• २७ फागुन २०८२, बुधबार

कर्णालीमा कांग्रेस बन्यो पहिलो

blog

रजनी योगी 

सुर्खेत, फागुन २७ गते । प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएको छ । १० वटै जिल्लाको मतगणना सकिएर नतिजा आउँदा कांग्रेसले प्रदेशभरबाट कुल एक लाख ४१ हजार २३३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोस्रो भएको छ । रास्वपाले कर्णालीबाट समानुपातिकतर्फ एक लाख ३३ हजार ७४९ मत पाएको छ । नेकपा (एमाले) तेस्रोमा झरेको छ । एमालेले एक लाख २० हजार ८६३ मत पाएको छ । २०७९ को निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ एमाले पहिलो भएको थियो । यो चुनावमा उसलाई कांग्रेस र रास्वपाले उछिनेका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक लाख सात हजार १०१ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १५ हजार ७५५ मत पाउँदा अन्य दलको मत १० हजारभन्दा न्यून रहेको छ । 

समानुपातिकतर्फको मतको आधारमा जिल्लागत नतिजा हेर्दा नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी तीन/तीन वटा जिल्लामा पहिलो भएका छन् । नेकपाले प्रत्यक्षतर्फ चार वटा क्षेत्रमा विजय हासिल गरेको छ । रास्वपा दुई वटा जिल्लामा पहिलो भएको छ । प्रत्यक्षतर्फ भने उसले एउटा क्षेत्र मात्रै जितेको छ । एमाले दुई वटा जिल्लामा समानुपातिकतर्फ पहिलो भएको छ । उसले प्रत्यक्षमा पनि प्रदेशभरबाट एउटा क्षेत्र जितेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फको मतपरिणाम अनुसार सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । रास्वपाले समानुपातिकतर्फ ५४ हजार २२६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले कुल ३७ हजार ७४३ मत पाएको छ । नेकपा (एमाले) समानुपातिकतर्फ जिल्लामा तेस्रो भएको छ । उसले २८ हजार ९१४ मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले सात हजार ९६ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २७४ र श्रम संस्कृति पार्टीले तीन हजार २२३ मत प्राप्त गरेका छन् । 

समानुपातिकतर्फ दैलेखमा नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले २३ हजार ७३७ मत पाएको छ । दोस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २० हजार ५९१ मत पाएको छ । नेपाली कांग्रेसले २० हजार २७ मत पाएर तेस्रो भएको छ । नेपाली कम्युनिस्ट पार्टीले छ हजार ३२९ मत मात्रै पाएको छ । नेपाल मजदुर किसान पार्टीले दुई हजार ४२० तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४२२ मत पाएका छन् । सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । समानुपातिकतर्फ २५ हजार ६६५ मत प्राप्त गर्दै रास्वपा पहिलो दल बनेको हो । नेपाली कम्युनिस्ट पार्टीले २० हजार ३३९, नेपाली कांग्रेसले १६ हजार ६९, एमालेले १४ हजार ९२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ४३० मत पाएका छन् । डोल्पामा प्रत्यक्षतर्फ पराजित भए पनि समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो भएको छ । उसले चार हजार ९४४ मत पाएको छ । प्रत्यक्षतर्फ चुनाव जितेको नेपाली कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ चार हजार ७०७ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन हजार १०२ मत पाउँदा नेपाली कांग्रेसले दुई हजार ५९५ मत पाएको छ । 

जुम्लामा प्रत्यक्षतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिते पनि समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टी पहिलो दल बनेको छ । उसले समानुपातिकमा १० हजार २०२ मत पाएको छ । कांग्रेस नौ हजार ३६० मतसहित दोस्रो हुँदा राप्रपाले छ हजार ५५२, एमालेले छ हजार २९ र रास्वपाले पाँच हजार ११८ मत पाएका छन् । कालीकोटमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कम्युनिस्ट पार्टी पहिलो दल भएको छ । समानुपातिकमा नेकपाले ११ हजार १८९ मत पाएको छ । एमालेले नौ हजार ५२०, कांग्रेसले सात हजार ७५४, रास्वपाले पाँच हजार एक सय, राप्रपाले एक हजार १९५ मत पाएका छन् । 

हुम्लामा नेपाली कांग्रेस पहिलो दल भएको छ । कांग्रेसले समानुपातिकमा सात हजार ९१५ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले छ हजार २३१, एमालेले पाँच हजार २८० र रास्वपाले दुई हजार ३५ मत पाएका छन् । जाजरकोटको समानुपातिक मतमा नेपाली कांग्रेस पहिलो भएको छ । प्रत्यक्षतर्फ पनि जितेको कांग्रेसले समानुपातिकतर्फ ११ हजार ८५ मत पाएको छ । नेपाली कम्युनिस्ट पार्टीले १० हजार ३०२ मत पाउँदा एमालेले नौ हजार ३४९ मत पाएको छ । रास्वपाले पनि दुई हजार ९४० मत पाएको छ । 

रुकुमपश्चिममा नेपाली कम्युनिस्ट पार्टी समानुपातिक मतमा पहिलो भएको छ । नेकपाले २० हजार ३६ मत पाएको छ । कांग्रेसले १५ हजार १८१ मत पाउँदा रास्वपाले १० हजार १४९ मत पाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले सात हजार २०७ मत पायो । एमालेले पाँच हजार ८४७ मत पाएको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले जितेको मुगुको समानुपातिक मतमा कांग्रेस नै पहिलो भएको छ । उसले सात हजार २७१ मत पाएको छ । एमालेले छ हजार ४१ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीले चार हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ११० मत पाएको छ ।