१. गोरखापत्र दैनिक
श्री ३ देवशमशेरको शासनकालमा (वि.सं. १९५८ ज्येष्टवदि ३ सोमबार) गोर्खापत्र नामक साप्ताहिक पत्र निस्क्यो । यो नेपाली भाषाको सबभन्दा पहिलो देशीय पत्र हो (श्रेष्ठ, २०१७) ।
१९५८ वैशाख २४ गतेबाट प्रकाशन सुरु भएको गोरखापत्र साप्ताहिक रूपमा एक हजारप्रति छपाइ हुन्थ्यो । ४२ वर्ष पाँच महिना २१ दिन साप्ताहिक रूपमा प्रकाशन भएको गोरखापत्र विसं २००० असोज २९ गतेबाट अर्धसाप्ताहिक रूपमा प्रकाशन भएको थियो । १७ वर्ष तीन महिना २८ दिनपछि २०१७ साल फागुन ७ गतेबाट गोरखापत्र दैनिक रूपमा प्रकाशन सुरु भएको हो (तमोट, २०६७) ।
विसं १९५८ वैशाख २४ गते साप्ताहिक समाचारपत्रका रूपमा पहिलो पटक जनसमक्ष आएको ‘गोरखापत्र’ ले ४२ वर्षपश्चात् अर्थात् विसं २००० साल असोज २९ गतेदेखि अर्धसाप्ताहिकका रूपमा काँचुली फेर्यो । तत्पश्चात् २००३ साल पुस ८ गतेदेखि हप्ताको तीन पटक र २०१७ साल फागुन ७ गतेदेखि यो दैनिक रूपमा देखापर्यो (चालिसे, २०५४) ।
इस्तिहार जारी : विसं १९५८ वैशाख ११ गते (सनद जारी)
साप्ताहिक : १९५८ वैशाख २४
हप्तामा दुई पटक : २००० असोज २९ (अर्धसाप्ताहिक)
हप्तामा तीन पटक : २००३ पुस ८
दैनिक : २०१७ फागुन ७
२. दी नेपलिज पर्सपेक्टिभ
प्रकाशन वर्ष : २०२१ (सन् १९६४)
३. दी राइजिङ नेपाल
गोरखापत्र संस्थानको दोस्रो प्रकाशनका रूपमा २०२२ साल पुस १ गतेदेखि ‘दी राइजिङ नेपाल’ को प्रकाशन सुरु भएको हो । अङ्ग्रेजी भाषामा प्रकाशित ‘दी राइजिङ नेपाल’ नियमित प्रकाशन भइरहेको छ । ‘दी राइजिङ नेपाल’ को सम्पादक भीमसेन थपलिया हुनुहुन्छ ।
प्रकाशन वर्ष : २०२२ पुस १
दर्ता नम्बर : २९/२२८/०२२
प्रथम सम्पादक : वरुणशमशेर जबरा
४. मधुपर्क
साहित्यिक मासिक प्रकाशन ‘मधुपर्क’ को प्रकाशन २०२५ साल जेठ ३० गतेदेखि भएको हो । ‘मधुपर्क’ ले २०५९ सालदेखि गद्य र पद्य विधामा हरेक वर्ष दुई जनालाई ‘मधुपर्क सम्मान’ प्रदान गर्दै आएको छ । २०७६ सालदेखि थप एक युवा प्रतिभालाई ‘मधुपर्क प्रतिभा सम्मान’ समेत गरी बर्सेनि तीन जनालाई पुरस्कृत गरिँदै आएको छ ।
‘मधुपर्क’ ले हरेक विधामा विशेषाङ्क प्रकाशित गर्ने निधो अनुसार कथा अङ्क (२०३०, २०३७, २०५०), कला अङ्क (२०२९), कविता अङ्क (२०३०), लेखनाथ अङ्क (२०४१), नारी अङ्क (२०४१), युवा लेखन अङ्क (२०४२), नेपालबाहिरका नेपाली साहित्य अङ्क (२०४३), सङ्गीत नृत्य अङ्क (२०४२), शान्ति वर्ष अङ्क (२०४३), निबन्ध अङ्क (२०५१), संस्मरण अङ्क (२०५१), नाटक अङ्क (२०५३) प्रकाशन गरेको छ (घिमिरे, २०५३) ।
