• २७ फागुन २०८२, बुधबार

गण्डकीमा मतपरिणाम

रास्वपा पन्ध्र ठाउँमा अरू पार्टी शून्य

blog

सन्तोष सुवेदी

कास्की, फागुन २७ गते । पुराना र स्थापित दललाई पन्छाउँदै यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा अप्रत्याशित जित हासिल गरेको छ । गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशमा ठुलो पार्टी भएको छ । प्रदेशका कुल १८ सिटमध्ये रास्वपाले १५ सिट जित्न सफल भएको छ । दुई सिट नेपाली कांग्रेसले जितेको छ भने एउटा सिट स्वतन्त्र उम्मेदवारले जितेका छन् । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक सिट पनि ल्याउन सकेनन् । मनाङ र मुस्ताङमा कांग्रेसले चुनाव जितेको हो । मनाङमा कांग्रेसका तर्फबाट टेकबहादुर गुरुङ र मुस्ताङमा योगेश गौचनले जित हासिल गर्नुभएको छ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित्नुभएको छ । यसबाहेक गण्डकीका आठ जिल्लामा रास्वपाले एकलौटी जित हासिल गरेको छ । 

कास्कीका तीन वटै क्षेत्रमा चुनाव जितेको रास्वपाले गोरखा, तनहुँ, नवलपुर, बागलुङ, पर्वत, लमजुङ र स्याङ्जाका दुई वटै क्षेत्रमा जित निकालेको छ । कास्की क्षेत्र नं. ३ मा बिना गुरुङ निर्वाचित हुनुभयो । गुरुङ गण्डकी प्रदेशमै प्रत्यक्षतर्फ निर्वाचित एक मात्र महिला हुनुहुन्छ ।