शंकर केसी
सल्यान, चैत २४ गते । सल्यानमा ५२ जनाले हराउँदै गएको दृष्टि पुनः प्राप्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै कालीमाटी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट उनीहरूले फेरि उज्यालो देख्ने अवसर पाएका हुन्।
शिविरमा ३७२ जनाको आँखा परीक्षण गरिएकोमा ५२ जनामा मोतिबिन्दु पहिचान भई निःशुल्क शल्यक्रिया गरिएको कालीमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाले जानकारी दिनुभयो।
शल्यक्रिया गराइएका बिरामीमध्ये २३ जना पुरुष र २९ जना महिला रहेका छन्। शिविरमा २४५ पुरुष र १२७ महिलाको आँखा जाँच गरिएको थियो।
कालीमाटी गाउँपालिकाको समन्वयमा नेपाल नेत्रज्योति सङ्घको आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य चौकी कालीमाटी, रामपुरमा शिविर सञ्चालन गरिएको हो।
स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी खुसी भएका छन्। आर्थिक अभाव र दूरीका कारण अस्पताल पुग्न नसक्ने धेरै बिरामीलाई यस शिविरले राहत दिएको छ।
शिविर उद्घाटनका अवसरमा गाउँपालिका अध्यक्ष दानबहादुर केसीले स्थानीय तह एक्लैले सबै सेवा पुर्याउन नसक्ने भएकाले नेपाल नेत्रज्योति सङ्घसँगको साझेदारीमार्फत पालिकामै विशेषज्ञ सेवा प्रदान गरिएको बताउनुभयो।
यस्ता सहकार्यले नागरिकलाई सहज र प्रभावकारी सेवा दिन मद्दत पुग्ने भन्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रम अझ विस्तार गर्दै लैजाने बताउनुभयो। शिविरमा औषधि वितरण, परामर्श तथा अन्य सेवा पनि प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।