‘मधुपर्क’ ले साहित्य, साहित्यकार र पर्व विशेषसमेत प्रकाशन गर्दै आएको छ । लघुकथा अङ्क (२०५६ भदौ), आत्मपरक निबन्ध विशेषाङ्क (२०६७ जेठ), कृष्णचन्द्रसिंह प्रधान विशेष (२०६७ भदौ), मधुपर्क पाँच सय पूर्णाङ्क (२०६७ माघ), डाइमन शमशेर विशेष (२०६८ जेठ), हास्यव्यङ्ग्य अङ्क (२०७० भदौ), आदिकवि भानुभक्त विशेष (२०७१ असार), बिपी विशेषाङ्क (२०७१, २०७७ भदौ), महिला लेखनको तीन दशक (२०७६ जेठ), नोबेल साहित्य विशेष (२०७६ मङ्सिर), वासु शशी विशेष (२०७६ चैत), चेखव विशेष (२०७७ साउन), रामायणमा नारी विशेष (२०७७ पुस), पोषण पाण्डे विशेष (२०७७ माघ), प्रेमको समाजशास्त्र विशेष (२०७७ फागुन), रङ्गमञ्च विशेष (२०७७ चैत), भवानी भिक्षु विशेष
(२०७८ वैशाख), कथा विशेषाङ्क (२०७८ जेठ–असार), गोठाले विशेष (२०७८ साउन), मोपासाँ कथा विशेष (२०७८ भदौ), कोरोना अभिघात विशेष (२०७८ कात्तिक), मोहन कोइराला विशेष (२०७८ मङ्सिर), आर के नारायण विशेष (२०७८ चैत), जनकलाल शर्मा विशेष (२०७९ वैशाख), डा. तारानाथ शर्मा विशेष (२०७९ असार), हास्यव्यङ्ग्य विशेष (२०७९ भदौ), दौलत विक्रम विष्ट विशेष (२०७९ पुस) लगायत प्रकाशित छन् (सङ्कलित विभिन्न अङ्क) ।
प्रकाशन वर्ष : २०२५ जेठ
दर्ता नम्बर : २५/२०२५
प्रथम सम्पादक : गोपालप्रसाद भट्टराई
५. युवामञ्च
युवा वर्गलाई लक्षित गरी गोरखापत्र संस्थानले २०४५ सालदेखि ‘युवामञ्च’ को प्रकाशन थालेको हो । तथापि ‘युवामञ्च’ को प्रारूप अङ्क २०४५ साल वैशाखमै निकालिएको थियो । तत्कालीन युवराज दीपेन्द्रवीरविक्रम शाहको शुभ उपनयनसम्बन्धी सामग्री राखेर प्रारूप अङ्क प्रकाशन गरिएको थियो । यो नियमित रूपमा बेलाबखत विशेष अङ्कसहित प्रकाशन हुँदै आएको छ । ‘युवामञ्च’ ले दसैँतिहार विशेष (२०५९), १६ औँ वर्ष विशेष (२०६० साउन), सौन्दर्य विशेष (२०६१, वैशाख), क्रिकेट विशेष (२०६२ पुस), दसैँ विशेष (२०६३ असोज), ज्योतिष विशेष (२०६६ चैत), विश्वकप फुटबल विशेष (२०६७ जेठ), मेडिकल शिक्षा विशेष (२०६७ साउन), ट्राफिक समस्या विशेष (२०६७ भदौ), मोबाइल विशेष (२०६७ कात्तिक), विश्वकप विशेष (२०६७ फागुन), नयाँ वर्ष विशेष (२०६८ वैशाख), सौर्य विद्युत् विशेष (२०७२ फागुन), १३ औँ साग विशेषाङ्क (२०७६ मङ्सिर), योग र आयुर्वेद विशेषाङ्क (२०७७ माघ), विश्वकप विशेषाङ्क (२०७९ मङ्सिर) लगायत थुप्रै विशेष अङ्क प्रकाशन गरेको छ ।
प्रकाशन वर्ष : २०४५ असार
दर्ता नम्बर : ४/२०४४/४५
प्रथम सम्पादक : बालमुकुन्ददेव पाण्डे
६. सन्डे डिस्प्याच
‘दी राइजिङ नेपाल’ को सहप्रकाशनका रूपमा २०४७ साल वैशाख ९ गतेदेखि ‘सन्डे डिस्प्याच’ प्रकाशन भएको थियो । ‘दी राइजिङ नेपाल’ प्रकाशन हुनुअघि ‘नेपलिज पर्सपेक्टिभ’ प्रकाशन भएको थियो । २०४७ मङ्सिर ४ गतेको अङ्क प्रकाशन भएर बन्द भएको थियो (प्रसाई, २०६१) ।
