खेती किसानीको खासै अनुभव नभएका जङ्गलमा कन्दमूल खोज्ने तथा जडीबुटी, कुरिलो सङ्कलन गरी बजार या गाउँमा बेची अन्न जम्मा गरेर जीविका गर्दै आएको जाति हो– वनकरिया ।
जङ्गली उत्पादनमा पूर्णतः निर्भर यो जाति कृषिकर्मसँग लामो समय परै बस्यो । जङ्गलमा बस्ने र अन्य समुदायसँगको सम्पर्कबाट टाढै रहँदै आएको यो जातिका मानिस नयाँ मानिससँग हत्तपत्त बोलिहाल्न चाहँदैनन् ।
राष्ट्रिय जनगणनामा समेत बेवास्ता गरिँदै आएको वनकरिया जातिका बारेमा २०७८ सालदेखि मात्र तथ्याङ्क लिइन थालियो । तथापि यो जातिका बारेमा खोजी हुनुपर्ने आवाज चाहिँ पहिलादेखि नै उठाइँदै आएको थियो ।
समाजशास्त्री डा.कृष्ण भट्टचनले वनकरिया जातिका बारेमा खोज र अनुसन्धान गरेका छन् । त्यस्तै डा. राजेश गौतम र अशोक थापाले ‘ट्राइबल इथ्नोग्राफी अफ नेपाल’ पुस्तकमा वनकरियाबारे चर्चा गरेको पाइन्छ । २०४६ सालपछि यो जातिका बारेमा सञ्चार माध्यममा चर्चा चल्न थालेपछि यस जातिका विषयमा जनचासो बढेको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित नेपाल लघुविश्वकोश (२०६८) मा वनकरियाका सन्दर्भमा भनिएको छ, “यो वनकरिया समुदाय मकवानपुर जिल्लाको हाँडीखोला गाउँ विकास समिति र चौराबेँसीपूर्व, सुनखोला पश्चिम र चुरे पहाड उत्तरमा बसोबास गर्दछ । यिनीहरू फिरन्ता छन् र जङ्गली कन्दमूल खान रुचाउँछन् । यिनीहरूको सङ्ख्या ज्यादै कम छ । यिनको सङ्ख्या उपलब्ध छैन ।”
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बेभसाइटमा वनकरिया जातिबारे भनिएको छ, “यो जनजाति मकवानपुर जिल्लाको हाँडीखोला गाविस र चौराबेँसीपूर्व, सुनखोला पश्चिम र चुरेपहाड उत्तरमा बस्दछ । यिनीहरू चेपाङ जस्तै फिरन्ते जीवन बिताउने र जङ्गलभित्रका झुपडीमा बसोबास गरेको पाइन्छ ।”
प्रतिष्ठानले आफ्नो बेभसाइटमा अगाडि भनेको छ, “फिरन्ते जीवनको पृष्ठभूमिबाट आएको यो जाति अहिले पनि एउटै ठाउँमा स्थिर भएर बस्दैन । यिनीहरू जङ्गली कन्दमूल खाने, वन कुरिलो जम्मा गर्ने र नजिकको गाउँबस्तीमा अन्नपातसँग साट्ने गर्दछन् । मङ्गोल वर्णका यिनीहरूको सङ्ख्या झन्डै तीन चार सय जति मात्र रहेको छ । धर्म र भाषा चेपाङ जातिसँग केही मिल्दोजुल्दो छ ।”
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातजातिलाई आदिवासी जनजातिका रूपमा सूचीकृत गरी लोपोन्मुख, अति सीमान्तकृत, सीमान्तकृत, सुविधा वञ्चित र उन्नत समूहमा विभाजन गरेको छ । प्रतिष्ठानले वनकरियालाई लोपोन्मुख समूहमा राखेको छ । तीन दशकअघिसम्म घुमन्ते जीवनशैली बिताउँदै आएका वनकरियालाई नेपाल सरकारले २०६२ सालदेखि स्थायी बसोबासीका रूपमा स्थापित गरेको थियो ।
