नवराज नेपाली
बागलुङ (गलकोट), फागुन १९ गते । बागलुङमा दुई वटा अस्थायी मतदान स्थल तय गरिएको छ । १०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा थप दुई अस्थायी मतदानस्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिक मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
बागलुङ कारागारमा रहेकामध्ये मतदाता परिचयपत्रमा नाम भएका ५३ जना कैदीबन्दीलाई कारागारमै मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
यस्तै कर्मचारी लगायत रोजगारीका लागि बागलुङमा बस्नेहरुका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समेत मतदान गर्ने व्यवस्था मिलाएको छ ।
मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले कारागारमा रहेका ५३ जना मतदातालाई कारागार भित्रै मतदानकेन्द्रको स्थापना गरी मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “विभिन्न मुद्दामा कारागारमा सुधारको जिवन बिताइरहेकालाई समेत मतदतानको अधिकार राज्यले दिन खोजेको हो, उहाँहरुसँग भएको मतदाता परिचयपत्रका आधारमा कारागारभित्रै समानुपातिक मत जाहेर गर्ने व्यवस्था मिलाइएको छ” अधिकारीले भन्नुभयो ।
उहाँका अनुसार जिल्लामा रहेर कार्यव्यस्तताका कारण मतदान केन्द्रमा भोट हाल्न जान नसक्नेलाई समानुपातिक मत हाल्ने व्यवस्था मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हाल्ने व्यवस्था मिलाइएको हो ।
सुरक्षा संवेदनशिलता, मतदाताको संख्या घटबढ तथा पायक पर्ने स्थान लगायतका कारण एक मदतानस्थल थप गरेको र एक मतदना केन्द्र घटाएर १०७ मतदानस्थल र २३० स्थायी मतदान केन्द्र कायम गरिएको हो ।
यस्तै दुई मतदान स्थललाई स्थानान्तरण समेत गरिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कुल एक लाख ९३ हजार ३८१ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता रहेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङमा कर्मचारी, प्रहरी र निर्वाचन प्रहरी गरी चार हजार जनशक्ति परिचालनको अन्तिम तयारी थालिएको छ । सुरक्षाकर्मीहरु भने निर्वाचन क्षेत्रतर्फ लागिसकेको प्रहरी उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । ।दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ उम्मेदवार चुनावी मैदानमा छन् ।