प्रकाशन वर्ष : २०४७ वैशाख
दर्ता नम्बरः १२/२०४६/०४७
प्रथम सम्पादक :
७. मुना
गोरखापत्र संस्थानको कान्छो प्रकाशन ‘मुना’ हो । सन् १९९० लाई सार्क बालिका वर्षका रूपमा मनाएर त्यसैलाई सम्झने कोसेलीका रूपमा गोरखापत्र संस्थानले बालबालिकाका लागि मासिक खुराक ‘मुना’ प्रकाशित गर्ने अठोट गरेर सन् १९९१ को जनवरी अर्थात् २०४७ पुसदेखि यसको प्रकाशनको श्रीगणेश गरेको हो (गुरागाईं, लक्ष्मी, २०५३) ।
बालपत्रिका ‘मुना’ ले बेलाबखत विशेषाङ्कसमेत प्रकाशन गर्दै आएको छ । ‘मुना’ ले बाल रचना विशेष
(२०६७ भदौ), कथा विशेषाङ्क (२०६८ भदौ), कथा विशेष (२०७३ भदौ), बाल प्रतिभा विशेषाङ्क
(२०७६ भदौ), ३१ औँ वार्षिकोत्सव विशेष (२०७७ पुस) लगायत प्रकाशन गरेको छ ।
प्रकाशन वर्ष : २०४७ पुस
दर्ता नम्बर : १३/२०४७/४८
प्रथम सम्पादक : गोकुलप्रसाद पोखरेल
८. मनोरम अप्सरा
स्वस्थ मनोरञ्जन सामग्री दिने हिसाबले २०५४ सालबाट गोरखापत्र संस्थानले ‘मनोरम अप्सरा’ को प्रकाशन थालेको हो । यो पत्रिका तीन वर्षजति प्रकाशनमा रहेको थियो । अहिले यो बन्द अवस्थामा रहेको छ ।
प्रकाशन वर्ष : २०५४
दर्ता नम्बर : १०७/२०५४/५५ (जिप्रका)
प्रथम सम्पादक : वसन्त प्रकाश उपाध्याय
९. नयाँ नेपाल
२०६२/०६३ को परिवर्तनपछि गोरखापत्रले बहुभाषिक पृष्ठको थालनी गरेको हो ।
गोरखापत्रले २०६४ असोज १ गतेदेखि बहुभाषिक ‘नयाँ नेपाल’ पृष्ठ छापिन थालेको हो । सुरुमा ३३ भाषाबाट सुरु भएको ‘नयाँ नेपाल’ मा हाल ४५ भाषा प्रकाशन हुँदै आएको छ ।
१०. सम्प्रेषण
नेपाल पत्रकार महासङ्घ गोरखापत्र उपशाखाको संस्थापक संयोजक हरिकला अधिकारी हुनुहुन्थ्यो । सो तदर्थ समितिको २०५३ फागुन २२ गते सम्पन्न प्रथम अधिवेशनले सीताराम अग्रहरिलाई सभापति र उपसभापतिमा हरिकला अधिकारीलाई छानेको थियो । त्यसपछिका दिनमा महासङ्घको मुखपत्रका रूपमा ‘सम्प्रेषण’ स्मारिका प्रकाशन हुँदै आएको छ । तथापि यो नियमित अङ्कका रूपमा छैन । ‘सम्प्रेषण’ का प्राप्त अङ्कमा तेस्रो वार्षिक साधारण सभाको उपलक्ष्यमा २०५७ चैत ११ गते, पाँचाैँ अधिवेशन–२०६४ ‘सम्प्रेषण’ अङ्क २, छैटौँ अधिवेशन २०६८ मा तेस्रो अङ्क, २०७१ वैशाखमा अङ्क ४, २०७३ फागुनमा अङ्क ५ प्रकाशन भएको देखिन्छ ।
११. प्रगति
गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ को प्रथम अधिवेशन २०५३ को स्मारिकाका रूपमा ‘प्रगति’ प्रकाशित भएको हो । २०५३ पुस २० मा प्रकाशित ‘प्रगति’ को सम्पादकमा पुष्कर माथेमा, परमेश्वर देवकोटा र श्रीधर आचार्य हुनुहुन्छ ।