मकवानपुरको मनहरी गाउँपालिका–४, मुसेधापमा २२ घरपरिवारका ९३ वनकरियालाई राखिएको थियो । कबुलियती वनको नौ हेक्टर क्षेत्रफलमा उनीहरूलाई राखियो । सो जमिन पनि अहिले पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्दछ । जसले गर्दा उनीहरूको बसोबासमाथि प्रश्न उठाउन थालिएको छ । त्यसअघि उनीहरू चुरेघाँचमा बसोबास गर्दै आएका थिए ।
सरकारले लोपोन्मुख १० जातिलाई २०६६ सालदेखि राष्ट्रको मूलधारमा ल्याउने उद्देश्यसाथ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । सोही समयदेखि वनकरियाले पनि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । राष्ट्रिय जनगणना २०६८ मा वनकरिया जातिको तथ्याङ्क लिइएको थिएन । तथापि जनगणना २०७८ मा ८३ पुरुष र ९७ महिला गरी १९० वनकरियाको जनसङ्ख्या गणना गरियो ।
वनकरिया बेग्लै जाति या चेपाङकै समुदाय हो भन्ने विवाद भने कायमै छ । नेपाल चेपाङ (प्रजा) सङ्घले वनकरिया चेपाङ नै भएको दाबी गरेको छ । यसको निराकरणका लागि वैज्ञानिक अध्ययन अनुसन्धान आवश्यक छ ।
मकवानपुरका सञ्चारकर्मी प्रताप विष्टले वनकरिया जातिको विषयमा खोज, अनुसन्धान गरी ‘छेलिएका अनुहार’ (२०७९) पुस्तक लेखेका छन् । २०५१ वैशाख १३ गते पत्रकार विष्टसहित सञ्चारकर्मी चुरेघाँच पुग्दा उनीहरू स्याउला र थाकलले छाएका ससाना छाप्रामा बस्दै आएको पाइएको थियो । त्यसबेला उनीहरू बोल्न निकै डराएका थिए ।
विष्टले पुस्तकमा लेखेका छन्, “हेटौँडाबाट १२ किलोमिटर पश्चिममा रहेको सान्नानीटारबाट उत्तरतर्फ १० घण्टा जतिको पैदल यात्रापछि पुगिने चुरेघाँचको जङ्गलमा उनीहरू छाप्रो बनाएर बसेका थिए । उनीहरू त्यहाँ कसरी पुगे भन्ने कुराको तथ्य र प्रमाण छैन । राणा प्रधानमन्त्री जुद्धशमशेरले वनकरियाहरूले हाँडीखोलाको जङ्गल र वन्यजन्तु सखाप पारे भनेर उनीहरूलाई त्यहाँबाट हटाई चुरेको जङ्गल दोराम, कामीखोला, शीतलपुर, मगुवाको जङ्गलतिर लखेटेको स्थानीय वृद्धवृद्धाको भनाइ छ ।”
वनकरियाको तत्कालीन अवस्थाबारे पत्रकार विष्टले लेखेका छन्, “साबिकको हाँडीखोला गाउँ विकास समिति–७, डाँडागाउँमा उनीहरूको थाकल र स्याउलाले बनाएको छाप्रो थियो । उनीहरू त्यो छाप्रोमा वर्ष दिनमा मुस्किलले ४५ दिन पनि बस्दैनथे । सधैँ जङ्गलमा नै बस्थे । वनकरियाहरू जङ्गलबाट कुरिलो खोजेर छाप्रामा ल्याई उसिनेर त्यसकै बोक्रा ताछ्ने अनि त्यसलाई डाँडागाउँमा ल्याएर बेच्ने गर्थे । जङ्गलमा कुरिलो, खरेटो र गिट्ठा, भ्याकुर खोज्ने कामलाई वनकरियाहरू थकरीमकरी ज्यारपास बङ्ला आसमान भन्छन् ।”
रहनसहन
