शशिधर पराजुली
विराटनगर, चैत २४ गते । कोशी प्रदेश सरकारले पदमार्गमा आधारित पर्यटन विकासलाई प्राथमिकता दिँदै पूर्वाधार निर्माणको कामलाई गति दिन थालेको छ ।
‘पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी)’ मार्फत रणनीतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले जोड दिएको हो । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेशका ८ जिल्लाका २९ स्थानीय तहमा यो परियोजना सञ्चालन भइरहेको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीका अनुसार यस परियोजनाअन्तर्गत अहिले चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम गरी चारवटा प्रमुख पदमार्ग निर्माण भइरहेका छन् । विशेषगरी मुन्धुम ट्रेललाई केन्द्रमा राखेर पदमार्गमा आधारित पर्यटनको अवधारणा अघि सारिएको हो । मुन्धुम पदमार्गअन्तर्गत १७०.७९ किलोमिटर मार्ग निर्माको लक्ष्य राखिएकोमा आर्थिक वर्ष २०८१/८२ मा १५.१३ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।
मन्त्री पराजुलीले चालू आर्थिक वर्ष २०८२/८३ मा १० करोड ३८ लाख रुपियाँको बजेटमा ५२.७८ किलोमिटर पदमार्ग निर्माण भइरहेको जानकारी दिनुभयो । “हामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५ किलोमिटर पदमार्ग निर्माण गर्न थप १४ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेका छौँ,” उहाँले भन्नुभयो ।
पदमार्ग निर्माणसँगै पर्यटन प्रवर्धनका लागि बहुआयामिक योजनाहरू पनि कार्यान्वयनमा छन् । जसअन्तर्गत स्थानीय रैथाने खानाको अध्ययन गरी मेनु प्रकाशन गर्ने, स्थानीय कला–संस्कृतिको अभिलेखीकरण गर्ने र विभिन्न महोत्सवहरू आयोजना गर्ने कार्य भइरहेको मन्त्री पराजुलीले जानकारी दिनुभयो । कोशी प्रदेशको ‘टुरिजम ब्रान्डिङ’ र ‘मार्केटिङ’का लागि इनफ्लाइट म्यागजिन, टेलिभिजन कमर्सियल र विभिन्न स्थानमा होर्डिङ बोर्डहरू स्थापना गरिएको मन्त्रालयले जानकारी दिएको छ । पर्यटन प्रवर्धनकै सिलसिलामा यहि चैत २२ गते विभिन्न जिल्लाका खेलाडीहरूको सहभागितामा तेह्रथुममा म्याराथन दौड समेत सम्पन्न भएको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।
स्थानीय लाभ र पर्यटकीय आकर्षण
पछिल्लो समय नेपालमा पदयात्रा (ट्रेकिङ) तर्फ आन्तरिक पर्यटकहरूको आकर्षण निकै बढेको छ । पदमार्गमा आधारित पर्यटनले पूर्वाधार विकासमा योगदान पुर्याउनुका साथै ग्रामीण अर्थतन्त्रमा समेत योगदान गर्ने भएकाले सरकारले त्यसतर्फ विशेष जोड दिएको हो । पदमार्ग आसपासका स्थानीयले घरबास (होमस्टे) सञ्चालन गरी आयआर्जन गर्न सक्छन् भने आफ्ना रैथाने कृषि उपज र हस्तकलाका सामग्रीलाई पर्यटकीय वस्तुका रूपमा बिक्री गरी आम्दानी बढाउन सक्ने सरकारको विश्वास छ ।
मुन्धुम जस्ता ऐतिहासिक र सांस्कृतिक महत्वका ट्रेलहरूले कोशी प्रदेशको पहिचानलाई विश्वमाझ चिनाउने, स्थानीयलाई गाइड, भरिया र साना उद्यमीका रूपमा प्रत्यक्ष रोजगारी समेत सिर्जना गर्ने भएकोले सरकारले यसमा लगानी बढाइरहेको पराजुलीले बताउनुभयो ।