‘प्रगति’ को नयाँ वर्ष २०५४ स्मारिका, २०५५ चैत ७ गत स्वर्गीय रामचन्द्र गौतम स्मृति अङ्क, सङ्घको १६ औँ वार्षिकोत्सवका अवसरमा २०६९ असोजमा ‘प्रगति’ प्रकाशन भएको देखिन्छ । २०६३ मा चौथो अधिवेशन स्मारिका, सङ्घको १८ औँ वार्षिकोत्सवका अवसरमा २०७१ असोजमा साहित्य विशेष अङ्कसहित ‘प्रगति’ का पाँच अङ्क प्राप्त भएका छन् । यसभित्र गोरखापत्रका सम्बन्धमा विविध लेख रचना छन् ।
१२. उचाइ
गोरखापत्र संस्थान कर्मचारी सङ्घ, २०५२ ले २०६७ असोजमा गिरिजाप्रसाद कोइराला स्मृति विशेषका रूपमा ‘उचाइ’ प्रकाशन गरेको छ । सो ग्रन्थ प्रकाशनका लागि कुलचन्द्र वाग्लेको संयोजकत्वमा १३ सदस्यीय प्रकाशन समिति गठन गरिएको थियो । ग्रन्थमा गिरिजाप्रसाद कोइरालाका केही सम्बोधन, अन्तर्वार्ता र उहाँका बारेका ५० जनाभन्दा बढी लेखकका संस्मरण तथा लेख छापिएका छन् ।
‘उचाइ’ का २०५९ माघमा अङ्क ४, २०६१ साउनमा अङ्क ५, २०६१ माघमा अङ्क ६, २०६५ फागुन अङ्क ७, २०६८ चैत अङ्क ८ प्राप्त भएका छन् । यसका पहिलो, दोस्रो र तेस्रो अङ्क प्राप्त हुन सकेनन् । ‘उचाइ’ का प्रायः अङ्कमा गोरखापत्रको ऐतिहासिक घटना, यसको अवस्था, विकासका लागि पहल लिनुपर्ने विषयमा गम्भीर विचार विमर्श सङ्कलित छन् ।
१३. गोरखापत्र शैली पुस्तिका
गोरखापत्रले पहिलो पटक २०५५ साल वैशाख २४ गते ‘गोरखापत्र शैली पुस्तिका’ प्रकाशन गरेको हो । शैली पुस्तिका तयार पार्न गोरखापत्र व्यवस्थापनले २०५२ को प्रारम्भतिर ‘गोरखापत्र शैली पुस्तिका’ तयारी समिति गठन गरेको थियो । समितिको संयोजकमा प्रधान सम्पादक बालमुकुन्ददेव पाण्डे, सहसंयोजकमा नायब प्रधान सम्पादक विजय चालिसे र सदस्यमा प्राध्यापक मोहनराज शर्मा, पत्रकार वासु रिमाल ‘यात्री’ र शिवप्रसाद भट्टराई हुनुहुन्थ्यो ।
प्रकाशन वर्ष : २०५५ वैशाख
सम्पादक : विजय चालिसे
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य : ६५
१४. गोरखापत्र प्रकाशन शैली
गोरखापत्र संस्थानले २०८० सालमा ‘गोरखापत्र प्रकाशन शैली’ प्रकाशित गरेको छ । यसको सम्पादक केदार वाशिष्ठ हुनुहुन्छ । यो प्रकाशन शैली निर्माणका लागि शैली पुस्तिका तयारी उपसमिति, २०७९ गठन गरिएको थियो । गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको थियो । सदस्यहरूमा जयदेव भट्टराई, केदारप्रसाद भट्टराई (वाशिष्ठ), नारदमुनि गौतम, कृष्णप्रसाद भण्डारी, लीलाराज अधिकारी र राधा चालिसे हुनुहुन्थ्यो ।
प्रकाशन वर्ष ; २०८०
सम्पादक : केदार वाशिष्ठ
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य : ५००
१५. गोरखापत्र एक सय एक कथा