लामो समय फिरन्ते जीवन बिताएका सोझा जाति वनकरियाको विशेषखाले पर्व वा संस्कृति अस्तित्वमा वा प्रचलनमा छैन । प्रकृतिमा रमाउँदै आएको यो जातिको उत्पत्ति र विकासबारे गहन अध्ययन खासै हुन सकेको देखिँदैन । पहिलाका धेरै कुरा उनीहरूलाई थाहा छैन । तथापि यो जातिको भाषा, रहनसहन, जीवनशैली चेपाङसँग मिल्छ भन्ने केही अध्ययनले देखाएका छन् ।
वनकरियाको उत्पत्तिबारे एउटा मिथक पनि छ, यिनीहरूका पुर्खा लव हुन् । चेपाङका पुर्खा कुश । भगवान् राम र सीताका छोरा हुन्– लव र कुश । यस्तो मिथक चेपाङ जातिको अगुवाबाट पनि सुन्न पाइन्छ । भाषा आयोगले वनकरियाको भाषा अध्ययनलाई अघि बढाएको छ ।
वनकरिया जातिमा विवाह गर्दा पोङ खुवाउने चलन छ । यो प्रचलन अन्य जनजाति समुदायमा पनि पाइन्छ ।
वनकरिया जातिमा विशेष गरी मागी र भागी बिहे गर्ने गरिन्छ । चेपाङको जस्तो यो जातिमा बालविवाह नभएको होइन तर त्यति धेरै बालविवाह भएको पाइन्न । पत्रकार विष्टका अनुसार वनकरिया जातिमा शिशुको न्वारान नौ दिनदेखि ११ दिनमा गरिन्छ । पहिला पहिला यो जातिका मानिस मर्दा गाड्ने गरिन्थ्यो, अहिले जलाउने गरिएको छ । सायद स्थायी बसोबास थालेपछि हिन्दु समाजको प्रभाव वनकरियामा परेको हुन सक्छ । यो समुदायको पुरोहित ज्वाइँचेलालाई राख्ने चलन छ । यस जातिको एउटा, दुई वटाबाहेक आफ्नो भाषा फेला परेको छैन । उनीहरू खेती किसानी, ज्याला मजदुरी गरेर जीवन धान्दै आएका छन् ।
बदलिँदै वनकरिया
स्थायी बसोबास थालेपछि स्थानीय सरकार तथा गैरसरकारी संस्थाको सहयोगमा वनकरियाले सिप सिक्न थालेका छन् । स्याउला र थाकलको छाप्रो छाडेर जस्तापाताको छानोमा सरेका वनकरियाहरू खेतीपातीतिरसमेत लागेको देखिन्छ ।
गिट्ठा र भ्याकुर खोज्न छाडेर वनकरियाका बालबालिकाले विद्यालय टेकेका छन् । २०६२ सालमा नागरिकता प्राप्त गरेका वनकरिया जातिमा घरका हरेक निर्णय र नेतृत्व महिलामा निहित देखिन्छ ।
बजार जाने र किनमेल तथा वस्तु विनिमयको काम महिलाले नै गर्दै आएको पाइन्छ । त्यसैले उनीहरू वनकरिया पुरुषभन्दा केही टाठाबाठा जस्तो समेत देखिन्छन् । वनकरिया जातिका पम्फा ल्याब टेक्निसियन र सन्तोषी जेटिए भएकी छन् । सम्भवतः वनकरिया जातिमा सबैभन्दा पहिला एसइई गर्ने यिनै दुई महिला हुन् ।
वनकरिया जाति सामाजिक, आर्थिक विकासमा विस्तारै अघि बढ्दै गरेको छ । राज्यले उनीहरूलाई लोपोन्मुख सूचीमा राखी सामाजिक सुरक्षा भत्ता दिएर मात्रै दायित्व पूरा हुँदैन । वनकरिया जातिलगायत लोपोन्मुख समूहका जातिको बृहत्तर विकासमा राज्यले विशिष्ट नीति अघि सार्नुपर्ने देखिन्छ ।
–युवामञ्च