आफूलाई जङ्गलको राजा ठान्ने कुसुन्डा जातिले घुमन्ते जीवन त्यागेर स्थायी बसोबास थालिसकेका छन् । कतिपय राउटेले पनि स्थायी बसोबास थालेको देखिन्छ । तथापि राउटेको झुन्ड अझै घुमन्ते रूपमा जङ्गल चहारिरहेका छन् । उनीहरू आफूलाई ‘जङ्गलको राजा’ ठान्छन् ।
नेपालको अन्तिम घुमन्ते जातिका रूपमा रहेका राउटेले ‘पैसा छोए पाप लाग्छ’ भन्ने मान्यता राख्थे, कुनै समय । नयाँ मान्छेसँग बोल्न र सम्पर्कमा रहन नचाहने यो जाति अहिले चाहिँ नयाँ मान्छे देख्यो कि ‘पैसा देउन’ भन्दै माग्न खप्पिस बनेको छ । त्यसैले उनीहरूको रहनसहन, खानपान विस्तारै परिवर्तनको बाटोमा छ । यिनीहरू पनि चाँडै नै स्थायी बसोबासमा जाने झझल्को मिल्छ ।
वनजङ्गलमा बस्ने, बाँदरको सिकार गर्ने र काठका भाँडाकुँडा बनाएर गाउँतिर गई अन्नमा साटेर ल्याई जीविकोपार्जन गर्ने राउटेले कृषि युगमा प्रवेश गरेकै छैनन् ।
करिब सात सय वर्षअघि सुदूरपश्चिमको सेती नदी किनारदेखि प्युठानसम्मको क्षेत्रमा राउटे जाति बसोबास गर्दै आएको इतिहास पाइन्छ । कालीकोटको फुर्कोट क्षेत्र राउटेको उद्गमस्थल मानिएको छ । त्यस समय विभिन्न समूहबिच लडाइँ झगडा हुँदा हार्ने पक्ष जो लुक्न जङ्गलतिर पसे ती नै अहिलेका राउटे हुन् भन्ने कतिपयको ठम्याइ छ । उनीहरू अहिले पनि आफूलाई कर्णाली प्रदेशको राजा खस ठकुरी मान्दछन् ।
शरद्चन्द्र शर्माले ‘नेपाल र यसका निवासी’ (२०४५, दोस्रो सं) मा “उनीहरूले बोल्ने खाम्ची भाषा तिब्बत–बर्मेली भाषा खलकभित्र पर्ने कुराका आधारमा भने उनीहरू भोट–हिमाली शाखाकै हुनुपर्ने देखिन्छ ।” भनी उल्लेख गरेका छन् ।
डोरबहादुर विष्टले ‘सबैजातका फूलबारी’ (२०५५, सातौँ सं) मा “राउटेको अनुहारको बनोट हेर्दा मङ्गोलियनभन्दा अस्ट्रेलोइड जातिको झझल्को दिने हुनाले उत्पत्तिबारे कुरा गर्दा अझ बढी अध्ययन नगरी नहुने अवस्था देखिन्छ ।” भनेका छन् ।
उनीहरूको मूलथलो कालीकोट भए पनि अहिले दैलेख, जाजरकोट, सुर्खेत, डडेलधुरा, सल्यान, दाङ, रोल्पा र कालीकोट जिल्लामा छरिएर रहेका छन् । राउटेको अन्तिम फिरन्ते समूह दैलेख जिल्लामा मात्रै रहेको छ । अन्य जिल्लाका राउटेले स्थायी बसोबास थालिसकेको पाइन्छ ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार राउटेको जनसङ्ख्या ६१८ रहेको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार राउटेको जनसङ्ख्या ५६६ रहेको छ । त्यसमा पुरुष २८९ र महिला २७७ जना रहेका छन् ।
फिरन्ते राउटेको जनसङ्ख्या घट्दो क्रममा छ । फिरन्ते राउटेको जनसङ्ख्या २०७५ सालमा १४९, २०७६ सालमा १४८, २०७७ सालमा १४५, २०७८ सालमा १४४ र २०७९ सालमा १४३ जना रहेको थियो । २०८० साल माघ १५ सम्म गरिएको स्थलगत सर्वेक्षण अनुसार महिला ७४ र पुरुष ६३ गरी घुमन्ते–फिरन्ते राउटेको जनसङ्ख्या घटेर १३७ जनामा सीमित भएको देखिन्छ ।