गोरखापत्र सय वर्षका १०१ कथामा ‘हस्सी’, ‘सुकुल गुण्डाको कहानी’ र ‘बदलाल’ कथा बेनामे छन् । गोरखापत्रमा सय वर्षमा छापिएका कथामध्ये छानिएका १०१ कथा यस सङ्ग्रहमा छन् ।
प्रकाशन वर्ष : २०५८ वैशाख २४ गते
सम्पादक : कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराई
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य :
१६. गोरखापत्रका एक सय एक निबन्ध
गोरखापत्रमा प्रकाशन भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा गोरखापत्रका पूर्वअङ्कमा प्रकाशित कविता, कथा र निबन्धको छुट्टाछुट्टै सङ्कलन प्रकाशन गर्ने नीति अनुसार २०६० साल वैशाख २४ मा गोरखापत्रका एक सय एक निबन्ध प्रकाशन गरिएको हो । यो सङ्ग्रह गोरखापत्र १०३ औँ वर्ष प्रवेशका अवसरमा निकालिएको हो । गोरखापत्र शतवार्षिकी प्रकाशन ग्रन्थमाला–३ का रूपमा रहेको यस सङ्ग्रहमा परेका १०१ प्रतिनिधि निबन्धमा काव्यात्मक निबन्ध, नियात्रा, संस्मरण, प्रबन्ध, समालोचना, भाषिक, सांस्कृतिक तथा ऐतिहासिक प्रबन्ध रहेका छन् ।
प्रकाशन वर्ष : २०६० वैशाख
सम्पादक : डा. माधवप्रसाद पोखरेल, शिव रेग्मी, शिवप्रसाद भट्टराई
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य : २००
१७. गोरखापत्र सय वर्षका कविता
सय वर्षका कवितासङ्ग्रहमा २०१ कविता सङ्गृहीत छन् । गोरखापत्रमा सय वर्षको अवधिमा छापिएका कविताको सङ्कलन गरी यो प्रकाशन गरिएको हो ।
सङ्कलक
दैवज्ञराज न्यौपाने– संयोजक
शैलेन्द्र साकार– सदस्य
जयदेव भट्टराई– सदस्य
प्रकाशक तथा मुद्रण ः गोरखापत्र संस्थान
पहिलो संस्करण ः २०५८ वैशाख २४
प्रति ः १०००
मूल्य ः १५०।–
१८. मधुपर्क प्रतिनिधि नियात्रा
सम्पादनः डा.वेदव्यास उपाध्याय (निर्मोही व्यास), श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला
प्रकाशनः २०६७ फागुन
प्रकाशकः गोरखापत्र संस्थान
प्रतिः ५००
सर्वाधिकारः गोरखापत्र संस्थान
मूल्यः रु.२७५/–
आवरणः के.के. कर्माचार्य
मुद्रणः गोरखापत्र संस्थान, धर्मपथ
१९. मधुपर्क प्रतिनिधि हास्यव्यङ्ग्य निबन्ध
सम्पादनः हेमनाथ पौडेल, श्रीओम श्रेष्ठ ‘रोदन’, तुलसीहरि कोइराला
प्रकाशनः २०६७ फागुन
प्रकाशकः गोरखापत्र संस्थान, धर्मपथ
प्रतिः ५००
सर्वाधिकारः गोरखापत्र संस्थान
मूल्यः रु.१७५/–
आवरणः के.के. कर्माचार्य
मुद्रणः गोरखापत्र संस्थान, धर्मपथ
२०. सांस्कृतिक सौरभ
गोरखापत्रले २०६४ असोज १ गतेदेखि बहुभाषिक ‘नयाँ नेपाल पृष्ठ’ छाप्न थालेको हो । गोरखापत्रले अँगालेको बहुभाषिक पत्रकारिताकै महत्वपूर्ण पक्षको उजागर गर्ने गरी २०७४ साल वैशाख २४ मा ‘सांस्कृतिक सौरभ’ पुस्तक प्रकाशनमा ल्याएको छ । गोरखापत्र संस्थानले प्रकाशन गरेको यस पुस्तकको सम्पादन समूहमा निर्मलकुमार आचार्य, श्रीओम श्रेष्ठ ‘रोदन’, जयदेव भट्टराई र लोकबहादुर चौधरी ‘लक्की’ रहनुभएको छ । पुस्तकमा ३८ लेख सङ्गृहीत छन् । विभिन्न जातजातिका भाषा, संस्कृति, पर्वबारे पुस्तकमा जानकारी दिइएको छ ।
