिक पाउने वास्तविकता बदलिएको छैन । आजका महिला पहिले जस्तो मौन छैनन् । उनीहरू प्रश्न गर्छन्, आफ्नो अधिकार माग्छन् । उनीहरू डरभन्दा ठुला सपना देख्न थालेका छन् ।

गाउँकी आमा, जसले छोरीलाई पढाउन खेत बेच्छिन्-

सहरकी युवती, जसले आफ्नै 'स्टार्टअप' सुरु गर्छिन्-

वैदेशिक रोजगारीमा गएकी दिदी, जसले परिवारको भविष्य धान्छिन्-

यी सबै एउटै कथाका पात्र हुन्– सङ्घर्षबाट सिर्जिएको सम्भावनाको कथा ।

यदि महिला दिवस केवल मञ्चका भाषण र सामाजिक सञ्जालका पोस्टमै सीमित रह्यो भने त्यो अधुरो हुनेछ । यो दिन तब मात्र सार्थक हुन्छ जब:

छोरी जन्मिँदा घरमा खुसी उस्तै हुन्छ,

महिलाले डर बिना आफ्नो बाटो हिँड्न सक्छन्,

उनको कामको मूल्य बराबर हुन्छ,

सम्मान शब्दमा होइन, व्यवहारमा देखिन्छ ।

हामी सबैले मनमनै एउटा प्रण गरौँ- महिला सशक्तीकरण महिलाको मात्र एजेन्डा होइन, यो समाजको भविष्य हो । आमाको सम्मान गर्ने, दिदीबहिनीको आवाज सुन्ने, छोरीको सपना जोगाउने- यही सानो सानो परिवर्तनले ठुलो रूपान्तरण ल्याउँछ ।

यसर्थ, महिला कमजोर होइनन्- उनीहरूलाई केवल बराबरीको आकाश चाहिएको हो । उनका पखेटा पहिल्यै बलिया छन्, अब संरचनाले उडान भर्ने अवसर दिनुपर्छ । सङ्घर्षको इतिहासलाई सम्मान गर्दै समानताको भविष्य निर्माण गर्ने समय यही हो । यो मार्च ८ मा औपचारिकता होइन- परिवर्तनको प्रतिबद्धता दोहोर्‍याऔँ ।

चुनावी तरङ्गले राष्ट्रिय राजनीति तात्तिएको बेला स्वयं महिलाको राजनीतिक र सामाजिक सक्रियता पनि निर्णायक बन्ने बेला आएको छ । अधिकार प्राप्तिको इतिहासले देखाइसकेको छ- मौनताले होइन, सङ्गठित आवाजले परिवर्तन सम्भव हुन्छ । मतदाता महिलाले आफ्नो मतको शक्ति बुझ्ने, उम्मेदवार महिलाले आत्मविश्वासका साथ नेतृत्व दाबी गर्ने र नागरिक महिलाले सार्वजनिक बहसमा सक्रिय उपस्थिति जनाउने संस्कार बलियो बनाउनुपर्छ । जब महिलाको सहभागिता औपचारिक उपस्थितिबाट वास्तविक प्रभावतर्फ रूपान्तरण हुन्छ, तब मात्र लोकतन्त्र समावेशी र न्यायपूर्ण बन्न सक्छ । यो महिला दिवसमा फूल मात्र नदिऔँ- अवसर दिऔँ, सम्मान दिऔँ, साथ दिऔँ ।

(लेखिका त्रिभुवन विश्वविद्यालयकी कर्मचारी हुनुहुन्छ ।) 

लेखक बाट थप