लोपोन्मुख आदिवासी जनजाति राउटे समुदायमा तीन गोत्र रहेको छ । कलायन, रास्कोटी र सूर्यवंशीमा यी वर्गीकृत छन् । आफ्नोे नाता कुटुम्ब यही तीन गोत्रभित्र मात्रै हुने गर्दछ ।
विवाह गर्न बेग्लै घर
गाउँघरभन्दा पर जङ्गल र खोलानजिक बसोबास गर्ने राउटे जातिको आफ्नै खाले विवाह परम्परा छ । राउटे जातिमा केटाको विवाह उमेर २५ वर्षभन्दा माथि र केटीको १५ वर्ष पूरा भएपछि बिहे गर्न योग्य भएको मानिन्छ । राउटेको विवाहपछि नवजोडी बस्ने बेग्लै घर बनाइन्छ । काठका किला गाडेर, बाक्लै डाँडाभाटा कसेर, त्यसमाथि पुराना कपडा र त्रिपालले छोपी अस्थायी घर यिनले बनाउँछन् । कतिपयले स्याउलाले छोपेर अस्थायी घर बनाउने गरेका छन् ।
केटाको कपाल मुण्डन गरेपछि हरेक कार्यका लागि सक्षम भएको मानिन्छ । उनीहरू सानैदेखि बाँदर छोप्ने (मार्ने), काठका सामान बनाउने जस्ता कार्य अभिभावकबाट सिक्छन् ।
पाटन ज्ञानसागर (२०२४, भोलुम ६, नं.१) मा प्रकाशित शान्ताकुमारी बस्यालको अनुसन्धानमूलक लेख ‘सङ्कटमा फिरन्ते जाति राउटे जीवनशैली’ मा ‘यिनीहरूको आफ्नै समूहभित्रका फरक थरका केटाकेटीबिचमा विवाह हुन्छ ।” भनिएको छ ।
शान्ताकुमारी बस्यालका अनुसार परम्परागत रूपमा मागी विवाहको चलन चलिआएको छ । विगतमा मागी विवाह मात्रै चल्दै आएको भए पनि अचेल भागी विवाह पनि गर्न थालेका छन् । मागी विवाह गरेपछि खसी काटेर भोज खान्छन् ।
सो अनुसन्धानमूलक लेखमा “राउटे जातिमा लोग्ने मरेपछि श्रीमतीले पुनः बिहे गर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।” उल्लेख गरिएको छ । यस्तै केटी मान्छेले श्रीमान् गुमाउने कुरालाई भगवान्को कृपा मान्दछन् । श्रीमती मरेमा राउटे केटाले विवाह गर्न पाउने चलन रहेको कुरा लेखमा उल्लेख गरिएको छ ।
राउटेमा अन्तरगोत्रबिच विवाह हुँदैन । राउटेको आफ्नै समुदायका केटाकेटीका बिचमा मात्रै विवाह हुन्छ । वनमा बाँदर सिकार गरी खाने राउटेले विवाहमा खसी नै खाने चलन छ । विवाहपछि खसीको मासु र रक्सी खाएर मस्तसँग नाचगान गर्दछन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक (२०२२) अनुसार यिनीहरूका हाल प्रचलित थरहरू कल्याल, रास्काटी, सत्याल आदि हुन् । राउत र साउँद थर पनि यस जनजाति अन्तर्गतका छन् कि भन्ने अनुमान गरिन्छ । यिनीहरूका गोत्र र शाही ठकुरीका गोत्र केही हदसम्म मेलसमेत खान्छन् । राउटे समुदायमा तीन प्रकारका थर गोत्र रहेको पाइन्छ ।
अनौठा चालचलन र विश्वास
राउटे समुदायमा अनौठो लाग्ने चालचलन र विश्वास पाइन्छ । डोरबहादुर विष्टको सबै जातको फूलबारीमा उल्लेख गरिए अनुसार यिनीहरू कुनै पनि गाउँमा कहिल्यै पनि बास बस्दैनन् । झुट कहिल्यै बोल्दैनन् । सित्तैमा कसैको केही खाँदैनन्, लिँदैनन् । कसैले ठग्न खोजेमा रिसाउँछन् । गफठट्टा उस्तो गर्दैनन् । बाटो लागेपछि फर्केर हेर्दैनन् । खोलाको पानी नखाई मूलको पानी मात्र खान्छन् । घरमा पकाउने भाँडा, रुख काट्ने बन्चरो, काठ ताछ्ने बसिलाबाहेक अरू सम्पत्ति जोरेर राख्दैनन्, रुपियाँ लिँदैनन् । आफ्नो बासमा अरू मानिस आएको मन पराउँदैनन् ।