प्रकाशन वर्ष : २०७४ वैशाख
सम्पादनः निर्मलकुमार आचार्य, श्रीओम श्रेष्ठ ‘रोदन’, जयदेव भट्टराई र लोकबहादुर चौधरी ‘लक्की’
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य : २७५
२१. गोरखापत्र नयाँ नेपाल : भाषा चिनारी
गोरखापत्रको भाषाभाषी पृष्ठ ‘नयाँ नेपाल’ मा प्रकाशित भाषाको चिनारीका रूपमा गोरखापत्र संस्थान तथा नयाँ नेपाल पृष्ठ संयोजक समितिले २०७१ सालमा ‘भाषा चिनारी’ प्रकाशन गरेको हो ।
प्रकाशन वर्ष : २०७१
सम्पादक : अब्दुल सलाम, अमर तुम्याहाङ र सोम धिमाल
प्रकाशक : गोरखापत्र नयाँ नेपाल पृष्ठ संयोजक समिति
मूल्य : .......
छपाइ : गोरखापत्र छापाखाना, धर्मपथ
२२. गोरखापत्रको इतिहास
‘गोरखापत्रको इतिहास’ २०६७ सालमा प्रकाशन भएको हो । गोरखापत्रको इतिहासलाई विविध विषयबाट केलाउने प्रयास पुस्तकमा गरिएको छ । गोरखापत्र संस्थानले प्रकाशन गरेको सो पुस्तकमा ऋषवदेव शर्मा, कमलमणि दीक्षित, बाबुराम आचार्य, बालकृष्ण सम, बालमुकुन्ददेव पाण्डे, प्रेमराज शर्मा, पारसमणि प्रधान, धर्मराज थापालगायत ४४ जना लेखकका संस्मरण र इतिहाससम्बन्धी लेख छन् ।
प्रकाशन वर्ष : २०६७
सम्पादक : शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराई
प्रकाशक : गोरखापत्र संस्थान
मूल्य : २००
२३. गोरखापत्र १०४ वर्ष पत्रकारिताको गौरवमय इतिहास
लेखन तथा सम्पादन : भरतकुमार प्रसाई
सहयोगी : खिमानन्द आचार्य, रमिता प्रसाई र प्रसन्न प्रसाई
प्रकाशक : प्रमिला प्रसाई
मुद्रक : नसना प्रिन्ट सपोर्ट
मूल्य : ३०
२४. गोरखापत्र शतवार्षिक स्मारिका
गोरखापत्रको शतवार्षिकी अवसरमा प्रकाशित स्मारिकामा गोरखापत्रको इतिहाससम्बन्धी ५६ वटा लेख सङ्गृहीत छन् ।
प्रकाशन वर्ष : २०५७
सम्पादक मण्डल : रमेश तिवारी, राजेन्द्र शर्मा, शिवप्रसाद भट्टराई, कृष्ण श्रेष्ठ, जयदेव भट्टराई, भीमराज अर्याल ।
प्रकाशक : गोरखापत्र संस्थान
पृष्ठ : १२२
२५. गोरखापत्र १०५ वर्ष प्रवेश स्मारिका
गोरखापत्र १०५ वर्ष प्रवेश स्मारिकामा गोरखापत्रसम्बन्धी महत्वपूर्ण लेख सङ्कलित छन् । इतिहासकार भुवनलाल प्रधानको ‘पत्रकारिताको विकासमा देवशमशेर र गोरखापत्र’, कमल दीक्षितको ‘बढी नभनुँ’ लगायत गोरखापत्रको इतिहास, यसले नेपाली साहित्य र समाजमा पुर्याएको योगदानबारे २२ जना लेखकका महत्त्वपूर्ण लेख सङ्कलित छन् ।
संयोजक/सम्पादक : केदार शाक्य
प्रकाशक : गोरखापत्र संस्थान
