• २७ फागुन २०८२, बुधबार

यस वर्ष सिरहामा आँपको उत्पादन बढ्ने अनुमान

blog

आँपको बोटमा लागेको मज्जर (फूल) । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, फागुन २७ गते ।
आँपको राजधानीका रूपमा चिनिएको सिरहामा यस वर्ष आँपको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ। जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ। अधिकांश आँपका बोटमा मज्जर (फूल) लागेकाले उत्पादन बढ्ने अनुमान गरिएको हो।

आँपमा प्रशस्त मज्जर लागेको देखेर यस्तो अनुमान गरिएको कृषि ज्ञान केन्द्र सिरहाका प्रमुख नरेन्द्र महासेठले बताउनुभयो। उहाँका अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष फल्ने चक्रमा परेकाले बोटमा अत्यधिक मज्जर लागेको हो। मज्जर जोगाउन एक पटक औषधि छरिसकिएको र टिकुला लागेपछि अर्को पटक औषधि छर्नका लागि सिरहाका १७ वटै पालिकाका कृषि शाखासँग समन्वय गरी कृषकलाई प्राविधिक सहयोग दिइँदै आएको उहाँले बताउनुभयो।

सिरहा जिल्लामा पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ पर्ने मिर्चैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकामा आँप खेती बढी हुने गरेको छ। आँप खेतीबाट राम्रो आम्दानी हुने भएकाले कृषकहरू यस वर्ष उत्साहित देखिएका छन्।

लहान नगरपालिका–१३ का कृषक सियाराम यादवले यस वर्ष आँपबाट राम्रो आम्दानी हुने आशा पलाएको बताउनुभयो। “यस वर्ष आँपबाट राम्रो आम्दानी हुने अपेक्षा छ। लहान नगरपालिका कृषि शाखासँग समन्वय गरेर समय–समयमा औषधि छर्ने र बगैंचाको स्याहार–सम्भार गर्ने काम गरिरहेको छु,” उहाँले भन्नुभयो।

अहिलेसम्म वर्षा नभएकाले आँपमा मधुवा रोग नलागेको लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो। “लहान नगरपालिकाको वडा नम्बर १३, १४, १५, १७, १८, १९ र २३ मा आँपको पकेट क्षेत्र रहेका छन्। ती क्षेत्रका कृषकलाई निरन्तर प्राविधिक सहयोग प्रदान गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

यस वर्ष आँपको व्यवस्थित ब्रान्डिङ गरेर बाहिरी बजारमा पठाउने तथा बजार व्यवस्थापनका लागि सुरुदेखि नै कृषि ज्ञान केन्द्र सिरहाबाट समन्वय भइरहेको प्रमुख साहले बताउनुभयो।

लहान क्षेत्रमा शीत भण्डार र आँपको जुस उद्योग सञ्चालनका लागि यस पटकको निर्वाचनमा कृषकहरूले माग राखेका छन्। सिरहा–१ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य बब्लु गुप्ताले त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि कृषकहरू उत्साहित भएका छन्।