तथापि गैरसरकारी संस्थाको संसर्ग र सरकारले भत्ता दिन थालेपछि उनीहरू नयाँ मान्छे देखेपछि केही माग्ने प्रवृत्तिले ग्रसित हुन पुगेका छन् । उनीहरूले सिलाएको कपडासमेत लगाउँदैनन् । डोरबहादुर विष्टका अनुसार राउटे लोग्ने मानिसले लगाैँटी र पिठ्युँमा सादा खस्रो कपडाको गादो भिरेर अगाडि गाँठो पारी तिघ्रासम्म खसालेको तथा शिरमा टोपी वा सानो फेटा जस्तो गुथेका हुन्छन् । महिलाले खस्रो कपडामा छिपेको बुट्टा भएको सानो फरिया जस्तो माथि आफैँले तानतुन पारेर सिएको केही मात्र आङ र छाती छोप्ने चोलो अनि कान, घाँटी र नाडीमा फलाम, पित्तल, आल्मुनियमको थरीथरीका गहना लगाएका हुन्छन् ।
मृत्य संस्कार
फिरन्ता राउटेको मृत्यु भएमा आफ्नै तरिकाको रीतिरिवाज चलाउँछन् । उनीहरूको समुदायमा छ महिनामुनिका बालबालिका मरेमा बस्तीनजिक रुखको फेदछेउ बाक्लो कपडाले लपेटेर खुला छाड्छन् । छ महिनामाथिका बालबालिकाको मृत्यु भएमा मृतक बस्ने गरेको टहराको अघिल्तिर आँगनमा गाड्ने गरिन्छ । मरेका व्यक्ति गाडेका माथि कुखुरा काटेर भोग दिइन्छ ।
शवलाई गाडिसकेपछि उनीहरू रक्सी र मासु खान्छन् । मरेका मानिसलाई बिर्सन जाँड÷रक्सी खाने गरिएको धारणा उनीहरूको छ । आफ्नो बस्तीमा मृत्यु परेपछि उनीहरू त्यहाँ बस्दैनन् । मृत्यु संस्कारपछि जाँड रक्सी, मासु खाएर उनीहरू झटपट नयाँ ठाउँमा सर्नका लागि हिँड्छन् । मरेका व्यक्तिको नाम उच्चारण गर्न उनीहरू चाहँदैनन् ।
बाँदरको सिकार, काष्ठकलाको व्यापार
जाल थापेर बाँदरको सिकार गर्न रुचाउने राउटे समुदायका महिला जङ्गली कन्दमूल सङ्कलन गर्दछन् । सरकारले मासिक भत्ता दिन थालेपछि खसी किनेर दसैँ मनाउँदै आएका छन् । बन्चरो र बसिलाको भरमा काठका भाँडा बनाउँछन् ।
डोरबहादुर विष्टका अनुसार जीविका गर्न यिनीहरू जाल थापेर जङ्गलका बाँदर र गुना मार्ने अनि टुनी, खिर्रो र सिमल आदि काठको कोसी (आरी) र मधुस (सन्दुस) बनाएर त्यसको बदला स्थानीय कृषकसँग धान वा गहुँ जे बालीको समय पर्छ, उही अन्न साटेर खाने गर्दछन् ।
शरदचन्द्र शर्माले नेपाल र यसका निवासी (२०४५, दोस्रो सं) मा राउटेहरू आफूले बनाएका भाँडा ती गृहस्थीलाई दिएर तिनका बदलामा अन्न अथवा खसीबोका एवं लत्ताकपडा लिने गर्दछन् । उनीहरू रुपियाँ लिन मान्दैनन् । वस्तु विनिमयका आधारमा प्राप्त हुने खानेकुराले मात्र उनीहरूको गुजारा हुँदैन यसैले उनीहरू जङ्गलमा पाइने कन्दमूल र बाँदर, लङ्गुर र बाघभालु एवं माछा सिकारमा भर पर्दछन् । उनीहरू बाँदरबाहेक अरू तृणाहारी जन्तुलाई मार्दैनन् ।
–युवामञ्च