मुद्रण : गोरखापत्र संस्थानको छापाखाना
२६. गोर्खापत्र शुभजन्मोत्सव विशेष
पूर्वराजा ज्ञानेन्द्रवीरविक्रम शाहको ५९ औँ जन्मोत्सवमा प्रकाशित ‘गोर्खापत्र शुभजन्मोत्सव विशेष’ प्रकाशनमा राजसंस्थासम्बन्धी लेख, कविता रहेका छन् । यस विशेष प्रकाशनमा २२ जना लेखकका लेख, कविता रहेका छन् ।
२७. गोरखापत्र स्मारिका – विसं १९५८–२०७४
२०७४ सालमा प्रकाशित ‘गोरखापत्र स्मारिका’ को सम्पादक मण्डलमा निर्मलकुमार आचार्य, श्रीधर आचार्य, जुनारबाबु बस्नेत, नारदमुनि गौतम र शम्भु प्रसाई रहनुभएको छ । गोरखापत्र संस्थानका लागि अध्यक्ष गोविन्द पोखरेल, महाप्रबन्धक सुशील कोइरालाद्वारा गोरखापत्रको छापाखाना धर्मपथमा मुद्रित स्मारिकामा गोरखापत्रसम्बन्धी ऐतिहासिक लेख, गोरखापत्रका उपलब्धि र भावी कार्यदिशाका सम्बन्धमा विद्वान् लेखकका लेख रचना तथा विचार छन् ।
२८. गोरखापत्र : विवरणात्मक सूचीपत्र
गोरखापत्रमा प्रकाशित समाचारको सूचीपत्रका रूपमा यो तयार पारिएको छ । भाग १ र भाग २ गरी दुई भागमा तयार पारिएको सूचीपत्रमा विसं १९५८ देखि २००७ सम्म प्रकाशित समाचारलाई विभिन्न शीर्षक दिएर सूचीपत्र तयार पारिएको छ । सो समय ‘गोर्खापत्र’ साप्ताहिक रूपमा प्रकाशन हुने गर्दथ्यो । त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अध्ययन संस्थानले २०३२ सालमा तयार पारिएको सूचीपत्र प्रकाशनमा चाहिँ छैन । यसको सङ्कलनकर्ताका रूपमा दयाराम श्रेष्ठ ‘सम्भव’, काशीनाथ तमोट हुनुहुन्छ । यसको सम्पादकमा सा.वि. ठाकुर हुनुहुन्छ ।
२९. गोरखापत्र संस्थान स्मारिका –२०४२
गोरखापत्र संस्थान २२ वर्ष पुगेर २३ वर्ष पुगेको अवसरमा प्रकाशित स्मारिका ।
पृष्ठ : ३६
मूल्य : खाली
प्रकाशन वर्ष : २०४२ असार
प्रकाशक : गोरखापत्र संस्थान
३०. शताब्दीको अन्तिमतिर
प्रकाशन वर्ष : २०५५
लेखक : भरतकुमार प्रसाई
पृष्ठ : ७५
प्रकाशक : गोरखापत्र संस्थान
२९. गोरखापत्र संस्थान स्मारिका
प्रकाशन वर्ष : २०४९ असार
पृष्ठ : ६४
प्रकाशक : गोरखापत्र संस्थान
सन्दर्भ सामग्री
- गुरागाईं, लक्ष्मी । (२०५३) । प्रगति । गोसंक संघ, गोरखापत्र ।
- घिमिरे, कपिल । (२०५३) । प्रगति । गोरखापत्र संस्थान कर्मचारी सङ्घ–४७ ।
- चालिसे, विजय । (२०५४) । गोरखापत्र शैली पुस्तिका । गोरखापत्र संस्थान ।
- तमोट, काशिनाथ । (२०६७) । गोरखापत्रको इतिहास । गोरखापत्र संस्थान ।
- प्रसाई, भरतकुमार । (२०६१) । गोरखापत्र पत्रकारिताको गौरवमय इतिहास । प्रमिला राई, काठमाडौँ ।
- श्रेष्ठ, भगतवतीप्रसाद । (२०१७) । पत्र–पत्रिकाको जन्म र त्यसको गतिविधि ।
लेखक गोरखापत्रका पत्रकार हुनुहुन्छ ।