• २० फागुन २०८२, बुधबार

घेराबार र सिसी टीभी क्यामेरा सहितको मतगणना स्थल निर्माण

blog

रामपुर नगरपालिकाको सभाहलमा निर्माण गरिएको मतगणना स्थल । तस्बिर : इमान सिं राना

इमान सिं राना

रामपुर (पाल्पा), फागुन २० गते । प्रतिनिधि सभा निर्वाचन पश्चात मतगणनाका लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गणना स्थल तयार गरिएको छ । तारजालीको घेराबार र सिसी टीभी क्यामेरा जडान सहितको मतगणना स्थल तयार गरिएको हो ।

क्षेत्र नम्बर १ का लागि रामपुर नगरपालिकाको सभाहल र क्षेत्र नम्बर २ का लागि तानसेन बालमन्दिरमा मतगणना स्थल निर्माण गरिएको हो । गणनास्थल वरपर तारजालीको घेराबार लगाई सिसी टीभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताउनुभयो ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत दशरथ पङ्गेनीले रामपुर नगरपालिकाको सभाहलमा क्षेत्र नं. १ को मतगणना स्थल निर्माण गरिएको जानकारी दिनुभयो । मतगणना कार्य सुरक्षित र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणनाका लागि आवश्यक गणना स्थल तयार गरिएको बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले मतदानका लागि जिल्लामा रहेका ११८ मतदान स्थलका २५१ मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीको काम सम्पन्न भएको जानकारी दिनुभयो । गत सोमबार मतपत्र, मतपेटिका लगायतका आवश्यक निर्वाचन सामग्री लिएर मतदान केन्द्रमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले तयारीको कार्य सम्पन्न गरिसकेको बताउनुभयो ।  

जिल्लाको निर्वाचन क्षेत्र नं १ मा  रहेको ५२ वटा मतदान स्थलमा ११७ वटा मतदान केन्द्र र क्षेत्र नं २ को ६६ वटा मतदान स्थलमा १३४ मतदान केन्द्र रहेको छ । साथै पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहेको छ । निर्वाचन क्षेत्र नं १ मा ९८ हजार ३ सय ८३ र  क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ जना मतदाता रहेका छन् । जिल्लाको क्षेत्र नं १ मा १३ जना र क्षेत्र नं. २ मा १६ जना उम्मेदवारहरू प्रतिष्पर्धामा रहेका छन् ।