प्रवीण कुमार शर्मा
रौतहट, फागुन १९ गते । यहि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
रौतहटको चार वटा निर्वाचन क्षेत्रका १५७ वडामा रहेका २७७ मतदान स्थल तथा ५४१ मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरू पुगिसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ । मतदान केन्द्रमा मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री पुगिसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिनुभयो ।
रौतहटका सवै मतदान केन्द्रमा बुथ निर्माण कार्य सम्पन्न हुनुको साथै सर्वदलिय बैठक सम्पन्न भएको उहाँले बताउनुभयो । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत सिंचाई सव डिभिजन कार्यालयमा रहेको मतदान केन्द्रमा बुथ निर्माण कार्य सम्पन्न भएको र सर्वदलिय बैठक समेत शान्तिपुर्ण रुपमा सम्पन्न भएको सिचाई सव डिभिजन कार्यालय गौर (क) का मतदान अधिकृत तिल कुमारी ढकालले जानकारी दिनुभयो ।
सर्वदलिय बैठकमा निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन सवैले सहयोग गर्ने, स्वयसेवक नियुक्ति, अशक्त दृष्टिविहीन तथा वृद्धवृद्धालाई मतदानमा संकेत गर्न असुविधा भएमा एकाघरको सदस्य वा आफन्तलाई साथमा लैजान दिने, मतदान केन्द्रमा प्रतिबन्धित सामान लैजान निषेद्ध गर्ने,एक राजनितिक दलबाट एक जना प्रतिनिधि राख्ने लगायतका कुरामा सर्वदलिय बैठकबाट सहमति भएको उहाँले बताउनुभयो ।
रौतहटको तीन स्थानमा अस्थायी मतदान केन्द्र राखिएको छ । गौरस्थित जिल्ला अदालतमा कर्मचारी र सुरक्षाकर्मीका लागि, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कर्मचारी र सुरक्षाकर्मीका लागि तथा कारागार कार्यालय गौरमा कैदीबन्दीहरूका लागि अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शान्तिपूर्ण निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना तथा निर्वाचन प्रहरीसहित करिब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको बताउनु भयो । चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेनाको बम डिस्पोजल टोली समेत खटाइएको उहाँले बताउनुभयो ।
संयुक्त सुरक्षा टोलीद्वारा जिल्लाभर गस्ती तथा पेट्रोलिङलाई तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।